१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १० आइतबार o८:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई गाउँपालिकाले २३ किलोमिटर सडक संयुक्त कालोपत्रे गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार o८:२८:oo

रोल्पाका दुई गाउँपालिकाले भगिनी सम्बन्ध कायम गरी विकास निर्माणमा साझेदारी गर्ने भएका छन् । जिल्लाको माडी र त्रिवेणी गाउँपालिकाले संयुक्त कार्यपालिका बैठक आयोजना गरी विविध पक्षमा साझेदारी गर्ने र त्यसको सुरुवात अन्तरपालिका सडक कालोपत्रे गरेर गर्ने दुवै गाउँपालिकाले जनाएका छन् ।

संघीय संरचनासँगै बनेका तीन तहका सरकारमध्ये जनताको घरआँगनमा रहेको स्थानीय सरकारले आ–आफ्नो पालिकामा गौरवका योजना छनोट गरी त्यसमा लगानी गरिरहेका छन् । रोल्पाका दुई गाउँपालिका गौरवका योजनाका रूपमा छनोट गरेका सडक सञ्जाललाई संयुक्त रूपमा सम्पन्न गर्न सहमत भएका छन् । माडी र त्रिवेणी गाउँपालिकाले संयुक्त कार्यपालिका बैठकको आयोजना गरी जिल्लामै महत्व राख्ने अन्तरपालिकास्तरीय सडक सञ्जाललाई कालोपत्रे गर्ने निर्णय गरेका छन् ।

पश्चिम रोल्पाका दुई ठूला व्यापारिक केन्द्र घर्तीगाउँ र जुँगार जोड्ने सडकअन्तर्गतको सीमा क्षेत्र झिनुवा छेडालाई केन्द्र मानी आगामी आर्थिक वर्षदेखि कालोपत्रे गर्ने उनीहरूले बताएका छन् । त्रिवेणी गाउँपालिकाले जुँगारदेखि र माडी गाउँपालिकाले घर्तीगाउँदेखि सीमा क्षेत्र झिनुवासम्म कालोपत्रे गर्ने बताएका छन् । घर्तीगाउँ–जुँगार सडकखण्ड कालोपत्रे गरेमा करिब दुई घन्टाको फरक पर्ने त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगर बताउँछन् ।

घर्तीगाउँ–जुँगार कालोपत्रे दुई गाउँपालिकाको गौरवको आयोजना भएको बताइएको छ । ‘हामीले यो सडक कालोपत्रे गर्ने कुरालाई गाउँपालिकाकै गौरवको आयोजना ठानेर कार्यपालिकाबाट पास गरिसकेका छौँ,’ माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले भने, ‘दुवै गाउँपालिकाको भावना मिलेको छ, यसलाई कालोपत्रे गर्ने कुरामा सबै एकमत छौँ, ढिलोमा चार वर्ष नभएर त्यसअघि नै कालोपत्रे सिध्याउने योजना छ ।’

सडक कालोपत्रे गर्न त्रिवेणी गाउँपालिकाले आगामी गाउँसभाबाटै पास गर्ने गरी बजेटको व्यवस्था गरिसकेको गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगर बताउँछन् । ‘संघ र प्रदेशबाट विनियोजित बजेटलाई कुनै एक ठाउँबाट काम गर्छौँ भने गाउँपालिकाबाट विनियोजित बजेटले आ–आफ्नै गाउँपालिकाबाट कालोपत्रे सुरु गर्छौँ,’ अध्यक्ष बाँठामगरले भने । त्रिवेणीको जुँगारबाट जगरबोट हुँदै झिनुवा पुग्न ११ किलोमिटर छ । जसमा त्रिवेणी गाउँपालिकाले जगरबोटसम्म कालोपत्रे गरिसकेको छ ।