
राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। आयोगका सचिव मुरारी खरेलले एचआइभी संक्रमितलाई राजनीतिक क्षेत्रमा समेत विभेद हुने गरेको उल्लेख गर्दै यस्तो बताएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित एचआइभी/एड्स संक्रमितहरूको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययनअनुसार एचआइभी संक्रमितहरूले सरकारी तथा सार्वजनिक निकायहरूमार्फत विभेद भोगिरहेका पाइएको जानकारी गराए।
‘सरकारी निकायबाट प्रत्यक्ष रूपमा हुने विभेद र लाञ्छनाका विषयहरू आयोगको क्षेत्राधिकारभित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौँ। साथै, व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो। प्रहरीले त्यो विषय हेरेन भने पनि आयोगले हेर्छ। दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन,’ उनले भने।
कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे। उजुरीउपर कठोरताका साथ कारबाही गरिने उनले बताए। उनले नेपाल प्रहरीले चलाइरहेको ‘अल्पसंख्यकसँग नेपाल प्रहरी’ कार्यक्रममा एचआइभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिबद्धता व्यक्त गरे।