१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यालय नगएरै नरैनापुरका शिक्षकले खाए तलब 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:o९:oo

नरैनापुर गाउँपालिकामा सञ्चालित विद्यालय र मदरसाका शिक्षकले अध्यापन नगराएको दिनको तलब सुविधा लिएको फेला परेको छ। 

विद्यालयमा छड्के चेकजाँच गर्दा शिक्षकहरू विद्यालयमा उपस्थिति नभई तलब लिएको पाइएको वडा नं. ५ का अध्यक्ष एवं शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक  कृष्णचन्द्र मौर्यले जानकारी दिए। 

‘टोलीले विद्यालयमा छड्के अनुगमन गर्दा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौँ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकले हप्ताैँ दिनसम्म हाजिरी नगरेको पाइएको छ,’ उनले भने ।

नरैनापुर गाउँपालिका– ४ जयरामपूर्वास्थित श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाखभर मदरसा नआएको हाजिरी रजिस्टरबाट पुष्टि भएको अध्यक्ष मौर्यले बताए। चैतमा पनि शिक्षिका जयमती दुई दिन र खाजा व्यवस्थापक रामजी एक दिन मात्रै मदरसा आएको पुष्टि भएको छ।

‘चैत र वैशाखमा मदरसामा नआएको रेकर्डले देखाउँछ, तर तलबलगायत अन्य सुविधा लिएको देखिन्छ,’ उनले भने । दुवैजना गाउँपालिकाले राहतमा खटाएका कर्मचारी हुन्। 

जयमती र रामजीलाई मदरसामा आउन बारम्बार ताकेता गरे पनि उपस्थित नभएको मदरसाका प्रधानाध्यापक इब्राइम खानले बताए । ‘उहाँहरूलाई मदरसामा आउन धेरैपटक फोन गरेर तोकेता गर्‍याैँ, तर आउनुभएन। बाध्य भएर गाउँपालिकालाई जानकारी गराएका छौँ । तैपनि उहाँहरू मदरसामा आउनुभएन,’ खानले भने, ‘तैपनि उहाँहरूले तलब लिइरहनुभएको छ।’

वडा नं. ५ जमुनाहस्थित गौसुलवरा जामिया अहिले सुन्नतका प्रधानाध्यापक पनि आइतबार अनुपस्थित थिए । अनुगमन टोली मदरसामा पुग्दा प्रधानाध्यापक नै नभेटिएको वडाध्यक्ष मौर्यले बताए । शिक्षकहरूसँग हाजिरी रजिस्टर माग्दा आफूहरूलाई थाहा नभएको भन्दै शिक्षकहरूले नदिएको उनले बताए।

‘हामीले दबाब दिएपछि शिक्षकहरूले हाजिरी रजिस्टर देखाउनुभयो,’ उनले भने, ‘तर, हाजिरी रजिस्टरमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेको पाइएन।’

कतिपय विद्यालयमा नयाँ शैक्षिक सत्रको हाजिरी रजिस्टर नै नबनाएको फेला परेको छ । ‘एकजना शिक्षकलाई किन हाजिरी नगर्नुभएको भनेर सोध्दा नयाँ शैक्षिक सत्रको हाजिरी रजिस्टर नै नबनाएको जवाफ दिए,’ उनले भने। 

नरैनापुर– ४ जमुनाहस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पनि अनुपस्थित थिए । कुनै कक्षाकोठामा शिक्षक उपस्थित नभएको फेला परेको अध्यक्ष मौर्यले बताए। 

उनले भने, ‘तीनजना शिक्षक–शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी लगाएको पनि पाइयो । केही कक्षाका विद्यार्थीले हाजिरी नगरेको फेला पर्‍याे। अधिकांश शिक्षकले हप्तौँदेखि हाजिरी नै नगरेको पनि देखियो।’ 

सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटि देखिएको संयोजक मौर्यले बताए। ‘छड्के अनुगमन गरेको यो पहिलो हो। त्रुटि देखिएका सबै विद्यालय र मदरसालाई सुधार गर्न मौखिक चेतावनी दिएका छौँ,’ मौर्यले भने, ‘अर्कोपटक पनि यस्तै समस्या देखिए कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ।’
 

ad
ad