सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गरेकाे हाे ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई अनुराेध गरेका छन् ।
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ ।
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र ०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।