१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:o३:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

संघीय राजधानी सम्साँझै सुनसान

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o३:oo

साँझ परेपछि सार्वजनिक सवारीसाधन पाउनै कठिन, महानगरसँग छैन रात्रिकालीन बस सञ्चालन योजना  

रुट जताततै, तर साँझ परेपछि गाडी जाँदैन, सुन्धारा र रत्नपार्कमा सबैभन्दा बढी भिड

साँझको सात बज्दा–नबज्दै काठमाडौंको सुन्धारासहितका बस बिसौनीहरूमा सार्वजनिक सवारीसाधन कुर्नेको भिडभाड हुन्छ । सर्वसाधारणमा गन्तव्यमा कसरी पुग्ने होला भन्ने चिन्तामिश्रित आँखा सडकबाट हट्दैनन् । उनीहरूमा एउटै मात्र ध्याउन्न हुन्छ– आफ्नो रुटको बस कतिखेर आउला र चढौँला । यही दुःखका कारण सार्वजनिक यातायात प्रयोगकर्ता ठान्छन्– उपत्यकामा साँझ नपरे पनि हुन्थ्यो । 

साँझपख धेरै जाम हुने कारण कतिपय सार्वजनिक यातायातका साधन यसवेला ट्रिप नै गर्दैनन् । कतिपय जाममा फस्छन् । साँझका वेला यात्रु धेरै सवारीसाधन कम हुने हुँदा सधैँजसो सास्ती हुने गर्छ । ‘मेरो न्युरोडमा पसल छ, साँझ सात–आठ बजेको बीचमा अलि बढी व्यापार हुन्छ, तर गाडी नपाइने भएपछि छिट्टै पसल बन्द गरेर हिँड्नुपर्ने बाध्यता छ,’ गोंगबु बस्ने सुमन लामाले सुनाए, ‘बस स्टपमा पनि गाडी चढ्न तँछाडमछाड गर्नुपर्छ, कहिलेकाहीँ त गाडी नपाएर पठाओ र ट्याक्सी चढ्नुपर्ने बाध्यता छ ।’ 

सुन्धारामा गत आइतबार कपन जाने गाडी कुरिरहेकी सुनीता खड्का पनि बस पाइँदैन कि भन्ने चिन्तामा थिइन् । निजी संस्थामा काम गर्ने उनी घर फर्कंदा साँझ पर्छ । तर, सधैँ सवारीसाधन नपाएर भौँतारिनुपर्ने बताउँछिन् । साँझ सातदेखि आठ बजेको बीचमा घर फर्कंदा सवारीसाधन नपाएर कैयौँपटक इनड्राइभ र ट्याक्सी चढ्न बाध्य भएको उनले बताइन् । 

साँझ परेपछि सार्वजनिक सवारीसाधन पाउनै कठिन
संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा साँझ परेपछि सार्वजनिक सवारीसाधन पाइँदैन । जसका कारण व्यापार–व्यवसाय, कार्यालय, उद्योगधन्दामा काम गर्नेहरू साँझ नपर्दै घर–डेरा फर्कन हतारिन्छन् । बिहान र बेलुकी ‘पिक आवर’मा चाहिनेभन्दा धेरै सवारीसाधनको भार खेपिरहेका यहाँका सडक दिन ढल्दै गएपछि पातलिँदै जान्छन् ।

भिआइपी मुभमेन्टबाहेक अन्य वेला बेलुकी आठ बजे उपत्यकाका अधिकांश सडक खाली भइसक्छन् । सामान्य अवस्थामा उपत्यकामा साँझ सात बजेदेखि सडक सुनसान बन्न थाल्छन् । व्यापार–व्यवसाय गर्नेहरू पनि हतार–हतार व्यापार बन्द गरेर घर फर्कन बाध्य हुन्छन् ।

रात्रिकालीन सवारीसाधन नहुँदा गरिखाने वर्ग मारमा

काठमाडौंको जमलमा साँझका वेला सार्वजनिक सवारीसाधन कुर्दै सर्वसाधारण । तस्बिर : संजित परियार/नयाँ पत्रिका

पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू उपत्यकामा रात्रिबस सञ्चालन नहुँदा गरिखाने वर्गलाई सास्ती भइरहेको बताउँछन् । ‘जागिर गर्नेलाई गाडी पाइँदैन कि भन्ने चिन्ता हुन्छ । यसकारण रत्नपार्कसहितका क्षेत्रबाट छुट्ने गरी ठूला बस सञ्चालन हुनुपर्छ,’ उनले भने, ‘काम गर्नेलाई सार्वजनिक व्यवस्थित यातायात चाहिन्छ ।’ उनले उपत्यकाभित्र राति १० बजेसम्म सार्वजनिक यातायात पाइने भए धेरैलाई सहज हुने बताए । 

सुन्धारा र रत्नपार्कमा सबैभन्दा बढी भिड
उपत्यकाभित्र सबैभन्दा धेरै सुन्धारा र रत्नपार्क क्षेत्रमा यात्रुको भिड हुन्छ । यहाँबाट दैनिक दुई सयभन्दा बढी बस, ६० वटा टेम्पो, ७० भन्दा धेरै माइक्रोबस, ३० भन्दा धेरै रुटका लागि छुट्ने गर्छन् । वीर अस्पतालअगाडिबाट भक्तपुर तथा काभ्रे, सुन्धाराबाट नयाँ बसपार्क, चाबहिल, बालाजु, दक्षिणकाली, कीर्तिपुरलगायत ललितपुरका सातवटा रुटका लागि बस छुट्ने गर्छन् । यस्तै, शान्तिवाटिका क्षेत्रबाट साँखु, चाबहिल, कीर्तिपुर, लगनखेललगायत रुटका लागि बस र माइक्रो बस छुट्ने गर्छन् । यी क्षेत्रमा पनि सवारीसाधन सहजै नपाइने भएपछि यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । 

‘सार्वजनिक सवारीसाधन नहुँदा निजी बढे’
यातायातविज्ञ आशिष गजुरेल सार्वजनिक सवारीसाधनको पहुँच सहज नहुँदा उपत्यकामा निजी सवारीसाधन बढिरहेको बताउँछन् । राति अबेरसम्म सार्वजनिक सवारीसाधन पाउने अवस्था भए निजी सवारीसाधनको प्रयोग घट्ने उनको विश्वास छ । ‘सार्वजनिक सवारीसाधन सहज छैन, जसका कारण सर्वसाधारण निजी सवारीसाधन किन्न बाध्य छन्,’ उनले भने ।

रुट जताततै, तर साँझ परेपछि गाडी जाँदैन 
उपत्यकामा सवारीसाधनका एक सय ६२ वटा रुट छन् । थोरै समय हिँडेर पुगिने क्षेत्रमा पनि व्यवसायीले रुट खडा गर्दा जाम बढिरहेको काठमाडौं महानगरका ट्राफिक प्रहरीविज्ञ जगतमान श्रेष्ठको भनाइ छ । उनका अनुसार मुख्य सडकबाट नजिकैका रुटहरू मात्रै पनि खारेज गर्ने हो भने ट्राफिक जाम कम हुन्छ । उनका अनुसार २७.२ किमि रिङरोडमा मात्रै चार सय ९५ वटा बस र मिनीबस गुड्छन् । यसबाहेक अन्य रुटमा एक हजारभन्दा बढी बस तथा माइक्रो बस गुड्ने गरेका छन् । जथाभावी बस रोक्ने, नियमित रुटमा नचलाउनेजस्ता कारणले पिक आवरमा सवारीसाधन पाउन कठिन हुने र जाम बढ्ने श्रेष्ठको भनाइ छ । 

महानगरसँग छैन योजना 
उपत्यकामा रात्रिबस सञ्चालन गर्नेबारे ललितपुर र काठमाडौं महानगरले योजना नै बनाएका छैनन् । राजधानीको केन्द्रमै रहेका यी स्थानीय सरकारले यातायातलाई सहज नबनाउँदा यात्रुले सास्ती खेप्नुपरेको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले रात्रिबस सञ्चालन गर्नेबारे यस वर्षको नीति तथा कार्यक्रममा योजना नभएको बताए । ‘रात्रिबस त चाहिने हो, तर कुनै कार्यक्रम हामीसँग छैन,’ उनले भने ।

ललितपुर महानगरले पनि महानगर क्षेत्रभित्र रात्रिबस सञ्चालनबारे योजना बनाएको छैन । १७ वटा विद्युतीय बस चाँडै नै सञ्चालनमा ल्याउन लागेको महानगरले रात्रिबस सेवाको योजना नरहेको जनाएको छ । महानगरका प्रवक्ता राजु महर्जनले रात्रिबस चाहिने भए पनि सञ्चालनमा धेरै झन्झट रहेको बताए । ‘कि त महानगरले आफ्नै बस चलाउनुपर्छ, कि त निजीलाई सुविधा दिएर सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘रात्रिबस सञ्चालन अलि झन्झटिलो छ ।’ 

ललितपुरका ग्रामीण रुटमा पनि सास्ती
सहरी रुटमा मात्रै होइन, यहाँका ग्रामीण रुटमा पनि सवारीसाधन नपाएर यात्रुले साँझ घर फर्कंदा हैरानी खेप्नुपर्छ । ललितपुरको लगनखेलबाट ग्रामीण भेगमा चल्ने गाडीको संख्या कम भएकै कारण यस क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको छ । 

लेले हुँदै लगनखेलसम्म बस चले पनि यस रुटको बसले चापागाउँ, सुनाकोठी, ठेचो ढोलाहिटीलगायत क्षेत्रका यात्रुलाई चढाउन मान्दैनन् । त्यस्तै, साँझपख लगनखेलबाट लेले, टीकाभैरव, गोदावरी, बुङमती, खोकना जाने बस पाउन कठिन हुने खोकनाका सुनील महर्जनले बताए । ‘साँझखप सवारीसाधन सहजै पाएर घर पुगेको रेकर्ड निकै कम छ,’ उनले  भने, ‘कहिले सवारीसाधन पाइन्छ, कोचाकोच हुन्छ, कहिले सवारीसाधन नै आउँदैन ।’ यस्तै, ललितपुर हुँदै भक्तपुर रुटमा चल्ने बस नपाउँदा पनि यात्रुलाई सास्ती हुने गरेको छ । लगनखेल–भक्तपुर रुटमा हाल ३६ वटा बस चल्छन् । 


 

ad
ad