१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ३ बिहीबार २१:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:१५:oo

सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् । 

बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तीकरण मञ्चमा आबद्ध महिलाहरूको अगुवाइमा मुसहर समुदायका विद्यालय उमेरका बालबालिकाहरूलाई  सामुदायिक विद्यालयमा भर्ना गरिएको हो । 

तराई मधेसका दलित मुसहर परिवारले चरम गरिबी तथा आर्थिक अभावको कारण बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने गरेका छैनन् । मुसहर समुदायका अधिकांश विद्यालय उमेरका बालबालिका आमाबुवासँगै इँटाभट्टामा श्रम गर्न जाने गर्छन् । 

यसरी अभिभावकको साथ लागेर जाने तथा अभिभावकले समेत श्रम गर्न लैजाने प्रवृत्तिका कारण यस समुदायका अधिकांश बालबालिका पढाइबाट वञ्चित रहँदै आएका छन् । मुसहर बालबालिकाहरूलाई शिक्षित बनाउन सोही समुदायका महिलाहरू अग्रसर भएका हुन् । 

हिजोको दिनमा आफूहरूले नपढेर दुःख पाएको मुसहर महिलाहरू सशक्तीकरण मञ्चका अध्यक्ष सरिता माझीले बताइन् । ‘अब नयाँ पुस्तालाई अनपढ बनाएर दु:खी बनाउँदैनौँ,’ उनले भनिन्,  ‘बालबालिकाहरूले पढनु धेरै जरुरी छ भन्ने कुरा हामीले महसुस गरिसकेका छौँ ।’ 

उनीहरूले विद्यालय भर्नासँगै जन्मदर्ता अभियान पनि सञ्चालन गरेका छन् । कार्यक्रमअन्तर्गत श्री आधारभूत विद्यालय आनन्दनगर टाँडीमा ४० जना विद्यार्थी भर्ना गरिएको विद्यालय प्रशासनले जनाएको छ । तीमध्ये २३ छात्रा र १७ छात्र रहेको प्रधानाध्यापक हरिशरणराय यादवले जानकारी दिए। उनले यति धेरै संख्यामा मुसहर बालबालिकाहरू एकैपटक विद्यालय भर्ना भएको पहिलो हो । 

अभियानअन्तर्गत बीचैमा विद्यालय छाडेका बालबालिकालाई समेत भर्ना गरिएको थियो । अभियानमार्फत धेरै नयाँ बालबालिकाहरू भर्ना भएका समूहकी सचिव सम्झावती माझीले बताइन् । 

उनले प्रधानाध्यापक यादवसमक्ष विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिमा विद्यालय पोसाक उपलब्ध गराइदिन अनुरोध गरिन् । 

मुसहर समुदायका उनीहरू साप नेपालको आयोजनामा सञ्चालित नेपालको स्थानीय सरकारमा लैंगिक उत्तरदाय तथा सुशासन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मुसहर महिला सशक्तीकरण कार्यक्रमसँग आबद्व छन्।

उक्त कार्यक्रमअन्तर्गत बरहथवा ८, ११ र १३ मा चारवटा समूह गठन भएको छ । मुसहर महिलाहरूकै अगुवाइमा गठित समूहले बालबालिकाको जन्मदर्ता, विद्यालय भर्नालगायतका अभियान सञ्चालन गर्दै आएको छ । 

समूहको अगुवाइमा हालसम्म एक सयभन्दा बढी बालबालिकाको जन्मदर्ता भएको छ । समूहमा बचत गर्ने, आयआर्जन गर्ने, लैंगिक हिंसा, बालविवाह, जाँडरक्सी जुवातासविरुद्धको अभियानसमेत सञ्चालन हुने गरेको मुसहर महिला सम्झावती माझीले जानकारी दिइन् ।

समूहमा आबद्ध भएर विभिन्न तालिममा सहभागी भएका मुसहर महिलाहरूमा चेतनाको विकास भएको सहयोगी संस्था साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । 

देशभर सुरु भएको विद्यालय भर्ना अभियानसँगै सर्लाहीको बरहथवा, हरिपुर, चन्द्रनगर र बसबरिया मञ्चमा आबद्व मुसहर महिलाहरू आफैँले बालबालिका भर्ना अभियान सञ्चालन गरिरहेका छन् । 

ad
ad