Skip This
सुडान शक्ति संघर्ष : मर्नेको संख्या दुई सय पुग्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सुडान शक्ति संघर्ष : मर्नेको संख्या दुई सय पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:४o:oo

 सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सयजनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ ।

भीषण युद्धका कारण अस्पताल क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ । अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासनसत्ता सञ्चालन गरेका तो ओमार अल बासिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले लिएको उग्ररूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानमा नागरिक शासन कसरी पुनस्र्थापना गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्किने चेतावनी विश्लेषकहरूले दिएका छन् । युद्धविरामका लागि क्षेत्रीय एवम् विश्वव्यापी रूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई बेवास्ता गरेका छन् । विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् । तर, त्यसको सुनुवाइ भएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले द्वन्द्वरत दुवै पक्षका सेना प्रमुखसँग मंगलबार टेलिफोन गरी तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । साथै, उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससहित बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले खार्तुमबाट अमेरिकी कर्मचारीलाई उद्धार गर्ने कुनै योजना नरहेको बताएका छन् । हाल खार्तुम विमानस्थल बन्द छ भने सुरक्षा चासो बढेको छ । सोमबार खार्तुमको मुख्य विमानस्थलमाथि धुवाँको बादल देखिएको थियो भने टेलिभिजनमा आगो र विस्फोटका दृश्य प्रसारण गरिएका थिए ।

ad
ad