Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिबिसी
२०८० बैशाख २६ मंगलबार ०९:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चुनावलाई कसरी प्रभावित पार्न सक्छ एआईले ?

आगामी दिनमा एआईमार्फत चुनावी प्रचार कम खर्चिलो हुँदै जानेछ र धेरैभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा उत्रिनेछन्

Read Time : > 3 मिनेट
बिबिसी
२०८० बैशाख २६ मंगलबार ०९:०१:००

एक महिनाअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी ग्रान्ड जुरीले अभियोग लगायो । यही अवधिमा एउटा भिडियो भाइरल भयो, जसमा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ह्वाइट हाउसमा उत्सव मनाउँदै गरेका देखिए । खासमा सो दिन राष्ट्रपति र उपराष्ट्रपति दुवै ह्वाइट हाउसमा उपस्थित थिएनन् । तर, उनीहरूको नक्कली तस्बिर करोडौँ मानिसमाझ पुग्यो । यो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईबाट बनाइएको थियो, जुन आगामी राष्ट्रपति चुनावमा लाखौँ मतदातासम्म पुग्नेछ । 

गत वर्ष नोभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले इन्टरनेटमार्फत समग्र जानकारी बटुलेर लेख र ब्लगका साथै गीत र कविता पनि लेख्न सक्छ । यस्तो स्थितिमा मतदातालाई आफूसम्म आइपुगेको प्रचार सामग्री असली हो या नक्कली हो भनेर थाहा पाउन मुस्किल पर्नेछ । 

डिजिटल राजनीति :  हायर ग्राउन्ड्स ल्याबका सहसंस्थापक बेट्सी हुभरका अनुसार सन् २००७ मा राष्ट्रपतिका प्रत्यासी बाराक ओबामा थिए । उनले चुनाव प्रचारमा जनतासँग सम्पर्क बनाउन र जनसंगठनका लागि डिजिटल टेक्नोलोजीको प्रयोग गरे । त्यतिवेला जनशक्ति र पुँजीको अभाव थियो । त्यसबाट बच्न डिजिटल टेक्नोलोजीको प्रयोग भयो । यो पहिले राज्यस्तर र पछि राष्ट्रियस्तरमा प्रयोग गर्ने रणनीति बन्यो । उनी भन्छन्, ‘यसको कारण पैसाको बचतका साथै मानिससम्म प्रभावकारी ढंगले पुग्नु पनि थियो ।’

मान्छे घर, अफिस जहाँ भए पनि मोबाइलमा प्रायः उपलब्ध भइरहन्छ । यसकारण डिजिटल माध्यम मानिससँग सम्पर्क गर्ने गतिलो माध्यम थियो । यति हुँदा पनि कतै न कतै सीधा सम्पर्क गर्ने क्रममा कमी हुन्थ्यो नै । ‘त्यतिवेला पनि यो विषयमा बहस भएको हो । हामी मान्छेसम्म मेसेज, इमेल र फेसबुकमार्फत चुनावी प्रचार गरिरहेका थियौँ ।

यद्यपि, यो तरिका सीधा सम्पर्कभन्दा ज्यादा प्रभावकारी हो या होइन भन्नेमा अलमल थियो,’ हुभर भन्छन्, ‘तर, के सत्य हो भने यही माध्यमबाट हामी एउटै समयमा कैयौँ मान्छेसँग जोडिएका थियौँ ।’ सन् २०१२ मा ओबामा दोस्रोपटक राष्ट्रपति चुनिए । तर, पछिल्लो एक दशकमा चुनावी अभियानमा टेक्नोलोजीको भूमिका निकै परिवर्तन भएको छ । एआईमार्फत अब मतदाताको प्रोफाइल र प्राथमिकताबारे थाहा पाउन सकिन्छ । सोहीअनुसार उम्मेदवारले आफ्नो सन्देश र प्रचार सामग्रीलाई परिवर्तन गर्न सक्छन् । भनिन्छ, जेनेरेटिभ एआईको प्रभावले आगामी वर्ष हुने राष्ट्रपति चुनावमा ठूलो असर पुर्‍याउँछ ।

पछिल्लो एक दशकमा चुनावी अभियानमा टेक्नोलोजीको भूमिका निकै परिवर्तन भएको छ । एआईको प्रभावले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा ठूलो असर पुर्‍याउने आकलन छ ।

यो टेक्नोलोजीले मतदाताको प्रोफाइल र सोचको आधारमा चुनाव प्रचारका लागि ठूलो संख्यामा सामग्री बनाएर आममानिससम्म पुर्‍याउन सक्छ । यसैका माध्यमबाट उम्मेदवारले मतदातासम्म आफ्नो सन्देश पुर्‍याउन सक्छन् । उम्मेदवारले चुनावी अभियानका लागि ठूलो संख्यामा कन्टेन्ट राइटर र योजनाकारलाई राख्छन्, जसले चुनाव प्रचारका लागि लेखिएका इमेल या पोस्टको भेरिएसन बनाई त्यसलाई अलग–अलग मतदातालाई पठाउँछन् । तर, यति धेरै भेरिएसन बनाउन समय र पैसा लाग्छ । एआईबाट यो काम द्रुत र सस्तोमा हुन सक्छ । टेक्नोलोजीको सहयोगमा सजिलै र सस्तोमा कन्टेन्ट बनाउन त सकिन्छ, तर यसमा जोखिम पनि छ । गलत नियत भएका मान्छेले कुनै उम्मेदवारलाई हानि पुर्‍याउन या उसको छवि धुलिसात् पार्न यसको प्रयोग गर्न सक्छन् । 

आर्टिफिसियल इन्टेलिजेन्स : एआईको सम्भावित दुरुपयोगबारे क्यालिफोर्निया युनिभर्सिटीमा सञ्चार विज्ञान प्रोफेसर हनी फरिद एआईको दुरुपयोग हुने बताउँछन् । एआई सफ्टवेयरको विकास यतिसम्म विकसित भएको छ कि त्यसले कुनै पनि आवाज निकालेर जोकसैको नक्कल गर्न सक्छ ।

पछिल्लो दुई दशकमा कम्प्युटर र सफ्टवेयर बनाउने क्षमता वृद्धि भएको छ । यसका कारण एआई पनि निकै विकसित भएको छ । साथै, मान्छेले यति धेरै जानकारी इन्टरनेटमा राखेका छन्, जसका आधारमा उनीहरूलाई निशाना बनाउन सजिलै सकिन्छ । जब हामी कुनै वेबसाइटमा जान्छौँ, त्यहाँ धेरैभन्दा धेरै जानकारी पाइन्छ । यो फाइदाजनक व्यापार हो । अब मेसिनले हाम्रो अनुहार र आवाज चिन्न सक्छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिर, भिडियोजस्ता जानकारीका आधारमा परिवारका सदस्यहरूको जानकारी उनीहरूसँग हुन्छ । सामाजिक सञ्जाल र अन्य वेबसाइटमा डेटा संग्रह गर्नेसँग मान्छेको सारा विवरण छ । त्यसकै आधारमा हामीलाई निसाना बनाउन सक्ने विश्लेषकहरू बताउँछन् । यसरी सामाजिक सञ्जाल र अन्य वेबसाइटले उपलब्ध जानकारी र एआईको सहयोगले आममान्छेको प्रोफाइल बनाएर उनीहरूसम्म विज्ञापन पु¥याउँछन् । तर, अब जेनेरेटिभ एआईमार्फत कसैको म्यासेज, फोटो, भिडियो या अडियोको प्रयोग गरी नक्कली कन्टेन्ट बनाउन पनि सहज भएको छ । 

‘हुँदाहुँदा अब भ्वाइस क्लोनिङ पनि हुन थालेको छ । मानौँ, भिडियोमा इसाई धर्मगुरु नक्कली बयान दिँदै गरेका देखिनु र भिडियो विश्वमा सेयर गरिनु,’ हनी भन्छन्, ‘जेनेरेटिभ एआईले यस्ता खालका कन्टेन्ट बनाउन सक्छ । केहीले यस्तो सफ्टवेयर प्रयोग गरेका छन्, जसमाथि कसैको नियन्त्रण छैन । यो निकै चिन्ताजनक विषय हो ।’

सामान्य रूपमा उपलब्ध हुने सफ्टवेयरको दुरुपयोग हुन सक्ने देखिन्छ । एआईको एउटा सफ्टवेयर हो, च्याटजिपिटी । जसबारे एआई टेक्नोलोजीको प्रयोगमा नाटकीय परिवर्तन आउन थालेको बताइएको छ । च्याटजिपिटी टेक्स्ट सामग्री बनाउन सक्छ । तर, भिडियो र अडियो कन्टेन्ट बनाउने सफ्टवेयर पनि उत्तिकै छन् । हनी भन्छन्, ‘आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनाव प्रचारमा यसमार्फत उत्पादन गरिएका नक्कली सामग्री प्रयोग हुने आशंका छ ।’

चुनावी अभियानको खर्च : चुनाव लड्न जति चुनावी प्रचार आवश्यक छ, त्यति नै आवश्यकता पैसाको हुन्छ । स्टर्लिङ डेटा कम्पनीका सिइओ मार्टिन कुरुजका अनुसार कैयौँ देशमा उम्मेदवारको खर्च सार्वजनिक स्रोतबाट आउँछ । तर, अमेरिकामा भने उनीहरू आफ्ना समर्थक या कम्पनीबाट चुनावी खर्च जुटाउँछन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार आफ्नो अभियानका लागि पार्टी समर्थकबाट चन्दा उठाउँछन् ।

पार्टीमा १७ करोड चन्दा दिन सक्ने दाता छन् । मार्टिन भन्छन्, ‘यसको जानकारी पत्ता लगाउन उम्मेदवारले हाम्रो सहयोग लिन्छन् । उनीहरू चाहन्छन् कि कमभन्दा कम समयमा सम्भावित चन्दा दिनेहरूको लिस्ट बनाउन सकियोस् । यसका लागि एआई प्रयोग गर्छन् । सफ्टवेयरले सम्पूर्ण समर्थकको प्रोफाइल र उनीहरूसँग जोडिएको जानकारी लिएर एउटा लिस्ट बनाइदिन्छ ।’

पहिले समर्थकको लिस्ट बनाउन कम्प्युटर इन्जिनियरले कैयौँ दिनसम्म काम गर्नुपथ्र्यो । अहिले त्यो प्रक्रिया निकै सहज बनेको छ । यसले एकातिर उम्मेदावरका लागि चुनावी खर्च कम हुन्छ भने अर्कातिर जसको लिस्ट भेटिन्छ, त्यो उनीहरूका लागि फाइदाजनक साबित हुन्छ । आगामी दिनमा यो कम खर्चिलो हुँदै जानेछ र धेरैभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा उत्रिनेछन् ।