मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २६ मंगलबार ०६:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा दुई सय २० केभीको रिङ प्रसारण लाइन बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २६ मंगलबार ०६:४४:००

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा दुई सय २० केभी क्षमताको रिङ प्रसारण लाइन बनाउने भएको छ । उपत्यकामा विद्युत् आपूर्तिलाई सहज गर्ने उद्देश्यसहित बनाउन लागेको रिङ प्रसारण लाइनको प्राधिकरणले सर्वेक्षण गरिरहेको छ । त्रिशूली–३ बी हब, मातातीर्थ, डुकुछाप, सिरुटार, नाला गुम्बा, लप्सेफेदी, कपन गुम्बा र तीनपिप्ले जोडेर रिङ प्रसारण लाइन बनाइने अध्ययन भइरहेको छ ।

यस्तै, प्राधिकरणले काठमाडौं उपत्यकामा उच्च क्षमताका आठवटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा चार सय, दुई सय र एक सय ३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् । हाल उपत्यकामा विद्युत्को माग तीन सय ५० मेगावाट हाराहारी छ । तर, सन् २०५० सम्ममा उपत्यकाको विद्युत्को उच्च माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ । त्यसलाई आवश्यक पर्ने पूर्वाधार बनाउने क्रममा प्राधिकरणले रिङ प्रसारण लाइन, सबस्टेसन निर्माणको काम अघि बढाएको हो । काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

प्राधिकरणका अनुसार उपत्यकामा थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ  । हाल काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गरिने बताए । ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले विद्युत् आपूर्ति व्यवस्थापन सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सबस्टेसनको निर्माण सक्नुपर्छ,’ घिसिङले भने, ‘टेकु र फुटुङ सबस्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’ 

सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर एक सय ३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् । सुक्खा बन्दरगाहनजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म एक सय ३२ केभी प्रसारण लाइन बनिसकेको छ ।