युक्रेन युद्धपछि ऊर्जाको माग बढ्दा तेल र ग्यास बिक्रीबाट नर्वेले करिब सय अर्ब डलरको अतिरिक्त आम्दानी गर्यो
नर्वेको स्टभ्यान्जर सहर अहिले युरोपको ऊर्जा सुरक्षाका हिसाबले अग्रमोर्चामा छ । विशाल कार्यभार सम्हाल्नेमध्ये एक संस्थानको मुख्यालय एक सामान्य भवनमा छ । पेटोरो नामको सो संस्थानले नर्वेमा रहेका युरोपकै सबैभन्दा ठूलामध्येका तीन दर्जन ठूला तेल तथा प्राकृतिक ग्यास खानी सञ्चालन गर्छ । नर्वेजियन ग्यास र तेलले युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि युरोपलाई बरफ जम्ने जाडोमा घर तताउन र बिजुली उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । युक्रेन युद्धअघि रुस युरोपको ठूलो ग्यास निर्यातक मुलुक थियो । तर, युद्ध सुरु भएपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धको जवाफमा रुसले प्राकृतिक ग्यासको आपूर्ति उलेख्य घटायो । त्यसपछि उत्पन्न खाडल नर्वेले पूरा गर्यो । यस परिवर्तनपछि नर्वे युरोपको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्ता मुलुक बनेको छ ।
प्राकृतिक ग्यासका अतिरक्ति नर्वेले उसका युरोपेली छिमेकीको तेलको आवश्यकता पनि पूरा गरिरहेको छ, जुन युक्रेन युद्धअघि रुसले नै पूरा गरेको थियो । युरोपेली मुलुकले अहिले रुसी तेल निर्यात पूर्ण प्रतिबन्ध लगाएका छन् । ‘युक्रेन युद्धपछिको ऊर्जा आवश्यकता पूरा गरेर नर्वेले आफू युरोपको ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको प्रमाणित गरेको छ,’ नर्वेको पेट्रोलियम स्रोतको व्यवस्थापन गरिरहेको सरकारी कम्पनी पेटोरोकी प्रमुख कार्यकारी क्रिस्टिन फेजर्सकोभ क्र्यागसेथले भनिन् । ‘हामी सधैँ महत्वपूर्ण थियौँ, तर पहिले चिन्न सकेका थिएनौँ,’ उनले थपिन् । ५५ लाख जनसंख्याको यस राष्ट्रमा पहिलेदेखि ऊर्जाले कुल राष्ट्रिय अर्थतन्त्रको एकतिहाइ हिस्सा प्रतिनिधित्व गर्छ । र, नर्वेमा सरकारले तेल र ग्यास खानी मात्र नभएर निकासी गर्ने कम्पनीमा पनि ठूलो हिस्सेदारी राख्ने गरेको छ । युक्रेन युद्धपछि ऊर्जाको माग बढ्दा तेल र ग्यासको बिक्रीबाट नर्वेले करिब सय अर्ब डलरको अतिरिक्त आम्दानी गर्यो । नर्वेजियन अर्थतन्त्रमा खनिज इन्धनको यति ठूलो योगदानबारे आम नर्वेजियनमा मिश्रित धारणा छ । खनिज इन्धनको जलवायु परिवर्तनमाथिको प्रभावलाई लिएर एक हिस्सा यसप्रति खुसी छैन । तर, मुलुकमा थप पेट्रोलियम खानीको अन्वेषणबारे तयार देखिन्छ ।
पछिल्लो राष्ट्रिय चुनावका क्रममा अहिले ऊर्जा आपूर्ति बढेको समयमा देशले कम्तीमा केही वर्षसम्म पेट्रोलियम पदार्थको उत्पादन जारी राख्नुपर्ने धारणाले बलियो रूप लियो । ‘युद्धले (जलवायु परिवर्तनप्रति कायम) बलियो राजनीतिक भावनालाई परिवर्तन गरिदियो,’ नर्वेजियन इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स नामक अनुसन्धान संस्थाका निर्देशक उल्फ स्वरड्रपले भने । रुससँग सीमा जोडिएको नर्वे युरोपेली संघको सदस्य होइन, तर छिमेकी युरोपेली मुलुकसँग उसको सुमधुर सम्बन्ध छ । युद्ध सुरु भएपछि युरोपेली राष्ट्र (त्यसमा पनि रुसी ग्यासमाथि अत्यधिक निर्भर जर्मनी)ले मद्दतका लागि ओस्लोतर्फ आशाले हेरे ।
नर्वेले युरोपको ऊर्जा आवश्यकता पूर्ति गरेबापत अभूतपूर्व आर्थिक लाभ प्राप्त गर्यो । सन् २०२२ मा पेटोरोले करिब ५० अर्ब डलर कमायो, जुन २०२१ को भन्दा झन्डै तीन गुणा बढी हो ।
नर्वेले पहिलेदेखि नै ठूलो मात्रामा ग्यास उत्पादन गरिरहेको थियो, जसलाई उसले समुद्री पाइपलाइनमार्फत उत्तरी युरोपमा ढुवानी गथ्र्यो । तर, युद्धपछि नर्वेजियन सरकारले थप उत्पादन गर्न अनुमति दियो । ऊर्जा कम्पनीले तेलको उत्पादन घटाएर युरोपमा अभाव भएको प्राकृतिक ग्यासको उत्पादन बढायो । नतिजा गत वर्ष नर्वेको ग्यास उत्पादन आठ प्रतिशतले वृद्धि हुन पुग्यो र ऊ युरोपमा खपत हुने लगभग एकतिहाइ ग्यासको स्रोत मुलुक रह्यो । नर्वेले युरोपको ऊर्जा आवश्यकता पूर्ति गरेबापत राम्रो आर्थिक लाभ पनि पायो । सन् २०२२ मा पेटोरोले करिब ५० अर्ब डलर कमायो, जुन २०२१ को भन्दा झन्डै तीन गुणा बढी हो । अर्को सरकारी ऊर्जा उत्पादक कम्पनी इक्विनरले ७५ अर्ब डलरको रेकर्ड आय गरेको तथ्यांक सार्वजनिक गरेको छ । तेल र ग्यासबाट हुने राजस्वले सन् २०२२ मा नर्वेजियन राज्यलाई १२५ अर्ब डलर योगदान गर्यो, जुन सरकारी अनुमानअनुसार अघिल्लो वर्षको भन्दा करिब सय बिलियन डलर बढी हो ।
नर्वेले तेल र ग्यासबाट कमाउने रकमलाई १३ खर्ब डलरको सार्वभौम सम्पत्ति कोषमा प्रवाहित गर्छ, जसलाई औपचारिक रूपमा ‘गभर्नमेन्ट पेन्सन फन्ड ग्लोबल’ भनिन्छ । आलोचकहरू यसलाई ‘तेल कोष’ भन्ने गर्छन् । सरकारले आफ्नो बजेटको लगभग २० प्रतिशत वित्तपोषण गर्न यसको वार्षिक आम्दानीलाई प्रयोग गर्न सक्छ । यो व्यवस्थाले सन् २०२२ मा ३.३ प्रतिशतले बढेको नर्वेजियन अर्थतन्त्रलाई तेल र ग्यासको मूल्यमा आउन सक्ने उतारचढावबाट जोगाउन मद्दत गर्छ । तर, नर्वेजियन ऊर्जा उद्योगको अहिलेको उच्च नाफा जारी रहने हो कि होइन भन्ने प्रश्न पनि छ । युरोपमा ग्यासको मूल्य गत ग्रीष्ममा उच्च बिन्दुमा पुगेर निरन्तर घटिरहेको छ । अहिले ग्यासको मूल्य गत ग्रीष्मको आठको एक भाग मात्र भएको छ । र, युक्रेनले युद्धले युरोपमा पहिलेदेखि चलिरहेको नवीकरणीय ऊर्जातर्फको संक्रमणलाई थप तीव्र बनाउन सक्छ ।
युद्ध सुरु भएदेखि उच्च ऊर्जा आयले केही नर्वेजियनलाई रुष्ट बनाएको छ । ‘हामी त्यो नाफालाई युद्धको व्यापारबाट आएको नाफाको रूपमा लिन्छौँ’ नर्वेको एक राजनीतिक दल ग्रिन पार्टीका सांसद रासमुस ह्यान्सनले असन्तुष्टि व्यक्त गर्दै भने । उनले अहिले बढेको ऊर्जा आय युक्रेन र युद्धबाट प्रभावित अन्य देशलाई सहयोगका लागि खर्च गर्नुपर्ने सुझाव दिए । तेल तथा ग्यासको प्रमुख उत्पादक मुलुक र देशभित्रको विद्युत्को मुख्य स्रोत जलविद्युत् हुदाँहुदै पनि नर्वेजियन उपभोक्ता गत वर्ष बाँकी युरोपलाई प्रभावित बनाएको उच्च विद्युत् मूल्यबाट जोगिएनन् । त्यहाँको बजार छिमेकी मुलुकसँग जोडिएकाले यस्तो भएको हो । आगामी वर्ष पनि युरोपमा नर्वेजियन ग्यास प्रवाह उच्च रहनेछ । सन् २०२० मा, सरकारले महामारीका कारण ऊर्जा उद्योगमा लगानी नरोकियोस् भन्ने सुनिश्चित गर्न अस्थायी कर कटौती गरेको थियो । यस प्रोत्साहनले नयाँ उत्खनन र विकासमा अनुमानित ४३ अर्ब डलरको लगानी भित्र्यायो ।
सरकारको एक अध्ययनले नर्वेजियन तेल र ग्यास उत्पादन यस दशकको अन्त्यतिर उच्च बिन्दुमा पुगेर लामो ह्रास सामना गर्ने देखाएको छ । तर, नर्वेले युरोपलाई एक सीमाभन्दा बढी ग्यास आपूर्ति गर्न सक्ने क्षमतामा भने शंका छ । विद्यमान पाइप सञ्जालबाट नर्वेले युरोपेली मुलुकमा ग्यास आपूर्ति निश्चित परिणाममा मात्र बढाउन सक्छ । र, त्यहाँका ऊर्जा कम्पनीमै पनि थप पाइपलाइन निर्माण गर्ने विषयप्रति त्यति उत्साह देखिँदैन । पाइपलाइनले लगानी उठाउन ती कम्तीमा २० वर्ष सञ्चालन हुन आवश्यक हुन्छ । अर्कोतर्फ नर्वेभित्र हरितगृह ग्यास उत्सर्जन घटाउन र तेल तथा ग्यास उद्योगको आकार घटाउनुपर्ने दबाब उच्च छ । ग्रिन पार्टीका विधायक ह्यान्सनले जलवायुको सुरक्षाका लागि नर्वेले सन् २०३५ सम्म खनिज इन्धनलाई ‘फेज आउट’ गर्नुपर्ने बताए ।
वातावरणीय समूह पनि युद्धले सिर्जना गरेको कठिनाइका कारण प्राकृतिक ग्यास उत्पादनको वृद्धि हाल आवश्यक भएको स्वीकार गर्छन् । तर उनीहरू सरकारले युद्धको बहानामा नयाँ तेल र ग्यास खानी विकास गर्न नहुने जोड दिन्छन् । अधिकांश युरोपेली देशले जस्तै नर्वेले पनि स्वच्छ ऊर्जातर्फको संक्रमणमा काम गरिरहेको छ । तेल र ग्यास उद्योगले समुद्र तटका विन्ड मिल (वायु ऊर्जाका लागि) फार्ममा लगानी गरिरहेको छ । साथै ती कम्पनीले कच्चा खनिज ऊर्जा उत्खनन् गर्ने उपकरणमा ग्यास वा डिजेलको सट्टा बिजुलीको प्रयोग गरेर उत्जर्सन केही घटाउने प्रयास गरिरहेका छन् । तर, यस संक्रमणले ऊर्जा उद्योगका केही मानिसलाई भने चिन्तित बनाएको छ । उनीहरू नवीकरणीय प्रविधि क्षेत्रले अहिले तेल र ग्यास उद्योगले देशका करिब ६ प्रतिशत श्रमशक्तिलाई राम्रो ज्यालासहितका रोजगारी दिएजस्तै अवस्था सिर्जना गर्न सक्नेमा शंका गर्छन् । १२ हजार ऊर्जा श्रमिकको प्रतिनिधित्व गर्ने युनियन एसएएफईकी नेतृ हिल्ड–मृट रिस्टका अनुसार नवीकरणीय ऊर्जा उद्योगले भन्दा पेट्रोलियम उद्योगले बढी तलब दिन्छन् ।
पुराना काठका घर भएको सुन्दर सहर स्टभ्यान्जर ५० वर्षदेखि नर्वेको तेल र ग्यास उत्पादनको केन्द्र रहँदै आएको छ । सन् २०१४ मा तेलको मूल्यमा आएको उच्च ह्रास र त्यसपछि महामारीको समयमा यहाँ उल्लेख्य रोजगारी गुमे पनि पछिल्लो समय नयाँ लगानीले सहरलाई पुनर्जीवित गरेको छ । सहरकी मेयर कारी नेसा नोर्डटुन भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि तयार देखिन्छिन् । ‘म आफैँ तेल उद्योगमा काम गर्ने परिवारमा हुर्किएँ र यस कुरामा मलाई गर्व छ’ नोर्डटुनले भनिन् । उनले कुनै समय तेल क्षेत्रमा मात्र संलग्न कम्पनी नवीकरणीय ऊर्जातर्फ केन्द्रित हुन लगोकोप्रति खुसी व्यक्त गरिन् । स्ट्भ्यान्जर क्षेत्रका खनिज इन्धनसम्बन्धी उद्योगमा करिब ५० हजार मानिस काम गर्छन्, जबकि हरित ऊर्जा क्षेत्रमा लगभग एक हजार मात्र कार्यरत छन् । विश्लेषकहरू नर्वे सरकार व्यावहारिक रहेको र उसले देशको ऊर्जा उद्योगलाई युरोपेली संघको ऊर्जा नीति र जर्मनीजस्ता मुलुकको मागअनुरूप अघि बढाउनेमा विश्वस्त छन् । ‘नर्वेको भविष्यका लागि हामी युरोपको भावी ऊर्जा प्रणालीमा एकाकार हुनुपर्छ,’ नर्वेजियन इन्स्टिच्युट फर इन्टरनेसनल अफेयर्सका निर्देशक स्वरड्रपले भने ।
स्टेनली रिड द न्युयोर्क टाइम्सका ऊर्जा, वातावरण र मध्यपूर्व विषयका लेखक हुन् ।
द न्युयोर्क टाइम्सबाट