Skip This
खोटाङमा विपत् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १७ आइतबार १३:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा विपत् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १३:४१:oo

जिल्ला विपत् व्यवस्थापन समिति खोटाङले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास (डेमो) प्रदर्शन गरेको छ।

नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकको नेतृत्वमा शनिबार दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले सडकखण्डमा अभ्यास प्रदर्शन गरिएको हो। 

प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरूप अभ्यास प्रदर्शन गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए। 

‘नेपालमा मनसुन सुरु हुन लागेको छ । मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरू आइपर्न सक्छन्,’ उनले भने, ‘प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले जिल्लामा संयुक्त उद्धार समितिसमेत गठन गरिएको छ । सोही संयुक्त उद्धार समितिले पूर्वतयारीस्वरुरूप अभ्यास प्रदर्शन गरेको हो।’

नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी खोटाङको संयुक्त उद्धार टोलीले पहिरो तथा खोँचमा फसेका व्यक्तिको उद्धार, प्राथमिक उपचार तथा स्वास्थ्य संस्थासम्म पुर्‍याउन अपनाइने विधिबारे अभ्यास प्रदर्शन गरेका छन् । पहिरो तथा खोँचमा फसेर बेपत्ता बनेकाको खोजी गर्न नेपाली सेनाले दुईवटा ड्रोनसमेत प्रयोग गरेर देखाएकाे थियाे। 

संयुक्त उद्धार समितिले प्रदर्शन गरेको अभ्यासले सर्वसाधारणलाई समेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने ज्ञान प्राप्त भएको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए। 

‘विपत् व्यवस्थापन समितिले गरेको अभ्यास प्रदर्शनले यो देशमा राज्यको उपस्थिति रहेको छ भन्ने आभास झल्काएको छ,’ उनले भने, ‘प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन राज्यको दायित्वभित्र पर्छ । हाम्रो नगरपालिकामा उद्धार तथा राहत वितरण टोली तयारी अवस्थामा राखेका छौँ। जिल्ला विपत् व्यवस्थापन समितिसँग सहकार्य गरेर अगाडि बढ्छ।’

संयुक्त उद्धार टोलीले प्रदर्शन गरेको अभ्यास अवलोकन गर्न दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका उपप्रमुख राई, प्रमुख जिल्ला अधिकारी सेढाईं, मुडे ब्यारेकका गणपति सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमय, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सर्वसाधारणलगायत खाल्ले पुगेका थिए । अवलोकनमा पुगेका टोलीले संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन प्रभावकारी रहेको बताएका छन्। 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्लास्तरीय विपत् व्यवस्थापन समितिको सदस्यमा जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालय, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र उद्योग वाणिज्य संघ रहनेछन् । जिल्लास्तरीय समितिको सदस्यसचिव प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत रहने  व्यवस्था रहेको छ । 

जिल्लाका दशवटै स्थानीय तहमा स्थानीयस्तरको विपत् व्यवस्थापन समिति गठन गरेर तयारी अवस्थामा रहन जिल्लास्थित सबै स्थानीय तहलाई अनुरोध गरिएको संयोजक सेढाईंले बताए। दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन्।