
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसर पारेर देशका सातै प्रदेशमा रक्तदान गरेको छ । कम्पनीले देशभर गरेको रक्तदानमा कुल तीन सय १० पिन्ट रक्तदान भएको हो ।
कम्पनीले कोसी प्रदेशको बिर्तामोडमा ५६, मधेस प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१ पिन्ट रक्तदान भएको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल तीन सय १० पिन्ट रगत संकलन गरिएको कम्पनीको भनाइ छ ।
स्थापना दिवसको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीका बिमा अभिकर्ताहरू, सञ्चालक पदाधिकारीहरू, आरोहअवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सेयरधनी, नेपाल बिमा प्राधिकरणलगायतको साथ र सहयोगले अघि बढ्दै गएको बताए । २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरू धन्यवादका पात्र भएको उनको भनाइ थियो ।
आउँदा दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनले बताए । ‘किनकि जीवन अमूल्य छ,’ भन्ने मूल नाराका साथ कम्पनीले नेपालीको घरदैलोमा जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको जनाइएको छ । कम्पनीले ०८० चैत मसान्तसम्ममा एक खर्ब ६२ अर्ब रुपैयाँ लगानी गरेको जनाइएको छ । त्यस्तै, जीवन बिमाकोष करिब एक खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख छ । कम्पनीले देशभरमा एक सय ९२ कार्यालयमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।