मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १८ सोमबार ०८:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी बर्खामा पनि उपत्यका ल्याउने तयारी

ठूलो बाढी आए आयोजनाको ३८ नम्बरको गेट आफैँ बन्द हुने

Read Time : > 2 मिनेट
२०८० बैशाख १८ सोमबार ०८:२६:००

काठमाडौं उपत्यकावासीले लामो प्रतीक्षापछि प्रयोग गर्न पाएको मेलम्चीको पानी बर्खा लागेसँगै बन्द हुने गरेको थियो । तर, अब यो अवस्था अन्त्य हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाह्रै महिना मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी काम सुरु गरेपछि यो सम्भव हुन लागेको हो ।

समितिका अनुसार बर्खा लागेसँगै बन्द हुने मेलम्चीको पानी यस वर्षदेखि भने बाह्रै महिना ल्याउने कोसिस भइरहेको छ । यसका लागि धामाधम संरचनाहरू बनिरहेका छन् । ‘यो बर्खामा मेलम्चीको पानी बन्द गर्नुनपर्ने गरी काम गरिरहेका छौँ,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्चीमा ग्रेगानसहितको बाढी आयो भने त बन्द गर्नैपर्छ । होइन भने बाह्रै महिना उपत्यकावासीले पानी खान पाउनेछन् ।’ उनका अनुसार खोलामा ठूलो बाढी आए आयोजनाको ३८ नम्बरको गेट अटोमेटिक बन्द गर्ने सिस्टम बनाइरहेको छ । 

अघिल्ला दुई वर्ष (०७८ र ०७९)को बर्खामा मेलम्चीको पानी उपत्यकावासीले खान पाएनन् । ०७८ असार र साउनमा आएको बाढीका कारण १० महिनासम्म उपत्यकावासीले पानी उपभोग गर्न पाएनन् । आयोजनाको पुनर्निर्माणपछि ११ वैशाख ०७९ देखि पानी वितरण थालिए पनि वर्षामा थप क्षति हुने डरले एक महिनामै रोकिएको थियो ।

राजेन्द्रप्रसाद पन्त, प्रवक्ता,
मेलम्ची खानेपानी विकास समिति

अघिल्ला वर्षहरूमा बर्खा लागेसँगै बन्द हुने मेलम्चीको पानी यस वर्षदेखि भने बाह्रै महिना ल्याउने कोसिस भइरहेको छ । यसका लागि धामाधम संरचनाहरू बनाइरहेका छौँ । मेलम्चीमा ग्रेगानसहितको बाढी आयो भने त बन्द गर्नैपर्छ । होइन भने बाह्रै महिना उपत्यकावासीले पानी खान पाउनेछन् । ठूलो बाढी आए आयोजनाको ३८ नम्बरको गेट अटोमेटिक बन्द गर्ने सिस्टम बनाइरहेको छ ।

गत २४ मंसिरबाट पुनः पानी वितरण थालिएको थियो । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा थपिएको छ । 

 आगामी वर्ष ल्याइसक्ने भनिएको यांग्री र लार्केको कामै सुरु भएन
सरकारले आगामी वर्षसम्म मेलम्चीनजिकैको यांग्री र लार्के खोलाको पानी पनि ल्याउने योजना बनाएको थियो । तर, यो योजनाको काम भने अझै सुरु हुन सकेको छैन । दुई वर्षअघि नै ०८१ सालमा यी दुई नदीको पानी उपत्यका ल्याउने घोषणा भएको थियो । तर, ०८१ सालबाट बल्ल काम सुरु हुने तयारी छ । 

२० चैत ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीको औपचारिक शुभारम्भ गर्ने क्रममा ८१ सालभित्र यी दुई नदीको पानी पनि उपत्यका ल्याइने घोषणा गरेका थिए । तर, मेलम्चीमा आएको बाढीका कारण यांग्री र लार्के खोलाको पानी ल्याउने योजनामा समेत असर परेको समितिले जनाएको छ । ‘दुई वर्षअघि आएको बाढीका कारण यांग्री र लार्केको योजनामा पनि असर पर्‍यो ।

अहिले हामी त्यस क्षेत्रसम्म पुग्ने बाटो नै राम्रो बनाउनतिर लागेका छौँ,’ समितिका प्रवक्ता पन्तले भने, ‘बाटो निर्माण सम्पन्न भएपछि हेडवक्र्स र सुरुङको काम गर्नतर्फ लाग्छौँ । त्यसैले अर्को आर्थिक वर्षमा मात्र निर्माण व्यवसायीले उक्त क्षेत्रमा काम सुरु गर्ने अवस्था छ ।’ मेलम्चीमा आएको बाढीका कारण मेलम्ची डाइभर्सनको हेडवक्र्स पुरिएको थियो । यांग्री र लार्केको पानी ल्याएर मेलम्ची खोलामै खसाल्ने हो । मेलम्ची आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र यांग्रीबाट दैनिक ३४ करोड लिटर पानी प्रणालीमा थपिनेछ । पन्तका अनुसार यो वर्ष बाटो निर्माण सम्पन्न, ठेक्कालगायत काम हुनेछन् ।