१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
समाचार डिजिटल संस्करण

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:४१:oo

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । 

स्रोतका अनुसार प्रहरीले उनलाई आज साँझ बुटवलबाट पक्राउ गरेको हो । संघीय सांसदसमेत रहेका पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी भएको थियो । 

यसअघि हिजो तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारका रूपमा मन्त्रालयमा कार्यरत डा. इन्द्रजित राई पक्राउ परेका थिए । उनले दिएको बयानका आधारमा रायमाझी बाबुछोराविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । 

यसअघि प्रहरीले सो मुद्दामा पाँचजनालाई पक्राउ गरिसकेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए । शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।

पीडितको उजुरी र उनीहरूमाथिको अनुसन्धानमा राईको संलग्नता पुष्टि भएपछि मात्र प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीहरूले राईका छोरा नीरज र बादलका छोरा प्रतीक पनि धन्दामा संलग्न रहेको बयान दिएका छन् । साथै उच्चपदस्थ निजामती कर्मचारीले पनि गिरोहलाई सघाएका थिए । 

ठगीकै योजनाअन्तर्गत भुटानी समस्या स्थायी समाधानका लागि भन्दै ०७७ को जेठमा एक कार्यदल बनेको थियो । जसमा छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनेको थियो । सोहीअन्तर्गत प्रतिवेदनमा पैसा उठाइएका व्यक्तिहरूको नाम राखिएको थियो । यद्यपि, त्यो सूची सक्कली–नक्कली खुल्न सकेको छैन । गृहले प्रहरीलाई पठाएको प्रतिवेदनमा भने उनीहरूको सूची राखिएको छैन । 

पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठन भएको कार्यदलकै आडमा ठगी भएको प्रहरी अधिकारी बताउँछन् । ठगीमा संलग्नहरूको कार्यदलका सदस्यसँग पनि निकटता थियो । उनीहरूले पीडितहरूलाई तत्कालीन गृहमन्त्रीका सचिवालयका व्यक्ति तथा कर्मचारीलाई बारम्बार भेटाउने गर्दथे । 

तर, पछि अमेरिका पठाउन नसकेपछि पीडितहरू प्रहरीमा गएका थिए । ठीक एक वर्षअघि प्रहरीले ठगीमा संलग्न केहीलाई पक्राउसमेत गरेकामा दबाबको भरमा छुटेका थिए । उच्चपदस्थ व्यक्ति मुछिन सक्ने भएकाले त्यसवेला छाडिएको थियो । अहिले पनि सो मुद्दामा उच्चपदस्थलाई जोगाउन प्रयास भइरहेको स्रोत बताउँछ । त्यसरी उठाइएको पैसा उच्चपदस्थ व्यक्तिहरूसम्म पुगेकाले उनीहरूलाई जोगाउन प्रहरी र सरकारी वकिलमाथि दबाब परिरहेको छ । 

करिब नौ सय ठगिएकोमा एक सय ६० ले प्रहरीमा जाहेरी दिएका छन् । एकै परिवारसँग गिरोहले डेढ करोडसम्म उठाएको थियो । यो प्रकरणमा करिब एक अर्ब ठगी भएको प्रारम्भिक रिपोर्ट छ । 

ad
ad