१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुलाकी सडक निर्माण ढिलासुस्तीविरुद्ध मोरङका सांसद र पालिका प्रमुखहरूद्वारा सडक संघर्षको घोषणा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo

हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा पालिका प्रमुखहरूले सडक संघर्ष गर्ने घोषणा गरेका छन्।

पटकपटक चाँडो हुलाकी सडक निर्माण गर्न आयोजना र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता भएपछि मोरङको २, ४ र ५ नम्बर क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसद तथा प्रभावित पालिका अध्यक्षहरूले सडक संघर्ष घोषणा गरेका हुन्।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद ऋषिकेश पोखरेल, प्रदेश सांसदहरू गणेश उप्रेती र लीलाबल्लभ अधिकारी, क्षेत्र नं ५ का संघीय सांसद योगेन्द्र मण्डल, प्रदेश सांसदहरू अमृत अर्याल र गयानन्द मण्डल, क्षेत्र नं ४ का संसादहरू भीम पराजुली र जयप्रकाश चौधरीसहित रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया, सुनवर्षी नगरपालिका प्रमुख श्याम राजवंशी, रतुवामाई नगरपालिका प्रमुख नागेश्वरप्रसाद सिंह, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र धनपालथान गाउँपालिका अध्यक्ष जीवन गच्छदारले सात दिनभित्र काम सुचारु नभए राजमार्गमा यातायात ठप्प पारेर धर्नामा बस्ने चेतावनी दिएका छन्।

उनीहरू सबैले हुलाकी राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले मोरङको २, ४ र ५ नम्बर निर्वाचन क्षेत्रका तीन लाख बढी स्थानीयले ज्यादै सास्ती पाइरहेका बताए। काममा भएको ढिलासुस्तीले गर्दा स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती भोगिरहेका छन्। समयमा काम नभए यो वर्षायाममा यातायात सुचारु हुन सक्ने अवस्था छैन।

२ नम्बर क्षेत्रबाट निर्वाचित सांसद ऋषिकेश पोखरेलले हुलाकी सडक निर्माण चाँडो सम्पन्न गर्न पटकपटक आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि प्रगति अगाडि नबढेकाले सबै तहका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूले संयुक्त रूपमा सडक संघर्ष घोषणा गर्न बाध्य हुनुपरेको बताए। 

मोरङ ५ नम्बर क्षेत्रका संघीय सांसद योगेन्द्र मण्डलले भएको काम पनि गुणस्तरीय नभएको र अनुगमन मूल्यांकनमा जनप्रतिनिधि र सांसदहरूलाई बेवास्ता गरिएको, निर्माण गरिएका सडकमा पनि विभिन्न ठाउँमा अधुरो र अलपत्र छाडिएको तथा निर्माण कार्यलाई अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई कुनै कारबाही नभएकाले जनप्रतिनिधिहरू नै सडक संघर्षमा उत्रन बाध्य भएको बताए।

हुलाकी सडक मार्ग मोरङमा विराटनगर महानगरपालिकादेखि झापाको सीमाना रतुवा खोलासम्म करिब ९६ किलोमिटर पर्छ। यसभित्र दक्षिणी क्षेत्रमा रहेका ४, ५ र २ नम्बर निर्वाचन क्षेत्र पर्छन्। हुलाकी सडक निर्माण भएर सुचारु भए आफ्नो दक्षिणी क्षेत्रमा रहेका झापा, मोरङ, सुनसरी र सप्तरीका बजारहरू मात्र गुल्जार हुने छैनन्, पर्यटकीय क्षेत्रहरूको पनि प्रवर्द्धन हुने विश्वास लिइएको छ। तर, निर्माण कार्य नहुँदा नागरिकको दैनिक जीवनसमेत कष्टकर भएको छ।

हुलाकी सडकबारे मुआब्जा र रुटका लागि कुनै विवाद नभए पनि निर्माण कम्पनीको हेलचेक्याईँले स्थानीयले सास्ती पाइरहेका मोरङ २ (१)का प्रदेश सांसद गणेश उप्रेतीले बताए। निर्माण भएका स्थानमा पनि सडक गुणस्तरहीन भएको र धेरै ठाउँ अलपत्र परेकाले केन्द्रबाटै छानबिन समिति गठन हुनुपर्नेमा जोड दिए। मोरङमा हुलाकी सडक निर्माणको ठेक्का मोतिराम, गजुरमुखी र मोतिराम जेभीले लिएका छन्।

हुलाकी मार्ग योजना कार्यालय सुनसरी इटहरीका प्रमुख विजयकुमार थापा भने सुरुमा जग्गा मुआब्जा विवाद, बजार क्षेत्रमा घर भत्काउनुपर्ने, बिजुली र टेलिफोनको तार सार्नुपर्नेजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भए पनि हाल तीव्र रूपमा काम भइरहेको बताउँछन्। उनका अनुसार मेचीदेखी सप्तरीको बलान खोलासम्म हुलाकी सडक निर्माणको हालसम्म कुल ६० प्रतिशत प्रगति भैसकेको छ।

योजना प्रमुख थापाले मोरङमा भएको ढिलासुस्तीबारे  ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिसकेको र ठेक्का तोड्ने चेतावनी दिइसकेको बताए। थापाले भने, ‘हाम्रोतर्फबाट कुनै समस्या छैन। यही मंसिरसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ। यसैले हामीले पटकपटक चेतावनी दिइसकेका छौँ।’
 

ad
ad