१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्यालयको चिह्न र नाममा एकरूपता ल्याउन मेयर साहको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३२:oo

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप सञ्चालन गर्न आग्रह गरेको छ । विद्यालयहरूले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीलाई मध्यनजर गर्दै सोहीअनुसार अपनाउनुपर्ने बताइएको छ । 

महानगरका मेयर बालेन्द्र साहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नियमावली पालना गर्न आग्रह गरेका हुन् । उनले विद्यालयको चिह्न र विद्यालयको नामकरणबारे पनि ध्यान दिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा व्यवस्थापन नियमावली ०७४ को नियम ६९ र ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ मा विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता हुनुपर्ने व्यवस्था छ ।

नामकरणका सम्बन्धमा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर, यो नियम प्रारम्भ हुनुभन्दा अगावै नियमविपरीत नामकरण भइसकेका विद्यालयको हकमा दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुने गरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने मेयर साहले बताएका छन् ।

‘कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहे कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालयको नामको अन्त्यमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ ।’

उनका अनुसार उपनियम लागू हुनुअगावै नियमविपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्नेछ । यसैले यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप रहनुपर्ने महानगरको धारणा छ । 

ad
ad