१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चन्दा संकलन गरेर प्रदेशस्तरीय तेक्वान्दो, प्रशिक्षक भन्छन्– उपेक्षा भए ऋण खोजेर तिर्छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

दुई वर्षअघि स्थापना भएको इस्मा डोजाङले प्रथम खुला प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गर्ने भएको छ। २२ र २३ वैशाखमा गुल्मीको इस्मा गाउँपालिका– ३ दर्लामचौरको ठाढुंगा माविमा प्रतियोगिता हुन लागेको हो।

आर्थिक अभावका कारण इस्मा डोजाङले चन्दा संकलन गरेरै प्रतियोगिता गर्न लागेको हो। चारपटक इस्मा गाउँपालिका धाउँदा पनि गाउँपालिकाले २० हजारभन्दा बढी सहयोग गर्न नसक्ने जनाएपछि गाउँगाउँमा चन्दा संकलन गरेर प्रतियोगिता आयोजना गरिएको तेक्वान्दो प्रशिक्षक दीपक घर्तीले गुनासो गरे।

प्रतियोगितामा जिल्लाबाहिरका साढे दुई सय र जिल्लाका करिब ५० गरेर तीन सयभन्दा बढी तेक्वान्दो खेलाडी र प्रशिक्षक आउँदै छन्। खेल व्यवस्थापनका लागि आयोजकले सात लाख बजेटको अनुमान गरेको छ। तर, अहिलेसम्म डेढ लाख रुपैयाँ मात्रै संकलन भएको छ।

गाउँमा तीन सयभन्दा बढी खेलाडी व्यवस्थापन, प्रशिक्षक, पुरस्कार र अन्य खर्च जोहो गर्न डोजाङलाई निकै चुनौती छ। अनुमान गरिएको कुल सात लाखमध्ये साढे पाँच लाख घाटा बजेटमा आयोजकलाई खेल सम्पन्न गर्नुपर्ने बाध्यता रहेको प्रशिक्षक घर्तीले बताए। ‘मैले इस्मालाई अप्ठ्यारो पार्न खोजेको छैन। प्रदेशभर पहिचान दिलाउन प्रतियोगिता आयोजना गरेँ,’  उनले भने, ‘उपेक्षा गरे ऋण खोजेरै भए पनि व्यवस्थापन गर्छौँ।’

आयोजक इस्मा डोजाङले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशबाट समेत २४ देखि ६१ केजी तौल भएका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्। दुई दिनसम्म एकल स्पाइरिङ, सामूहिक स्पाइरिङलगायतका प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले इस्माको पहिचानसँग खेल जोडिएकाले गाउँपालिकाले मन फुकाउन सक्नुपर्ने बताए। तीन सयभन्दा बढी खेलाडी र प्रशिक्षक सहभागी खेलले इस्माको गरिमा बढाउने भए पनि घर–घरमा चन्दा संकलन गर्नुपर्ने विडम्बना देखिएको उनको भनाइ छ। ‘स्थानीयले चन्दा दिएकाले प्रतियोगिता अन्यत्र सार्न पनि गाह्रो छ,’ महाकिमले भने, ‘खेलाडीको बिजोग भए झनै समस्या हुन्छ।’

इस्मा गाउँपालिका– ३ का वडाध्यक्ष ज्योतिराज कुँवरले ठाढुंगा माविका कोठा र सभाहल प्रयोग गरेर व्यवस्थापनको काममा सहयोग गर्ने बताए। उनले पालिकास्तरबाट सोचेअनुसारको सहयोग र सदभाव नभएपछि व्यक्तिगत सहयोग संकलन गरेर काम अघि बढाइएको बताए।