१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : नयाँ पत्रिका
मुना कुँवर काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ०९:३६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा महिलालाई ओमान लगेर १२ लाखमा बिक्री 

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ०९:३६:००

मध्यपूर्वदेखि अस्ट्रेलिया र अमेरिकासम्म नेपाली कामदारको तस्करी, सजिलै उम्कन्छन् एजेन्टहरू

वैदेशिक रोजगारीको प्रलोभनमा एक महिलालाई ओमान लगेर करिब १२ लाख रुपैयाँ बिक्री गरिएको छ । मानव बेचबिखनमा संलग्न समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा दुबई हुँदै ओमान लगेर घरेलु कामदारका रूपमा बिक्री गरेको हो । हालै उद्धार गरिएकी ती महिलालाई ओमान पुर्‍याउन भूमिका खेल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेको हो । 

एसएसपी जीवनकुमार श्रेष्ठ, मानव बेचबिखन अनुसन्धान ब्युरो
मध्यपूर्वका देशमा धेरै महिला यसरी रोजगारीको प्रलोभनमा बेचिएका छन् । भिजिट भिसामा हुने मानव तस्करीको समस्या बढ्दै गएको छ ।

उनीहरूले २१ माघमा ती महिलालाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । त्यहाँ केही दिन कम्पनीमा राखेर उनीहरूले ओमानी घरमालिकलाई बिक्री गरेका थिए । तीन हजार पाँच सय ओमानी रियाल (करिब १२ लाख नेपाली रुपैयाँ)मा त्यहाँका एजेन्टले बिक्री गरेको पीडितले बताएकी छिन् ।

घरेलु कामदारका रूपमा उनलाई बिक्री गरिएको थियो । जहाँ दिनमा २२ घन्टासम्म काम गर्न लगाएर शारीरिक तथा मानसिक शोषण भएको पीडितले बताएकी छिन् । खान पनि राम्रोसँग नदिएको र शोषण भएपछि ती महिला बिरामी भएकी थिइन् । पछि एजेन्टले कम्पनीमा फिर्ता गरेको थियो । त्यही क्रममा उनी कम्पनीबाट भागेर ओमानस्थित नेपाली दूतावासमा पुगी परिवारको सहयोगमा स्वदेश फर्किएकी हुन् । ‘यो त प्रनिनिधिमूलक घटना मात्र हो, खाडी देशमा धेरै महिला यसरी रोजगारीको प्रलोभनमा बेचिएका छन्,’ एसएसपी श्रेष्ठले भने, ‘भिजिट भिसामा हुने मानव तस्करीको समस्या बढ्दै गएको छ ।’ त्यसरी बिक्री भएका महिलालाई तलबसमेत दिइँदैन । त्यहाँ काम गर्दिनँ भन्दा आफूले किनेको पैसा फिर्ता दिएपछि मात्र जान दिने गरिएको ब्युरोका एसपी कृष्णप्रसाद पंगेनी बताउँछन् । कतिपय महिलाको दूतावासको सहयोगमा उद्धार हुने गरेको छ भने केही भागेर स्वदेश फर्कने गरेका छन् । यसअघि पनि केही महिलाको यसरी उद्धार भइसकेको छ । 

रोजगारीको उद्देश्यले भिजिट भिसामा विदेश जानेले प्रहरीलाई झुक्याउन नक्कली श्रम स्वीकृत बनाउन थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन ५६ जना नक्कली श्रम स्वीकृतिसहित पक्राउ परेका छन् । गत २७ चैतमा प्रहरीले खाडी देश जान लागेकामाथि छानबिन गर्दा ५६ जनाको नक्कली श्रम स्वीकृति भेटिएको हो । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बुझाएको छ । ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार यसरी जान लागेकामा महिलाको संख्या ठूलो छ । ‘भिजिट भिसामा हुने मानव तस्करी रोक्न विमानस्थलमा हाम्रो टोली पनि खटिँदै आएको छ,’ उनले भने, ‘चेकजाँचका क्रममा एकै दिन ५६ जनाको नक्कली श्रम स्वीकृति भेटियो, यसमा सिआइबीले थप अनुसन्धान गरिरहेको छ ।’ 

अध्यागमनका कर्मचारीले श्रम स्वीकृत सहजै पहिचान गर्न सक्छन् । तर, प्रहरीलाई त्यसबारे विस्तृत जानकारी नहुने भएकाले प्रहरीलाई झुक्याउन उनीहरूले त्यसरी श्रम स्वीकृतिको नक्कली पत्र तयार गरेका हुन् । भिजिट भिसामा विदेश पठाउने गिरोहले नै नक्कली श्रम स्वीकृति बनाइदिएको आकलन गरिएको छ । खाडी देशमा घरेलु कामदारका लागि महिलालाई प्रतिबन्ध छ । तर, घरेलु कामदारकै रूपमा महिलाको माग भएकाले भिजिट भिसामा लगेर काममा लगाइने गरिएको छ । त्यसरी कुवेत, ओमान, सिरिया तथा इराकमा लगेर कतिपय महिला बेचिने गरेको एसएसपी श्रेष्ठ बताउँछन् । घरेलु काममा लगाइएका महिला त्यहाँ बन्धक हुने र त्यहाँ शोषणमा समेत पर्ने गरेका घटना छन् । सोही कारण प्रहरीले भिजिट भिसामा कडाइ गर्दै आएको छ । एक वर्षमा करिब तीन हजारलाई प्रहरीले पक्राउ गरे पनि भिजिट भिसाका मुख्य नाइके भने पक्राउ परेका छैनन् । पीडितले नै उजुरी नदिने प्रवृत्तिले भिजिट भिसामा हुने मानव बेचबिखन धन्दा रोकिएको छैन । 

अमेरिका लैजान लागिएका नेपाली ब्राजिल, घाना र इथियोपियामा अलपत्र 

अमेरिका लैजाने प्रलोभनमा एजेन्टको विश्वासमा परेका नेपालीहरू विभिन्न देशमा अलपत्र परेका छन् । ब्राजिल, इथियोपिया तथा घाना पुगेका नेपाली समस्यामा परेका छन् । उनीहरूले उद्धारका लागि आग्रह गरेका छन् । घाना तथा इथियोपिया पुगेका नेपालीको पासपोर्टसमेत एजेन्टले कब्जामा लिएपछि समस्या भएको सूचना प्राप्त भएको मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठले बताए । त्यस्तै, ब्राजिलमा नौजना नेपाली त्यहाँ समस्यामा परेको सूचना प्रहरीले पाएको छ । दक्षिणी अमेरिकी देश हुँदै अवैध रूपमा अमेरिका छिराउने प्रलोभनमा एजेन्टले ठग्ने गर्दछन् । यस क्रममा कतिपयले बाटैमा समेत ज्यान गुमाउने गरेका छन् ।

आप्रवासी कामदारका लागि नेपालीलाई १२ वटा मुलुक हुँदै अमेरिकासम्म पुर्‍याइने गरेकोे मानव अधिकार आयोगको प्रतिवेदन उल्लेख छ । आयोगको प्रतिवेदनअनुसार एजेन्टहरूले कुवेत, कुर्दिस्तान, इराक, अजरबैजन, लिबिया, अमेरिका, रसिया, क्यानडा, पोल्यान्ड, इटाली, जापान, नर्वे, अस्ट्रेलिया र पोर्चुगललगायतका मुलुकमा नेपाली नागरिक तस्करी गर्ने गरेका छन् । अमेरिकाका लागि एजेन्टहरूले काठमाडौंदेखि दुबई, मस्को, इटाली, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिया, निकारगुवा, होन्डोरस, मेक्सिको रुट प्रयोग गर्ने गरेका छन् । क्यानडा जान नेपालबाट नयाँदिल्ली, सिंगापुर, फिलिपिन्स, पपुवा न्युगिनी, सोलोमन आइसल्यान्ड, भानुअतु, सोलोमन आइसल्यान्ड, फिजी, सिंगापुर, दुबई नेपाल नै डिपोर्ट हुने गरेको प्रतिवेदनमा छ । अस्ट्रेलियाका लागि एजेन्टले मलेसिया र इन्डोनेसियासम्म लैजाने गरेका छन् । पोर्चुगलका लागि नेपालबाट नयाँदिल्ली, मलेसिया, मोरोक्को, निगारियासम्म लैजाने गरेको प्रतिवेदनमा छ । नर्वेका लागि काठमाडौंदेखि नयाँदिल्ली, मोजाम्बिक हुँदै दक्षिण अफ्रिकासम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंदेखि मध्यपूर्वका रेस्टुरेन्टमा बेचिन्छन् महिला 
मानव तस्करले नेपाली महिलालाई काठमाडौंदेखि मध्यपूर्वका रेस्टुरेस्ट तथा डान्स बारसम्म पुर्‍याउने गरेका छन् । गाउँबाट राम्रो जागिर लगाइदिने प्रलोभन देखाई काठमाडौं ल्याएर फ्ल्याट र घर भाडामा लिई वेश्यावृत्ति व्यवसायमा समेत लगाउने गरेको पाइएको आयोगको प्रतिवेदनमा छ । एजेन्टहरूले गैरकानुनी बाटोको प्रयोग गर्ने हुँदा यस्ता घटनाको जानकारी पाउन नसकिने वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । यसअघि एजेन्टहरूले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई, मलेसिया, थाइल्यान्डलगायत देश हुँदै विश्वका विभिन्न मुलुक पुर्‍याउँथे । भिजिट भिसामा सरकारले कडाइ गरेपछि एजेन्टहरूले दिल्ली विमानस्थलको प्रयोग गर्न थाले । भारत सरकारले पनि भिजिट भिसामा जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेपछि अहिले एजेन्टहरूले श्रीलंका, बंगलादेशलगायत देश प्रयोग गर्ने गरेको उनले बताए । यस्तो केसमा विभागले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाउने नसक्ने आचार्यको भनाइ छ । विभागले श्रम स्वीकृति लिएर गएका कामदारको हकमा मात्रै कारबाही गर्छ । तर, एजेन्टमार्फत जाने नेपालीले रकम भुक्तानी गरेको समेत प्रमाण नहुने हुँदा यस्ता एजेन्टहरू सजिलै उम्कने गरेको उनको भनाइ छ ।