मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०८० बैशाख १७ आइतबार १४:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री श्रेष्ठद्वारा सहिद परिवारलाई घर हस्तान्तरण 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० बैशाख १७ आइतबार १४:३१:००

सर्लाहीमा सहिद परिवारका लागि निर्माण गरिएकाे घर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तान्तरण गरेका छन्। 

बागमती नगरपालिका– १२ नयाँ बस्ती बथनियामा नेकपा माओवादी केन्द्र सर्लाहीले १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति सहयोग संकलन गरेर घर बनाइदिएको थियो। 

सोही घरको शनिबार एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले सहिद कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई साँचो हस्तान्तरण गरेका हुन्।

उक्त चारकोठे पक्की घर बनाउन झन्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक रहेका माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठले जानकारी दिए। 

जनयुद्धका क्रममा ०५५ साल कात्तिक १० गते कोइरालाको मृत्यु भएको थियो। कोइराला जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गुमाउने पहिलो सहिद रहेको नेकपा (माओवादी केन्द्र) सर्लाहीले जनाएको छ। 

पतिको निधनपछि लक्ष्मी कोइरालाले दुई छोरी र दुई छोरा बागमती– ११, स्थित माइती घरमा शरण लिएर हुर्काएकी थिइन्। कोइराला परिवारको अवस्था दयनीय बनेको थाहा पाएलगत्तै माओवादी केन्द्र सर्लाहीले सहयोग संकलन गरेर घर निर्माण अभियान थालेको थियो। अभियानको अगुवाइ पार्टीका तत्कालीन जिल्ला अध्यक्ष कमल बुढाथोकीले गरेका थिए। 

घर निर्माणमा हाल हरिवन नगरपालिकाका मेयरसमेत रहेका बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापालगायतले विशेष पहल गरेका थिए। अत्यन्त विपन्न कोइराला परिवार आफ्नो घरसमेत नहुँदा आफन्तकोमा शरण लिन बाध्य बनेका थिए। बागमती नगरपालिकाले निःशुल्क उपलब्ध गराएको जग्गामा सहिदको परिवारका लागि घर निर्माण गरिएको हो।

कार्यक्रममा मधेस प्रदेशका सांसद जवाहरलाल कुसवाह, बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख (डिआइजी) जनक भट्टराई, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी नरेशराज सुवेदी, सशस्त्र प्रहरीका डिआइजीलगायतका सुरक्षा अधिकारीहरूको सहभागिता थियो। 

उक्त कार्यक्रमपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नजिकै रहेको बागमती माछापोखरी (भरत ताल)मा जेटबोटसमेत सयर गरे। मन्त्री श्रेष्ठसँगै जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूले समेत सामूहिक रूपमा १३५ सिटे जेटबोट सयर गरेका थिए। बागमती नगरपालिका १२ मा निर्मित १२१ बिघा क्षेत्रफलमा फैलिएको भरत पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। 

उपप्रधान मन्त्री श्रेष्ठले आइतबार जनकपुरमा मिटरब्याजपीडित छानबिन आयोगको कार्यालय उद्घाटन गरेका छन्।