१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:२५:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाको सानदार जित

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२५:oo

सर्वाधिक मतान्तरको रेकर्ड राख्दै चितवन २ बाट लामिछाने दोस्रोपटक अनुमोदित, कांग्रेसको गढ भत्काउँदै तनहुँ १ बाट वाग्ले निर्वाचित

चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार जित निकालेको छ । रास्वपा सभापति रवि लामिछाने सर्वाधिक मतान्तरको रेकर्ड राख्दै चितवनबाट दोस्रोपटक अनुमोदित भएका छन् भने तनहुँमा कांग्रेसको विरासत भत्काउँदै डा. स्वर्णिम वाग्लेले जित हात पारेका छन् । वाग्ले एक महिनाअघि मात्रै कांग्रेसबाट विद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका थिए ।

लामिछाने ४२ हजार नौ सय ६२ मतान्तरसहित निर्वाचित भएका छन् । उपनिर्वाचनमा कुल ७८ हजार ६ सय ६४ मत खस्दा उनले ५४ हजार एक सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाए । ७७ हजार चार सय ६६ मत सदर हुँदा एक हजार एक सय ९८ मत बदर भए । 

लामिछानेले पाँच महिनामै निकटतम प्रतिस्पर्धीसँगको मतान्तर ३४ हजार तीन सय १२ बाट बढाएर ४२ हजार नौ सय ६२ पुर्‍याएका हुन् । तेस्रो रहेका एमालेका न्यौपानेको भन्दा ४३ हजार दुई सय ४० मत धेरै पाए ।

अघिलो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार नौ सय ८८ मत पाएका थिए । अघिल्लोपटकको मतसँग तुलना गर्दा कांग्रेसको तीन हजार सात सय ७४ मत घटेको छ । त्यतिखेर एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए । यसपटक एमालेको मत तीन हजार सात सय १६ मत घटेको छ । 

उत्साहित मतदाताको भिड, विजयपछि धन्यवाद सभा र र्‍याली
४ मंसिरको निर्वाचनका वेलाजस्तै यसपटक पनि रविका समर्थक मतगणनास्थलअगाडि नाचगानसहित उत्सव मनाइरहेका थिए । गणनाकै दिनदेखि महिला दिदीबहिनी सडकमै नाचगान गरेर रमाइलो गरिरहेका भेटिन्थे । रविकै विषयमा गीत बनाएर गाउने र नाच्ने गरिरहेका उनीहरू बिहानदेखि रातिसम्म हुन्थे । 

मतगणना सकिने दिन पनि हजारौँको भिड मतगणनास्थलअघि थियो । लामिछानेले उपस्थितलाई भरतपुरको गेस्टहाउस चौरमा सम्बोधन गर्दै चितवनका मतदातालाई धन्यवाद व्यक्त गरे । सिंगो देश परिवर्तनको पक्षमा देखिएको बताउँदै उनले जनताको मतको कदर गर्दै देशको सुशासन, गरिबी, अशिक्षा, भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । उनले पहिलो वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने बताएका थिए । राम्रो कामले अर्को निर्वाचनमा आफ्नो पार्टी सरकार बनाउने गरी देशभरबाट अनुमोदित हुने बताएका थिए । युवाहरूलाई उनले आफ्नो पार्टीमा आबद्ध हुन आह्वान पनि गरेका छन् । 

१९ उम्मेदवारको जमानत जफत 
चितवनको उपनिर्वाचनका लागि चितवन २ मा दुई महिलासहित २२ उम्मेदवार थिए । यीमध्ये राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार १० जना रहे पनि १९ जनाको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले तीन सय ७५, राष्ट्रिय उन्मुक्ति पार्टीका राजेश अधिकारीले ७५, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ४७, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले एक सय १०, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले दुई सय २१, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसीले १८, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिनले ३८ र जय जन्मभूमि पार्टी नेपालका प्रेमबहादुर खड्काले ७२ मात्र मत ल्याए । 

यस्तै, स्वतन्त्रतर्फ अम्बिका भट्टले ३७, ताराप्रसाद पौडेलले दुई, भास्करचन्द्र न्यौपानेले २१, मोजराज बगालेले १६, रामकृष्ण ओझाले नौ, लक्ष्मीमाया कोइरालाले २१, विक्रम श्रेष्ठले १३, सन्तोष थापाले तीन, सुमन श्रेष्ठले १९ र सुवास परियारले १२ मत प्राप्त गरेका छन् । गत मंसिर ४ को निर्वाचनमा पनि १६ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको थियो । 

हाम्रो कामले अर्कोपटक टोलटोलमा घन्टी बज्नेछ : रवि लामिछाने, सभापति, रास्वपा

उपनिर्वाचनबाट पनि सानदार जित हासिल गर्नुभयो । मतदाताको स्नेहलाई कसरी लिनुभएको छ ?
खासमा चितवन २ मा उपनिर्वाचनको आवश्यकता नै थिएन, प्रक्रिया पूरा गर्नुपर्ने प्राविधिक कुरा मात्र थियो । आमनागरिकले सबै घटनाक्रम सूक्ष्म ढंगले नियालिरहेका थिए, आज प्रमाणित भयो । अघिल्लोपटकभन्दा पनि राम्रो नतिजा आउनु खुसीको कुरा हो । मत धेरै पाउनु भनेको धेरै जिम्मेवारी प्राप्त गर्नु हो । अरूको आलोचनाभन्दा पनि हाम्रो यात्रालाई पुनरावलोकन गरेर अझ बढी परिपक्व, जिम्मेवार र होसियार भएर अघि बढ्नु छ । 

चुनौती कस्ता देख्नुभएको छ ?
नागरिकका अपेक्षा धेरै छन् । देशमा मौलाएको बेथिति अन्त्य हुन्छ भन्ने विश्वास र आशा छ । व्यक्तिलाई होइन, सिंगो अभियानलाई आशा गरिएको हो । त्यो आशामा हामी खरो उत्रिन्छौँ, थाहा छ । तर, समयमा डेलिभरी गर्न समस्या हुन्छ कि भन्ने मात्र लागेको हो । हाम्रो समाज यस्तो छ कि असाध्यै छिटो रिजल्ट चाहिन्छ । त्यसमा निराश बनाइएला कि भन्ने डर छ । हामी जुन उद्देश्यका साथ अघि बढेका हौँ, त्यही मार्गमा हिँड्छौँ । तर, आममतदातामा त्यो धैर्यता नहोला कि भन्ने पिर लागेको छ । गहन जिम्मेवारी भएकाले गह्रौँ छ, तर हामी यसलाई उचाल्न सक्छौँ । 

सरकारलाई दिएको समर्थन अब कायमै रहन्छ कि फिर्ता लिनुहुन्छ ?
सरकारलाई दिएकोे समर्थन कायम राखिरहनुपर्ने कारण देखेको छैन, फिर्ता लिने प्रबल सम्भावना छ । हामीले पुरानो भ्रष्टाचारका फाइल खोतल्ने भनेका थियौँ । तर, हामी सरकारबाट हटेसँगै यी मुद्दा रोकिए । हाम्रा मुद्दा नै सम्बोधन नहुने भएपछि सरकारमा जानुको औचित्य देखिँदैन । यसबारे पार्टीमा छलफल हुन्छ र निर्णय लिन्छौँ ।

तपाईंहरू त सरकार अस्थिर नहोस् भन्ने चाहनुहुन्थ्यो, होइन ?
एउटा  दलले अस्थिरता नहोस् भन्ने चाहना त राख्छ । अस्थिरता नहोस् भन्दाभन्दै गलत चिजलाई बोकेर हिँड्न सकिँदैन । स्थिरता चाहन्छौँ भन्नुको अर्थ सरकारले जे पनि गर्छ र हामी समर्थन गरिरहन्छौँ भन्ने होइन । 

मतदातालाई के भन्नुहुन्छ ?
देश सधैँ बेथितिको जालमा बस्न सक्दैन भनेर परिवर्तनका लागि मत दिनुभएको छ । राजनीतिक यात्रामा हिँडेको मानिसलाई जिताउनु भनेको उसको मुद्दालाई जिताउनु हो । उसका भिजन र विचारलाई जिताउनु हो । यसरी जिताइदिनुभएकोमा आभारी छु । सबैको नेता भएर चितवनको विकासमा लाग्नेछु । यो वर्ष योजना बनाउने वर्षको रूपमा अघि बढाउने वाचापत्रअनुसार काम गर्नेछु । सबैलाई धेरै–धेरै धन्यवाद दिन्छु । हाम्रो कामले अर्कोपटक टोलटोलमा, पालिकापालिकामा, बस्तीबस्तीमा, गाउँगाउँमा, सहरसहरमा घन्टी बज्नेछ ।

तनहुँमा ढल्यो कांग्रेसको विरासत, रास्वपाका स्वर्णिम अनुमोदित

कांग्रेसको गढ मानिएको तनहुँ १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले सानदार जित निकालेका छन् । वाग्ले एक महिनाअघि मात्रै कांग्रेसबाट विद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका थिए । तनहुँ १ मा कुल ६५ हजार तीन सय १६ मत खस्दा ६४ हजार एक सय ३५ मत सदर भएको छ । जसमा वाग्ले १४ हजार सात सय ९७ को फराकिलो मतान्तरसहित विजयी भएका छन् । वाग्लेले ३४ हजार नौ सय १९ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत मात्र पाए । एमालेका सर्वेन्द्र खनाल आठ हजार चार सय ८८ मतसहित तेस्रोमा झरे । 

कांग्रेस छाडेर रास्वपामा लागेका वाग्ले आफ्नो दलको बलमा चुनाव लडेका थिए भने भट्टराईलाई सत्तागठबन्धनको साथ थियो । वाग्लले अब यो क्षेत्रको विकासमा हातेमालो गर्दै सँगसँगै हिँड्ने बताए । उनले सबैसँग मिलेर राष्ट्रिय मुद्दामा सँगसँगै उभिने बताए ।

४ मंसिरमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजार तीन सय ६१ मतसहित विजयी भएका थिए । एमालेका एकबहादुर रानाले १९ हजार नौ सय ८१ मत ल्याएका थिए । ४ मंसिरसको निर्वाचनसँग तुलना गर्दा गर्दा कांग्रेसले पाँच हजार दुई सय ३९ मत गुमाएको छ भने एमालेले ११ हजार चार सय ९३ मत गुमाएको छ । 

तनहुँ १ मा ०७४ बाहेक कांग्रेसले निरन्तर जित्दै आएको क्षेत्र हो । ०७४ एमाले र माओवादीले गठबन्धन गर्दा किसानकुमार श्रेष्ठसँग पौडेल पराजित भएका थिए । त्यसबाहेक पौडेल ६ पटक विजयी भए । तर, उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै खाली रहेको क्षेत्रमा उपनिर्वाचन हुँदा कांग्रेसले गुमाएको छ भने एमालेको जनमत पनि हलचल भएको छ ।

चुनावी कमान्डरकै वडामा कांग्रेस पराजित
तनहुँमा गठबन्धनका चुनावी कमान्डर शंकर भण्डारीकै वडामा कांग्रेस र एमालेको चुनाबी कमान्डर बनेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेकै वडामा एमाले हारेको छ । भण्डारीको गृह वडा भानु नगरपालिका– ९ मा रास्वपाले आठ सय १४ मत प्राप्त गर्दा कांग्रेसले चार सय ५६ मत मात्र पायो । त्यस्तै, न्यौपानेको भानु– ८ मा एमालेले चार सय ३७ मत ल्याउँदा वाग्लेले आठ सय ५६ मत प्राप्त गरे । यहाँ भट्टराईले चार सय ५८ मत मात्र पाए । माओवादी नेता एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानको वडा आबुखैरेनी गाउँपालिका– २ मा एक हजार तीन सय ९२ मत खस्दा भट्टराईले २३६ मत मात्र पाए । जब कि वाग्लेको पक्षमा ८८१ मत खस्यो । यहाँ एमालेले एक सय आठ मत मात्र पाएको छ । 

नौमध्ये ६ उम्मेदवारको जमानत जफत
तनहुँ १ मा उपनिर्वाचनमा उम्मेदवार रहेका नौमध्ये ६ जनाको जमानत जफत भएको छ । यहाँ रास्वपाले जित्दा कांग्रेस र एमालेले जमानत जोगाएका छन् । राप्रपाका शोभा गुरुङले दुई सय १८, नेसनल मंगोेल अर्गनाइजेसनका प्रेमबहादुर थापाले एक सय ६६, नागरिक उन्मुक्तिका भीमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच मत पाएर जमानत जोगाउन सकेनन् ।

ad
ad