१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २६ मंगलबार १३:५२:oo
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘डाकिनी’ जेठ ५ देखि नेपाली हलमा, मास्टरक्लास दिन रिम्पोछे काठमाडौं आउने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १३:५२:oo

संसारका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा सहभागिता जनाएपछि फिल्म ‘डाकिनी’ नेपाली हलमा आउने भएको छ। टलकजंग भर्सेस टुल्के, जात्रा, महापुरुषजस्ता फिल्मको निर्माता कम्पनी षट्कोण आर्टसले यो फिल्मलाई जेठ ५ गते हलमा रिलिज गर्न लागेको हो।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो। बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ।

षट्कोण आर्टसका नेपाली निर्माताहरू रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन्। रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्रान्ड प्रिमियर आयोजना हुँदै छ, जसको आकर्षण बन्नेछन् फिल्मका निर्देशकसमेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) । उनी बौद्धधर्मका ठूला गुरुसमेत हुन्। गुरु रिम्पोछेको यो पाँचौँ फिल्म हो।

रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदै छन्। उनको काठमाडौं आगमनकै छेको पारेर षट्कोण आर्टसले फिल्मलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दीपेश खत्रीले बताए। जेठ ६ गते शनिबार मूभि लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दै छ। स्वयं रिम्पोछेले सिडिसी मलमा ‘ब्युटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दै छन्। आइतबार बौद्धस्थित लिच्छवि हाउसमा ‘बुद्ध र भिखारी’ नाटकसमेत मञ्चन हुनेछ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ। फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो। कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन्।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ। एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा सात दिन बाँच्छौ । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी। उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ।

निर्देशक रिम्पोछेको यो पाँचौँ फिल्म हो। बौद्धधर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्स एन्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो। सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो। २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ। उनले बौद्धको एक गुम्बामा पढेका हुन्। रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो। सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए।

निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाई प्रोफाइल छन्– मार्क ली पिङ बिङ । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका केही चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित द असासियन, रेनोयर, नर्वेजियन उड, फ्लाइट अफ रेड बलुनलगायत छन्।

बुद्धधर्मको कारण नजिकिएका निर्माताहरू बानियाँ र खत्रीले गुरुसँगको संगत गर्दा यो फिल्म बनाउने सोचेका थिए। पुनहिल ट्रेकिङ गएको वेला रिम्पोछेले यी दुई निर्मातालाई फिल्मबारे पहिलोपटक सुनाएका थिए। ‘गुरु र मार्कजस्ता फिल्ममेकरसँग आफ्नै निर्माणमा यस्तो फिल्म बनाउन पाउनु मौका हो,’ म्याक्स बताउँछन्।