मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १८ सोमबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिलाई गगनको आग्रह- उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १८ सोमबार १८:१९:००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँ व्यहोर्नुपर्ने बताएका छन्। भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका उनलाई उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्न थापाले आग्रह गरेका हुन्। 

सोमबार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्नसमेत आग्रह गरे।

गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने महामन्त्री थापाको धारणा छ।

‘हामीले संसदबाट एउटा कानुन बनायौँ। गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौँ। सबै समान हुन्छ भन्यौँ। त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ। नेपालको राष्ट्रध्यक्ष राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे अस्वस्थ भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर गर्ने। उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने। तर, नागरिकचाहिँ अस्पतालमा उपचार गर्दागर्दै पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने। अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत। यो गर्न पाइँदैन,’ उनले भने।