Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख ९ शनिबार ०८:४८:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा शतक बनाउने नेपाली क्रिकेटर

Read Time : > 3 मिनेट
२०८० बैशाख ९ शनिबार ०८:४८:००

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुशल मल्लले ओमानविरुद्ध कीर्तिमानी रूपमा छिटो शतकीय इनिङ खेलेका छन् । नेपालको एकदिवसीय खेलको इतिहासमा शतक लगाउने उनी छैटौँ ब्याट्सम्यान हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सको सिरिजसँगै नेपालले एकदिवसीय यात्रा थालनी गरेको हो । यो पाँच वर्षमा नेपालले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय एकदिवसीय खेलसमेत पूरा गर्‍यो । यस यात्राका क्रममा नेपालले चार कप्तान पाएको छ । एकदिवसीय खेलमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय शतक लगाउने पूर्वकप्तान पारस खड्का हुन् । नेपाली खेलाडीले पपुवा न्युगिनीविरुद्ध मात्र तीन शतक लगाएका छन् । पारसले आफ्नो छैटौँ एकदिवसीय खेलमा युएईविरुद्ध शतक ठोकेका थिए । वर्तमान कप्तान रोहितकुमार पौडेलले पपुवा न्युगिनीविरुद्ध व्यक्तिगत सर्वाधिक एक सय २६ रन जोडेका थिए । नेपालका लागि अहिलेसम्म शतकीय इनिङ्स खेलेका खेलाडी यस्ता छन् । 

रोहितकुमार पौडेल १२६ रन (पपुवा न्युगिनीविरुद्ध) 

कप्तान रोहित नेपालको एकदिवसीय खेलमा व्यक्तिगत धेरै रन प्रहार गर्ने ब्याट्सम्यानमा पर्छन् । मार्च २५ मा पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिजको एक सय २६ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले आफ्नो व्यक्तिगत कीर्तिमानी रेकर्ड राख्ने क्रममा सात चौका र चार छक्का प्रहार गरेका थिए । 

रोहितले पपुवा न्युगिनीविरुद्ध लक्ष्य पछ्याउने क्रममा शतक बनाएका थिए । सो खेलमा उनले १११.७५ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । उनले शतकीय इनिङ्स खेले पनि नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित भएको थियो । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका रोहितले अहिलेसम्म ४४ इनिङ्स खेलेका छन् । पाँचपटक नटआउट रहेका उनले एक हजार तीन सय २५ एकदिवसीय रन बटुलेका छन् । एकदिवसीय खेलमा उनले १,७२३ बल सामना गर्दा ३३.९७ औसतमा ब्याटिङ गरेका छन् । उनले पाँच वर्षभित्र आठ अर्धशतकीय योगदान दिँदा एक सय एक चौका र २३ छक्का प्रहार गरेका छन् । गत वर्ष मात्र रोहितले नेपाली टोलीको कप्तानी जिम्मेवारी पाएका थिए । 

पारस खड्का ११५ रन (युएईविरुद्ध)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का रोलमोडल नै हुन् । पारसकै कप्तानमा नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक रूपमा पहिलो एकदिवसीय सिरिज खेलेको थियो । डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका पारस नेपालका लािग पहिलो एकदिवसीय शतक बनाउने खेलाडी हुन् । उनले एकपटक नटआउट इनिङ्स खेलेर १० एकदिवसीय खेलमा व्यक्तिगत तीन सय १५ रन बनाएका छन् । 

उनले नेपालको क्रिकेट इतिहासमा सन् २०१९ को २८ जनवरीमा युएईविरुद्ध एक सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए । शतक लगाउने क्रममा उनले एक सय नौ बलको सामना गरेका थिए । उनले युएईविरुद्धको खेलमा १५ चौका र एक छक्का प्रहार गरे । पारसले पनि लक्ष्य पछ्याएको इनिङ्समै शतक लगाए । उनले आफ्नो छोटो एकदिवसीय यात्रामा एक अर्धशतक पनि लगाएका छन् । उनले तीन सय ९८ बल सामना गर्दा ७९.१४ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । पारसले समग्रमा एकदिवसीय खेलमा ४० चौका र पाँच छक्का प्रहार गरेका छन् । 

कुशल भुर्तेल ११५ रन (नामिबियाविरुद्ध)
नेपालका ओपनर कुशल भुर्तेलको ब्याटिङमा उतारचढाव देखिन्छ । उत्कृष्ट फर्ममा रहँदा उनको ब्याटिङ हेर्न लायक हुन्छ । शुक्रबार ओमानसँगको खेलमा शून्य रनमा आउट भएका उनले आफ्नो एकदिवसीय करिअरमा शतकीय इनिङ्स खेलेका छन् । सन् २०२३ को १४ फेब्रुअरीमा आइसिसी विश्वकप लिग–२ को खेलमा उनले नामिबियाविरुद्ध एक सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले यसक्रममा एक सय १३ बल सामना गरी १० चौका र चार छक्का प्रहार गरेका थिए । अहिलेसम्म ३७ एकदिवसीयमा ३६ इनिङ्समा ब्याटिङ गर्ने अवसर पाएका उनले पाँच अर्धशतक पनि बनाएका छन् । उनले एकदिवसीय खेलमा सात सय ७२ रन बनाएका छन् । ७५ चौका र १७ छक्का प्रहार गरेका कुशलको ब्याटिङ स्ट्राइक ८०.५० रनको छ ।  

आसिफ सेख ११० रन (पपुवा न्युगिनीविरुद्ध)

सन् २०२१ को ७ सेप्टेम्बरमा आसिफले पपुवा न्युगिनीविरुद्ध एकदिवसीय खेलमा डेब्यु अवसर पाए । डेब्यु खेलमा उनले ३० रन जोडेका थिए । उनलाई एक भरपर्दा ओपनर ब्याट्सम्यानका रूपमा लिन सकिन्छ । उनले पनि नेपालका लागि एकदिवसीय शतक बनाएका छन् । कीर्तिपुर मैदानमा २०२३ मार्च  ९ मा उनले एक सय १० रनको उत्कृष्ट योगदान दिए । उनले १२ चौका र दुई छक्का प्रहार गरेका थिए । यस खेलमा नेपाल ४९.१ ओभरमा दुई सय ९७ रनमा अलआउट भयो । नेपालले पपुवा न्युगिनीमाथि ५२ रनको जित निकालेको थियो । अहिलेसम्म ३६ एकदिवसीय खेल खेलेका उनले एक हजार ७३ रन बनाएका छन् । तीनपटक नटआउट रहेका आसिफले आठ अर्धशतक बनाएका छन् । एक सय २१ चौका र ११ छक्का प्रहार गर्ने क्रममा १३ सय ६७ बलको सामना गरेका छन् । 

दीपेन्द्रसिंह ऐरी १०५ रन (पपुवा न्युगिनीविरुद्ध)
मध्यक्रमका ब्याट्सम्यान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले राष्ट्रिय टोलीबाट निरन्तर एकदिवसीय तथा टी–२० खेल खेलिरहेका छन् । ब्याटिङमा असफल रहँदा उनी बलिङमा कहिलेकाहीँ चमत्कारी प्रदर्शन गर्छन् । उनले पनि सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध नै एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले पनि नेपालका लागि एकदिवसीय खेलमा शतकीय खेल खेलेका छन् । उनले सन् २०२२ मार्च २६ मा पपुवा न्युगिनीविरुद्धका एकदिवसीय सिरिजमा एक सय पाँच रनको शतकीय इनिङ्स खेलेका थिए । पपुवा न्युगिनीविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालका लागि उनले एक सय ४० बलमा सात चौका प्रहार गरेका थिए । उनकै उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । पपुवा न्युगिनीले नेपालमाथि तीन विकेटको जित निकाल्यो । उनले ४३ इनिङ्समा चारपटक नटआउट रही समग्रमा ६ सय ९६ रन बनाएका छन् । दुई अर्धशतक बनाएका दीपेन्द्रसिंहले ६० चौका र आठ छक्का प्रहार गरेका छन् ।