Skip This
प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २४ आइतबार १३:३२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १३:३२:oo

यतिवेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौँकाे संख्यामा  प्रतीक्षारत छन्। तर, मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर, झन्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।

आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै सगरमाथा आरोहण सुरु हुन्छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रूपमा सुधार आएको छ। दुई दिनदेखि राजधानी काठमाडौंसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ। देशभरको मौसममा सुधार आए पनि आरोहणको सँघारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन।

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार पाँच सय मिटरमाथितिर तीव्र वेगको हावा चलिरहेको छ । उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो। 

‘सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार पाँच सय मिटरभन्दामाथि तीव्र वेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र  २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ,’ उनले भने। 

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघन्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो। आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौं फर्किएका छन्। अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन्।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन। 

महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेसनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ। 

महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाइ अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद् लामिछानेले जानकारी दिए। 

मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना रद्द भयो।

झन्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु हुने विश्वास व्यक्त गरे। 

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो। 

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन्। 

केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन्। आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन्। ‘विन्डी एप’, ‘निम्सदाइ स्टोर एप’लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ। विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै गएको बताए। 

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन्। जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो।

समाचार तथा तस्बिर : रासस