१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘दोषी छैन, प्रहरीलाई सघाउँछु’ भन्दै बुधबार अर्घाखाँचीबाट हिँडेका रायमाझी बाटोबाटै ‘भूमिगत’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ०६:०७:००

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक हुँदा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । जसमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रम सकिएपछि पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनी बाटोबाटै ‘भूमिगत’ भएका छन् । 

आफूलाई पक्राउ गर्न लागेको सूचना पाएपछि रायमाझी फरार भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि मोबाइल ‘स्विच्डअफ’ गरेर उनी ‘भूमिगत’ भएका छन् । प्रहरीले बुधबार बेलुका काठमाडौं विमानस्थलबाटै रायमाझीलाई पक्राउ गर्ने योजना बनाएको थियो । उनी सभामुख घिमिरेसँगै बुधबार भैरहवाबाट काठमाडौं फर्किने सूचना पाएर प्रहरी विमानस्थल पुगेको थियो । तर, पक्राउ गर्न टोली खटिएको सूचना पाएपछि रायमाझी टिकट ‘क्यान्सिल’ गरेर सम्पर्कविहीन भएका हुन् । 

स्रोतका अनुसार प्रहरीले पनि बिहीबार रायमाझीलाई पक्राउ गर्न चासो दिएको छैन । ‘उच्च तहबाट पिछा नगर्न आदेश आएको छ,’ एक प्रहरी अधिकारीले भने । ठगीमा संलग्न रहेको अभियोगमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार साँझ नै बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई बिहीबार अदालतमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न म्याद लिएको छ । 

सो घटनामा अरू धेरैजना अनुसन्धानकै दायरामा रहेको प्रहरीले जनाएको छ । अरू थप १०–११ जना पक्राउ पर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । प्रहरीले ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार अन्य उच्चपदस्थको पनि ठगीमा संलग्नता रहेको संकेत मिलेको छ ।

पक्राउ परेकामध्ये सानु भण्डारी र केशव दुलालले आफूहरूलाई सघाउने व्यक्तिहरूको प्रमाणसहित पोल खोलेका छन् । तर, नाम खुलाएकामध्ये केही व्यक्तिमाथि मात्र पक्राउ पुर्जी जारी भएको छ । अन्य व्यक्तिहरूको हकमा प्रमाण संकलन भइरहेको प्रहरी अधिकारी बताउँछन् ।