१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मेलिसा एडी
२o८१ जेठ ५ शनिबार o७:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चीनलाई एक्ल्याउने प्रयासमा अमेरिका, नजिकिँदै जर्मनी

किल इन्स्टिच्युटले गरेको अध्ययनले चीनसँगको व्यापारिक सम्बन्ध टुटाउनु सम्पूर्ण युरोप, अझ विशेषगरी जर्मनीका लागि धेरै महँगो पर्ने देखाएको छ

Read Time : > 3 मिनेट
मेलिसा एडी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२४:oo

वासिंटनले बेइजिङसँगको आर्थिक सम्बन्ध घटाउँदै लाने नीति लिँदा जर्मन व्यवसायले भने चीनमा लगानी बढाइरहेका छन् । पछिल्लो समय जर्मन अर्थतन्त्रका दुई शक्तिशाली इन्जिनहरू– फक्सवागन र रासायनिक कम्पनी बिएएसएफले चीनमा थप लगानीको घोषणा गरेका छन् । चीनमा पहिले नै ४० भन्दा बढी संयन्त्र रहेको फक्सवागनले चिनियाँ उपभोक्ताको रुचि सुहाउँदो कारको मोडेल बनाउन नयाँ प्रयासको घोषणा गरेको छ ।

गत वर्ष कम्पनीले अनावरण गरेको ‘चीनमा, चीनकै लागि’ भन्ने नाराअनुरूप नै उसले स्थानीय साझेदारी र उत्पादन स्थलहरूमा अरबौं लगानी गर्नेछ । चीनमा ३० उत्पादन संयन्त्र रहेको बिएएसएफ एक नयाँ रासायनिक उत्पादन उद्योग निर्माणमा १० अर्ब युरो (१०.९ अर्ब डलर) खर्च गर्ने योजनाको साथ अघि बढिरहेको छ । सो उद्योग संरचनाको आकारका हिसाबले कम्पनीको लुड्विगसाफेन (जर्मनी) मा रहेको विशाल मुख्यालय संरचनाको हाराहारी हुनेछ, जुन लगभग चार वर्गमाइल क्षेत्रमा फैलिएको छ ।

यस्तो लगानी संयुक्त राज्य अमेरिकाले चीनलाई आर्थिक रूपमा एक्ल्याउने प्रयासको विपरीत भएको जर्मनीका सबै अधिकारीलाई थाहा छ । तर, उनीहरू युरोपमा आफ्नो व्यवसाय फस्टाउन र बढाउनका लागि चीनबाट प्राप्त हुने राजस्व आवश्यक रहेको भन्दै प्रतिवाद गर्छन् । बिएएसफएफका प्रमुख कार्यकारी मार्टिन ब्रुडरमुलरको भनाइअनुसार चीनबाट हुने आम्दानीले कम्पनीलाई युरोपको उच्च ऊर्जा लागत र कडा वातावरणीय नियमबाट भइरहेको घाटालाई पूर्ति गर्न सघाइरहेको छ । ‘चीनको व्यवसायविना यहाँ भइरहेको आवश्यक पुनर्संरचना सम्भव छैन,’ ब्रुडरमुलरले फेब्रुअरीमा कम्पनीको वार्षिक आय सम्मेलनमा पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका थिए । 

जर्मन अर्थतन्त्रका दुई शक्तिशाली इन्जिनहरू– फक्सवागन र रासायनिक कम्पनी बिएएसएफले चीनमा थप लगानीको घोषणा गरेका छन् । चीनमा ३० उत्पादन संयन्त्र रहेको बिएएसएफ एक नयाँ रासायनिक उत्पादन उद्योग निर्माणमा १० अर्ब युरो (१०.९ अर्ब डलर) खर्च गर्ने योजनाको साथ अघि बढिरहेको छ ।

फक्सवागनका कार्यकारीहरू पनि निजी भेटमा आफ्नो पनि त्यस्तै समस्यामा रहेको स्वीकार गर्छन् । उच्च ऊर्जा तथा श्रम लागतका कारण कम्पनीले युरोपमा भोगिरहेको घाटालाई पूर्ति गर्न चीनको बिक्रीले उल्लेख्य रूपमा सघाइरहेको छ । व्यवसायहरू चीनसँग नजिकिरहँदा बर्लिनले भने यसका अत्यन्त घनिष्ट सम्बन्धमाथि छानबिन गर्ने तयारी गरेको छ । देशका कार्यकारी प्रमुख (चान्सलर) ओलाफ स्कोल्जको आग्रहमा आएको र जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको सम्बन्धलाई पुनस्र्थापित गर्ने उद्देश्य बोकेको एउटा नीतिगत प्रस्ताव अहिले जर्मन मन्त्रालयको चक्कर लगाइरहेको छ ।

यस विधेयकले चीनसँग व्यापारको महत्वलाई स्वीकार गर्दै चिनियाँ आयातमाथिको अत्यधिक निर्भरताबाट बच्दै सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ । यसका लागि उसले एसियाका अन्य मुलुकतर्फ आयात विविधीकरणको प्रयास गर्नेछ । उता बाइडेन सरकारले अमेरिकी पूर्वाधार र उत्पादन विस्तार गरेर अमेरिकालाई चीनसँग थप प्रतिस्पर्धी बनाउने तर चीनसँग नयाँ व्यापार सम्झौता नगर्ने नीति लिएको छ । जर्मन सांसद तथा व्यवसायी चीनसँगको तिनको सम्बन्ध थप मिहिन रहेको र अन्य एसियाली बजारमा विस्तार गर्न खुला रहेको बताउँछन् । 

रुसले गत वर्षदेखि जर्मनी आपूर्ति गरिरहेको प्राकृतिक ग्यासको ढुवानी बन्द गरेपछि जर्मनीभित्र देशको औद्योगिक मेरुदण्डका लागि आवश्यक सामग्रीका लागि निरंकुश राष्ट्रमा निर्भर हुन नहुने आवाज उठ्न थालेको छ । ओलाफले प्रस्ताव गरेको नीति पनि यसैलाई ध्यान दिएर ल्याइएको हो ।

चीनको सन्दर्भमा जर्मनीको उसमाथिको आयात निर्भरता एउटा ठूलो समस्याका रूपमा हेरिएको छ । जर्मनी मोबाइल फोन र एलइडीलगायत अत्यावश्यक प्रविधिका साथै लिथियम र रेअर अर्थ एलिमेन्ट (दुर्लभ धातु एवं खनिज)जस्ता कच्चा पदार्थका लागि चीनमा निर्भर छ । सफा ऊर्जा र यातायातमा परिवर्तन गर्ने जर्मनीको योजनामा यिनको केन्द्रीय भूमिका छ । यसैले तत्काल यसको सम्बन्धलाई उल्टाउन उचित विकल्प होइन । 

विगतमा युरोपेली संघ र चीनको सम्बन्ध विभिन्न उतारचढावबाट गुर्जिए । वर्षौंको वार्ताको प्रयासस्वरूप सन् २०२० मा युरोपेली संघ र चीनले एक सफल व्यापार र लगानी सम्झौता गर्न सफल भएका थिए । तर, एक वर्षभन्दा कम समयपछि नै उक्त सम्झौता स्थगित भयो । उइगुर जनसंख्यामाथि चिनियाँ सरकारको दुव्र्यवहारलाई लिएर केही युरोपेली सांसदले चीनको विरोध गरेपछि चीनले तीनमाथि प्रतिबन्ध लगाइदिएपछि सम्झौता तोडिएको थियो । उक्त सम्झौताले व्यवसायलाई एकअर्काको देशमा काम गर्न सजिलो बनाइदिएको थियो । गत हप्ता, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले चीनसँगको आर्थिक सम्बन्धलाई ‘पुनः सन्तुलन’मा ल्याउने प्रयासको रूपमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग बेइजिङको यात्रा गरेकी छन् । 

उनले व्यापारको बारेमा वार्ताको पुनरुत्थानको लागि आह्वान गरिन् । त्यसका लागि उनले चीनले आफ्ना घरेलु उत्पादकलाई प्रदान गर्ने गरेको समर्थन र विदेशी कम्पनीमा लगाइएको प्रतिबन्ध तथा अवरोधहरू औँल्याइन् । ‘चीन महŒवपूर्ण व्यापार साझेदार हो, तर युरोपेली संघका व्यवसायीले धेरै भेदभावपूर्ण बाधाहरूको सामना गर्दै आएका छन्,’ भोन डेर लेयनले बेइजिङमा विभिन्न संगठनहरूसँगको बैठक पछि भनिन्, ‘युरोपियन कम्पनीले चीनमा धेरै योगदान गर्न सक्छन् । तर, पहिले तिनलाई लगानी गर्न र आफ्ना वस्तु तथा सेवाहरू बेच्न समान व्यवहार गरिनुपर्छ ।’ उनले पत्रकारहरूसँगको कुराकानीमा भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग अवरुद्ध व्यापार सम्झौताबारे छलफल नभएको बताइन् ।

गत वर्ष दुई खर्ब ९७ अर्ब ९० करोड युरोको वैदेशिक व्यापारका साथ, चीन निरन्तर सात वर्षदेखि जर्मनीको सबैभन्दा ठूलो व्यापार साझेदार रह्यो । तर, चीनसँग जर्मनीको व्यापार घाटा बढेको बढ्यै छ । यो प्रवृत्ति कोरोना भाइरस महामारीको कारणले आपूर्ति शृंखलाको अवरोधको समयमा झन् गम्भीर बन्यो । गत वर्षबाट चीनबाट आयात एकतिहाइले बढेर एक खर्ब ९१ अर्ब युरो पुगेको छ, जबकि निर्यात मात्र तीन प्रतिशतले बढेर एक खर्ब सात अर्ब युरो पुगेको छ ।

चीनसँग जर्मनीको लामो समयदेखि सम्बन्ध रहेको एउटा क्षेत्र वाहन उद्योग हो । जर्मन वाहन निर्माता कम्पनी बिएमडब्लु र मर्सिडिज–बेन्जलगायतले आफूले उत्पादन गरेका कुल कारको झन्डै एकतिहाइ हिस्सा चीनमा बिक्री गर्छन्, जुन सम्पूर्ण पश्चिमी युरोपको बिक्रीभन्दा बढी हो । तर, पछिल्लो तथ्यांकले जर्मन वाहनहरूले चिनियाँ बजारमा आफ्नो पकड गुमाउँदै गएको देखाएको छ । विशेषगरी चीनमा उत्पादित विद्युतीय सवारीको लोकप्रियता बढ्दै जाँदा यो प्रवृत्ति देखिएको हो ।

वाहन बिमाको दर्ता रेकर्डले गत वर्ष चीनमा बेचिएका सबै विद्युतीय सवारीमध्ये २.४ प्रतिशत मात्र फक्सवागनले बनाएको देखाउँछ । जबकि बिएमडब्लु र मर्सिडिजले एक प्रतिशत पनि बेच्न सकेनन् । तुलनात्मक रूपमा खनिज इन्धनयुक्त वाहनको क्षेत्रमा भने जर्मन ब्रान्डले चिनियाँ बजारमा प्रभुत्वलाई जारी राखेका छन्, तर तिनीहरूको लोकप्रियतालाई विद्युतीय वाहनको उदयले धक्का दिन थालेको छ । चिनियाँ इलेक्ट्रिक ब्रान्डहरू जस्तै बिवाइडी र नियो जर्मन बजारमा प्रवेश गर्दै छन्, जसले जर्मन वाहन उद्योगका सामु चुनौती खडा गरिदिएको छ । 

किल इन्स्टिच्युटले गरेको अध्ययनले चीनसँगको व्यापरिक सम्बन्ध टुटाउनु सम्पूर्ण युरोप अझ विशेषगरी जर्मनीका लागि धेरै महँगो पर्ने देखाएको छ । यस इन्स्टिच्युटले सन् २०१९ मा कुल गार्हस्थ्य उत्पादनमा आधारित रहेर गरेको गणनाले चीनसँगको व्यापारिक सम्बन्ध पूरै टुट्दा जर्मनीले एक खर्ब ३१ अर्ब युरोभन्दा बढीको आम्दानी गुमाउन सक्ने देखाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बर्लिनले प्राकृतिक ग्यासको सस्तो आपूर्ति गुमायो । ऊ यस्तो उथलपुथल अनुभवको अर्को चरणबाट गुज्रिन चाहँदैन ।

यसका लागि उसले सुरक्षा चिन्ता र आर्थिक हितलाई सन्तुलनमा कायम गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ । चान्सलर स्कोल्जका आर्थिक सल्लाहकार जोर्ग कुकिजले जर्मन र अमेरिकी व्यवसायीहरूको भेलामा यसैलाई इंगित गर्दै भनेका थिए, ‘हामी चीनप्रति सकारात्मक दृष्टिकोण राख्न चाहन्छौँ । चीनविरोधी दृष्टिकोण होइन ।’
 द न्युयोर्क टाइम्सबाट (द न्युयोर्क टाइम्सकी संवाददाता मेलिसा एडी जर्मन राजनीतिक, सामाजिक मुद्दा र संस्कृतिबारे लेख्ने गर्छिन् ।)

ad
ad