मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Wednesday, 02 September, 2026
२o८o बैशाख २० बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सुडानमा विश्व खाद्य कार्यक्रमको स्थगित सेवा पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १o:५५:oo

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोकमरी उत्पन्न हुन सक्ने सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्युएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो । खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन् । 

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच गत अप्रिल १५ देखि सुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्युएफपीका तीन कर्मचारी उत्तरी डार्फरमा मारिएका थिए । त्यसपछि डब्ल्युएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो ।

डब्ल्युएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध सुरु हुनुअगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वबीच पनि डब्ल्युएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिए । द्वन्द्व जारी रहेमा खाद्य संकटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि निर्देशक म्याक्केनले दिएका छन् । 

चार करोड असी लाख जनसंख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो । ‘द्वन्द्व सुरु हुनुअघि नै एक करोड ६० लाख सुडानी नागरिकलाई मानवीय सहायताको आवश्यकता थियो, डार्फरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,’ सुडानमा बढ्दै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गर्नुभएको वक्तव्यमा भनिएको छ । सुडान युद्धमा करिब पाँच सय ५० जनाले ज्यान गुमाएका तथा झन्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् । दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन् ।