मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भरतप्रसाद गुप्ताकै अर्का भाइ मोहन गुप्ताका दुई छोरा रामसुन्दर र रामप्रवेशले पनि नेपाली नागरिकता लिएका छन् ।
टेकराज थामी काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०६:२५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय नागरिकसँग नेपाली नागरिकता, त्यही प्रयोग गरेर व्यवसाय सञ्चालन र घरजग्गा खरिद

तीन परिवारका १४ जनाले बनाए नेपालको नक्कली नागरिकता, १० पक्राउ

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०६:२५:००

भारतको बिहार बलिया इब्राहिमपट्टी गाउँपञ्चायत भिमपुराथाना बेल्थरा रोडका स्थायी नागरिक हुन्, ५५ वर्षीय भरतप्रसाद गुप्ता ‘बल्लु’ । तर, उनले २३ चैत ०६३ मा सिराहाको मिर्चैया नगरपालिका– २, रामनगरबाट नेपाली नागरिकता लिए । जन्मको आधारमा लिइएको सोही नागरिकता प्रयोग गरी उनले शंखमूलमा मिठाई दोकान मात्रै खोलेनन्, जग्गा खरिद गरेर शंखमूल चोकमै आलिसान बंगला बनाए । 

उनले सोही नागरिकता प्रयोग गरी श्रीमती ५० वर्षीया ज्ञानमती देवी गुप्ता तथा छोराहरू ३० वर्षीय राहुल र रोहितलाई पनि नागरिकता बनाइदिए । राहुल र रोहित दुवैसँग अहिले वंशजको नागरिकता छ । राहुलले नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिइसकेका छन् । 

प्रहरीका अनुसार भरतप्रसादको नाममा शंखमूलमा आलिसान बंगला मात्रै होइन, काठमाडौं सौखेल– ६ मा ६६७.६९ र १५८ वर्गमिटरका जग्गा पनि छन् । त्यस्तै, उनकी श्रीमती ज्ञानमतीको नाममा काठमाडौं– १० मा १३०.१९ वर्गमिटर क्षेत्रफलको जग्गा छ ।

भरतप्रसाद भारतीय हुन् भन्ने उनको भाइको परिचयले पनि स्पष्ट पार्छ । भरतप्रसादका भाइ मुरारी गुप्ता भारत उत्तरप्रदेशको बलियामै बस्छन् । उनको भारतीय आधारकार्ड नम्बर हो– युपी/४२/३३/०६४८४३४ । तर, भरतप्रसादकै अर्का भाइ मोहन गुप्ताका दुई छोरा रामसुन्दर र रामप्रवेशले पनि नेपाली नागरिकता लिएका छन् । ४४ वर्षीय रामसुन्दरले १२ चैत ०६३ मा पर्साको वीरगन्ज उपमहानगरपालिका– २ बाट तथा ४३ वर्षीय रामप्रवेशले २३ चैत ०६३ मा रुपन्देही फरेना–२ बाट नेपाली नागरिकता लिएका छन् । रामसुन्दरले अहिले ललितपुरको लगनखेलमा मिठाई दोकान चलाउँदै आएका छन् । रामप्रवेशले पनि गोंगबुमा मिठाई दोकान नै चलाउँदै छन् । 

भारत बलियाकै ३९ वर्षीय गोपाल गुप्ता पनि भरतप्रसादकै नातेदार हुन् । भरतप्रसादसँगै शंखमूल बस्दै आएका उनले रुपन्देही असुरयान– ३ बाट नेपाली नागरिकता लिएको भेटिएको छ । घटना अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भरतप्रसाद र उनकी श्रीमतीले सबै सम्पत्ति नक्कली नागरिकता प्रयोग गरी खरिद गरेको बताए । उनले भने, ‘यिनीहरू (भरतप्रसाद र ज्ञानमती)ले नक्कली जाली कागजात पेस गरी नक्कली नागरिकता बनाए । सोही नागरिकताबाट छोराछोरीको पनि नागरिकता बनाइदिए । त्यति मात्रै होइन, काठमाडौंमा महँगो मूल्य तिरेर जग्गा खरिद गरे । आलिसान महल बनाए ।’
०००
बिहारको बलिया इब्राहिमपट्टी गाउँपञ्चायत भिमपुराथाना बेल्थरा रोडकै हुन्, ४६ वर्षीय भरत गुप्ता । उनले पनि ७ फागुन ०६३ मै जाली कागजात पेस गरी बारा पिपरा– ६ बाट नेपाली नागरिकता लिए । श्रीमती स्नेहलतालाई पनि उनले बारा निजगढ– ८ बाट ९ फागुन ०६९ मा वंशजको नेपाली नागरिकता दिलाए । कलंकीमा भव्य मिठाई दोकान चलाउँदै आएका उनीहरूका छोरा आदित्य र छोरी आँचलले भने नेपाली नागरिकता लिएनन् । उनीहरूले बिहार बलियाबाटै भारतीय आधारकार्ड लिएका छन् । 

प्रहरीका अनुसार भरतको काठमाडौं सौखेल– ६ मा ६६७.६९ र १५८ वर्ग मिटर क्षेत्रफलका जग्गा छन् । उनको उक्त जग्गा गोपाल गुप्ता, भारतप्रसाद र सुजितकुमार गुप्ताको संयुक्त नाममा छ । उनकी श्रीमती स्नेहलताको नाममा पनि काठमाडौं– २४ मा ९७.३६ वर्गमिटर क्षेत्रफलको जग्गा छ । 

५२ वर्षीय राजेशकुमार गुप्ता भरतका दाइ हुन् । उनले पनि बारा जितपुर–३ बाट नक्कली कागजात पेस गरी ०६३ फागुनमै नेपाली नागरिकता लिएका छन् । सोही नागरिकताका आधारमा उनकी श्रीमती मीनादेवीले ११ असार ०६९ मा वंशजको नेपाली नागरिकता लिइन् । उनीहरूको पनि कलंकीमा मिठाई दोकान छ ।

उनकी छोरी आरतीसँग अहिले वंशजको नागरिकता छ । उनी अहिले कलंकीमै कलंकी–आरती मिठाई दोकान चलाउँछिन् । राजेशकुमारका अर्की छोरी अञ्जली र छोरा रोहितसँग पनि वंशजको नागरिकता रहेको प्रहरीको भनाइ छ । तीन भारतीय परिवारका १४ जनाले नेपाली नागरिकता लिएको अनुसन्धानमा खुलेकोमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

अनि पक्राउ परे नक्कली नागरिकतावाहक भारतीय नागरिक 
काठमाडौंको मिठाई बजारमा पकड जमाएका भरतप्रसाद समूहसँग नक्कली नागरिकता रहेको सूचना पाएपछि प्रहरी गोप्य रूपमा निगरानीमा उत्रियो । यही क्रममा प्रहरीले उनीहरूको नाममा जारी नागरिक खिच्यो । अनुसन्धानका लागि नागरिकता जारी भएको जिल्ला पुग्यो । जिल्लामा पेस भएका कागजात नियन्त्रणमा लियो । प्रहरीले भारतको उत्तर प्रदेशस्थित बिहारको बलियामा सूचना संकलनका लागि दस्ता परिचालन ग¥यो । भारतीय प्रहरीको सहयोगमा भरतप्रसाद र उनको समूहसँग आबद्ध व्यक्तिका नातेदार पत्ता लगायो । आवश्यक कागजात नियन्त्रणमा लियो । थप अनुसन्धानमा सघाउन प्रहरीले नेपालस्थित भारतीय दूतावासलाई पनि भन्यो ।

 नेपाल र भारत दुवैतर्फका कागजात एकै ठाउँमा भिडाएर अनुसन्धान गर्दा भरतप्रसाद र उनको समूह भारतीय नागरिक रहेको र नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको पुष्टि भयो । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसीले साढे तीन महिनाको गहन अनुसन्धानपछि तथ्य खुलेको जानकारी दिए ।

नक्कली नागरिकताका आधारमा खरिद गरिएको सम्पत्ति राष्ट्रियकरण हुने 
नक्कली कागजातका आधारमा बनाइएका नागरिकता प्रयोग गरी भरतप्रसादले शंखमूलमा आलिसान बंगला बनाएका छन् । काठमाडौंका विभिन्न ठाउँमा आफू र श्रीमती ज्ञानमतीदेवीको नाममा जग्गा जोडेका छन् । त्यस्तै, उनीसँगै पक्राउ परेको भरत र उनीकी श्रीमती स्नेहलताले पनि काठमाडौंमा जग्गा खरिद गरेका छन् । प्रहरीले उनीहरूका सबै सम्पत्ति रोक्का गरिसकेको छ । अब उनीहरूको सम्पत्ति कानुनबमोजिम राष्ट्रियकरण हुने एसएसपी डा. केसीले बताए । ‘नक्कली नागरिकताका आधारमा घर किनिएका छन् । जग्गा जोडिएका छन् । उनीहरूका नाममा रहेका सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित कार्यालयमा पत्र गइसकेको छ । उनीहरूको सम्पत्ति अब कानुनबमोजिम राष्ट्रियकरण हुनेछ,’ उनले भने । 

नेपाल र भारत दुवैतर्फ मतदान 
प्रहरीका अनुसार पक्राउ परेकामध्ये भरतप्रसाद, राहुल र ज्ञानमतीको नाम निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीमै छ । उनीहरू सबैको गत भदौ मसान्तसम्म मतदाता नामावली अद्यवधिक भएको छ । सोहीअनुसार उनीहरूसँग मतदाता परिचयपत्र पनि छ । यस आधारमा उनीहरूले ३० वैशाख ०७९ को स्थानीय तथा ४ मंसिर ०७९ मा भएको प्रतिनिधि र प्रदेश दुवै सभाको निर्वाचनमा मतदान गरेका छन् ।

उनीहरूसँग भारतीय आधारकार्ड र भारतीय निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र पनि छ । सबै मतदाता परिचयपत्र सन् ०२१ सम्म अद्यावधिक भएका छन् । उनीहरूले सन् ०१९ मा जारी भारतीय ‘जेनेरल इलेक्सन’मा पनि भाग लिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भने, ‘पक्राउ परेकामध्ये तीन अभियुक्तसँग नेपाल र भारत दुवैतर्फको मतदाता परिचयपत्र छ । उनीहरूको मतदाता नामावली अद्यावधिक भएको देखिन्छ । त्यसो हुँदा उनीहरूले नेपाल र भारत दुवैतर्फ भएको निर्वाचनमा मतदान गरेको देखिन्छ ।’

अनि बन्यो नागरिकता 
मधेस आन्दोलनपछि साबिकको नागरिकता ऐन संशोधन गर्ने सहमति भयो । सोहीअनुसार मुलुकमा नेपाल नागरिकता ऐन, २०६३ जारी भयो । त्यसपछि नागरिकता बनाउने टोली गाउँगाउँ खटिए । मधेसका जिल्लामा पनि नागरिकता बनाउने टोली खटिए । यो सूचना काठमाडौंमा सानोतिनो मिठाई दोकान चलाउँदै आएका भरतप्रसाद र उनीसँग आबद्ध समूहका सदस्यले पनि थाहा पाए । यही क्रममा उनीहरू तराईका जिल्ला पुगे । नागरिकता बनाउने गाउँका सीधासाधा स्थानीयसँग मिसिए ।

नक्कली कागजात बनाए । स्थानीयसँगै नागरिकता बनाउने टोलीलाई कागजात बुझाए । टोलीका सदस्यले कागजात चेकजाँच गरेनन् । आँखा चिम्लिएर प्रमाणित गरिदिए । उनीहरूलाई नागरिकता दिलाइदिए । 
उत्साहित बनेका उनीहरूले भारतस्थित गाउँमा अन्य सदस्यलाई पनि भने । सँगै श्रीमती पनि लिएर आए । आफूले नागरिकता पाएको जिल्ला पुगेर जाली कागजात बुझाए । सजिलै नेपाली नागरिकता लिए । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसीले नागरिकता दिने धन्दामा संलग्न त्यसवेला सरकारी कर्मचारी पनि अनुसन्धानमा तानिने बताए । ‘यिनीहरूले ०६३ मा नागरिकता बनाउने टोली गाउँगाउँ खटिँदा हुलमुलमा नागरिकता बनाएको देखिन्छ । त्यसपछि भने सम्बन्धित जिल्लाबाटै अन्य नागरिकले नेपाली नागरिकता लिएको देखिन्छ । उनीहरूलाई सजिलै नागरिकता दिने धन्दामा संलग्न सरकारी कर्मचारीविरुद्ध पनि हामी अनुसन्धान गर्दै छौँ ।’