Skip This
२७ वैशाखसम्म तार व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख २४ आइतबार o५:५४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२७ वैशाखसम्म तार व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने

तार व्यवस्थापन गर्न महानगरको अल्टिमेटम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार o५:५४:oo

काठमाडौं महानगरपालिकाले आगामी २७ वैशाखसम्म महानगरभित्रका अव्यवस्थित तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै २७ वैशाखसम्म सडकमा अव्यवस्थित रूपमा रहेको तार व्यवस्थापन गर्न पत्र काटिसकेको छ । 

दिइएको समयभित्र तार व्यवस्थापन नगरे महानगर तार काट्न बाध्य हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘अहिले उपत्यकाका सडकमा तार गुजुल्टो परेका छन्, फुटपाथमा समेत तारले अवरोध गरेको छ,’ उनले भने, ‘टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनी र विद्युत् प्राधिकरणले तार व्यवस्थापन गर्नुपर्छ ।’ महानगरले तार व्यवस्थापन गर्न यसअघि पनि सम्बन्धित निकायहरूसँग छलफल गर्दै आएको थियो । ती निकायहरूले चासो नदिएको उनले बताए । 

महानगरका मेयर बालेन्द्र साहले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सहरी सौन्दर्यकरणमा तार बाधक भएको बताएका छन् । उनले यसलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने बताउँदै सम्बन्धित निकायले तार व्यवस्थापन गर्न अटेरीसमेत गरेको बताएका छन् । ‘सहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला, त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रूपमा तिनले सहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्, गत वर्ष मात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।’

मेयर साहले यसलाई व्यवस्थित बनाउन संघीय सरकारलाई कानुन निर्माण गर्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए । उनले १५ दिनपहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरे पनि सुनुवाइ नभएको र उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तार नकाट्न आदेश आएको जानकारी दिए । ‘काठमाडांै महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ,’ उनले भने, ‘यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ, तर तपाईंहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ ।’