१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विराटनगर–रंगेली खण्डमा निर्माण हुँदै गरेको हुलाकी सडक ।
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o९:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५३:oo

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा

हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा गरेका छन् । पटक–पटक चाँडो हुलाकी सडक निर्माण गर्न आयोजना र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता भएपछि मोरङको २, ४ र ५ नम्बर क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसद तथा प्रभावित पालिका अध्यक्षहरूले सडक संघर्ष घोषणा गरेका हुन् । 

बिहीबार विराटनगरमा मोरङ २ बाट निर्वाचित संघीय सांसद ऋषिकेश पोखरेल र प्रदेश सांसदहरू गणेश उप्रेती, लीलावल्लभ अधिकारी, ५ का संघीय सांसद योगेन्द्र मण्डल र प्रदेश सांसदहरू अमृत अर्याल र गयानन्द मण्डल, ४ का प्रदेश सांसद भीम पराजुली र जयप्रकाश चौधरीसहित रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया, सुनवर्षी नगरपालिका प्रमुख श्याम राजवंशी, रतुवामाई नगरपालिका प्रमुख नागेश्वरप्रसाद सिंह, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले सात दिनभित्र काम सुरु नभए राजमार्गमा यातायात ठप्प पारेर धर्नामा बस्ने घोषणा गर्दै सडक संघर्ष थालेका हुन् । हुलाकी राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले मोरङको २, ४ र ५ निर्वाचन क्षेत्रका तीन लाखभन्दा बढी जनताले निकै दुःख–कष्ट पाएका छन् । स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती भोगिरहेका छन् । 

सांसद ऋषिकेश पोखरेलले हुलाकी सडक निर्माण चाँडो सम्पन्न गर्न पटकपटक आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि प्रगति अगाडि नबढेकाले सडक संघर्ष घोषणा गर्न बाध्य हुनुपरेको बताए । ‘हामीले काम चाँडो सम्पन्न गराउन गर्नेजति सबै प्रयास गरिसक्यौँ, तर ठेकेदार कम्पनीले वास्तै गरेनन् । बरु आजकल कामै छाडेर बेपत्ता भएका छन्, यसैले संघर्ष गर्न बाध्य भएका हौँ,’ उनले भने ।

मोरङ ५ का सांसद योगेन्द्र मण्डलले काम गुणस्तरीय नभएको र अनुगमन मूल्यांकनमा जनप्रतिनिधि र सांसदहरूलाई बेवास्ता गरिएको, निर्माण गरिएका सडकमा पनि विभिन्न ठाउँमा अधुरो र अलपत्र छाडिएको, निर्माण कार्यलाई अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई कुनै कारबाही नभएकाले संघर्ष घोषणा गर्न बाध्य भएको बताए । 

रंगेली नगरपालिका प्रमुख दिलीप बगडियाले हुलाकी सडक निर्माण चाँडो गराउन आफूहरूले नगरभित्रका दजनौँ घर भत्काएर सहयोग गरेको, तर काम अलपत्र अवस्थामा रहेकाले सडक संघर्षमा उत्रिएको बताए । ‘वाक्कदिक्क भइसक्यौँ, अब सात दिनभित्र चाँडै सम्पन्न गर्ने गरी हुलाकी सडक निर्माणको काम सुरु भएन भने रंगेली बजारमै धर्नामा बस्नेछौँ,’ उनले भने ।

हुलाकी सडक मोरङमा विराटनगर महानगरपालिकादेखि झापाको सिमाना रतुवा खोलासम्म करिब ९६ किलोमिटर पर्दछ । यसभित्र दक्षिणी क्षेत्रमा रहेका ४, ५ र २ नम्बर निर्वाचन क्षेत्र पर्छन् । हुलाकी सडक बनेमा दक्षिणी क्षेत्रमा रहेका झापा, मोरङ सुनसरी र सप्तरीका बजार गुलजार हुनुका साथै पर्यटकीय क्षेत्रहरूको पनि प्रवद्र्धन हुनेछ । ‘हुलाकी राजमार्ग दक्षिण क्षेत्रको लाइफलाइन हो । यसैले यो निर्माण भएपछि हाम्रो जीवन फेरिन्छ भनेर आशावादी भएका थियौँ, तर वर्षौँदेखि हामीले सास्ती मात्र पायौँ,’ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले भने ।

मोरङमा हुलाकी सडक मार्ग निर्माणका लागि मोतीराम, गजुरमुखी र मोतीराम जेभीले ठेक्का लिएका छन् । हुलाकी मार्ग योजना कार्यालय सुनसरी इटहरीका प्रमुख विजयकुमार थापा जग्गा मुआब्जा विवाद, बजार क्षेत्रमा घर भत्काउनुपर्ने, बिजुली र टेलिफोनको तार सार्नुपर्ने कारणले निर्माणमा ढिलाइ भएको दाबी गर्छन् । उनका अनुसार मेचीदेखि सप्तरीको बलान खोलासम्म हुलाकी सडक निर्माणको हालसम्म ६० प्रतिशत प्रगति भइसकेको छ । ‘हाम्रोतर्फबाट कुनै समस्या छैन । आगामी मंसिरसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । हामीले पटक–पटक समयभित्र काम सम्पन्न भएन भने जरिवानासहित ठेक्काको सम्झौता तोड्न बाध्य हुनेछौ भनेर चेतावनी दिइसकेका छौँ,’ थापाले भने । 

योजना कार्यालय इटहरीअन्तर्गत निर्माण भइरहेको हुलाकी राजमार्ग कोसी प्रदेशको पूर्वी सिमाना झापा भद्रपुरको मेची पुलदेखि राजगढ, शिवगन्ज, गौरीगन्ज हुँदै मोरङको रंगेली विराटनगर भएर सुनसरीको चिमडी, हरिनगरा, भुटाहा हुँदै लौकहीबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ । त्यहाँबाट कोसी ब्यारेज पश्चिम मधेस प्रदेशमा सप्तरीको भारदहबाट कञ्चनपुरसम्म पूर्व–पश्चिम राजमार्गमा मिसिएर फेरि कञ्चनपुरदेखि दक्षिण राजविराजसम्म र त्यहाँदेखि पश्चिम सिराहाको सिमाना बलान खोलासम्म पुग्दछ । यसको कुल लम्बाइ झापामा ९०, मोरङमा ९६, सुनसरीमा ५६ र सप्तरीमा ९४ गरी कुल ३ सय ३६ किमि छ । 

१५ वर्षदेखि निर्माण, तर अझै अधुरो 
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको हुलाकी मार्ग भारत सरकारको सहयोगमा आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको हो । यो सडक चालू आव ०७९÷८० मा निर्माण सम्पन्न भइसक्नुपर्ने लक्ष्य छ । तर, कछुवा गतिमा निर्माण भइरहेकाले अझै एक दशकसम्म पनि नबन्ने हो कि भन्ने स्थानीयको चिन्ता छ । सुनसरीको बजुँ गाउँपालिकाका कृष्ण शर्माले यही ताल हो भने अबको दश वर्षमा पनि हुलाकी सडक नबन्ने बताए । हुलाकी सडकअन्तर्गत दुई दर्जनभन्दा बढी पुल अझै निर्माण हुन बाँकी छ । मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलाको पुल अलपत्र छ ।

पुल निर्माण गर्न हालै मात्र पुनः ठेक्का लागेको छ । मानिसहरू वर्षायाममा पुलमुनि अर्को बाँसको पुल बनाएर खोला वारपार गर्न बाध्य छन् । रतुवामाई नगरपालिकाले मोरङतर्फ बर्सेनि बाँसका पुलका लागि लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ । हुलाकी मार्गमा झापामा चारआलीदेखि केचनासम्म ४० किमि, मोरङमा कानेपोखरीदेखि रंगेली २२ किमि र सप्तरीमा कल्याणपुरदेखि बर्साइनसम्म १८ किमि पहिलो चरणमा सहायक सडक निर्माण भइसकेका छन् । दोस्रो चरणमा मोरङको पथरीदेखि भारतीय सीमा, सुनसरीको देवानगन्जदेखि भीमपुरसम्म साढे ८ किमि, सप्तरीको राजविराज कुनौली १२ र कठौना पातो १८ किमि सहायक सडक निर्माण हुँदै छन् ।  

ad
ad