मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
यम बम काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०६:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तराईमा चल्न थाल्यो लु, पहाडमा पनि बढ्यो तापक्रम 

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०६:०५:००

तराईमा तातो हावा ‘लु’ चल्न थालेको छ । उच्चचापीय प्रणालीका कारण वायुमण्डल स्थिर भएर मौसमी गतिविधि ठप्प हुनुका साथै वनजंगलमा लागेको डढेलो र तुवाँलोका कारण मुलुकभरको अधिकतम तापक्रम उकालो लागेको छ । 

तराईका धेरै ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ । कपिलवस्तु, रुपन्देही, पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरी र सिराहा क्षेत्रमा त अधिकतम तापक्रम ४०–४१ डिग्री पुगेको छ । जसकारण दिउँसो तातो हावा चल्न थालेको छ । मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पछिल्लो चार–पाँच दिनदेखि हल्का र मध्ययमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । तर, केही ठाउँमा चेतावनीको स्तर पार गरेर विषमस्तरको लु चल्न थालेको छ ।

‘हिउँद सुक्खा रह्यो, प्रिमनसुनमा पनि धेरै पानी परेको छैन,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘मौसमी गतिविधि नहुनु र डढेलो, प्रदूषणका कारण पनि तापक्रम बढिरहेको हो । दिउँसोपख तराईमा तातो हावा चल्न थालेको छ ।’ सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु (तातो हावा) चल्न थाल्छ । तर, कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा लु चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ ।

मध्य तराईमा विषम लु
जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराईका सिराहा, जनकपुर, सिमरा, लहानलगायत ठाउँमा अधिकतम तापक्रम चेतावनीको स्तर पार गरेर विषम लु चल्न थालेको छ । सिराहाको कर्मैयामा मंगलबार अधिकतम तापक्रम ४१.४ डिग्री छ । शुक्रबार ३७.४, शनिबार ३८.९, आइतबार ४०.५ र सोमबार ४१.१ डिग्री तापक्रम मापन भएको थियो । यस क्षेत्रमा वैशाख पहिलो साता अधिकतम तापक्रम ३७.५ पुग्दा लु चल्न थालेको मानिन्छ भने ४०.५ नाघ्दा विषम लु चलेको मानिन्छ ।

लु चलेको क्षेत्र जनकपुरमा सोमबार अधिकतम तापक्रम ४०.५ डिग्री रहेकामा मंगलबार ४०.८ पुगेको छ । यहाँ आइतबार ३९.६ डिग्री तापक्रम थियो । यस अवधिमा जनकपुुरमा अधिकतम तापक्रम ४० पुग्दा विषम लु मानिन्छ । लहानमा विषम लु चलेको छ, त्यहाँ अधिकतम तापक्रम ४० डिग्री पुगेको छ । 
इलामस्थित कन्याम चिया बगानमा रहेको मापन केन्द्रमा मंगलबार २७.५ डिग्री तापक्रम मापन भएको छ । त्यहाँ सोमबार २७.३ डिग्री तापक्रम थियो । यो अवधिमा त्यहाँ २७ डिग्री नाघ्दा लु चलेको भनिन्छ ।

भैरहवा, नेपालगन्ज, धनगढी क्षेत्रमा पनि लु चल्न थालेको छ । तर, विषम स्थितिमा पुगिसकेको छैन । मंगलबार धनगढीको अधिकतम तापक्रम ३८.२, नेपालगन्जको ४०.६, भैरहवाको ४२.२, सिमराको ४०.३ र विराटनगरको ३८ डिग्री पुगेको छ । 

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा पनि पछिल्ला दशकमा लु बढिरहेको छ । कुन स्तरमा लु बढिरहेको छ भनेर सरकारी अध्ययन भने भएको छैन । छिमेकी भारतमा भने लु अर्थात् तातो हावाको घटना प्रतिदशक ०.६ घटनाका दरले बढिरहेको पाइएको छ । तर, शीतलहर भने हरेक दशकमा ०.४ घटनाले कमी आइरहेको छ । 

हैदराबाद विश्वविद्यालययका अध्ययनकर्ताले गरेको अध्ययनअनुसार लु शुष्क र अर्धशुष्क जलवायु क्षेत्रमा अधिक पाइएको हो । पूर्वऔद्योगिक युगपश्चात् विश्वको औसत तापमान करिब एक डिग्रीले वृद्धि भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वृद्धिको दर वार्षिक अधिकतम ०.०५६ डिग्री र न्यूनतम ०.००२ डिग्री रहेको छ । 

पहाडी क्षेत्रमा पनि बढ्यो तापक्रम 
तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढ्न थालेको छ । विभागका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२.७ डिग्री पुगेको छ, यहाँ सोमबार मात्र २८.२ डिग्री मापन भएको थियो । काठमाडौंमा यस अवधिमा २९.९२ डिग्री पुग्नु औसतभन्दा बढी तापक्रम हो । 

विभागका अनुसार मंगलबार दिपायलको अधिकतम तापक्रम ३८.२, वीरेन्द्रनगरको ३८.१, घोराहीको ३७.६, पोखराको ३३.४ र ओखलढुंगाको २७.२ डिग्री तापक्रम पुगेको छ । 

तापक्रम उकालो लागिरहेको छ, तर वर्षा भने हुन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि तत्काल वर्षाको सम्भावना छैन । यद्यपि, बुधबार मुलुकका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना भने छ ।

भैरहवाको अधिकतम तापक्रम मंगलबार ४२.२ डिग्री पुगेको छ
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार अधिकतम तापक्रम सिराहाको कर्मैयामा ४१.४, जनकपुरमा ४०.८, लहानमा ४०, धनगढीमा ३८.२, नेपालगन्जमा ४०.६, भैरहवामा ४२.२, सिमरामा ४०.३ र विराटनगरमा ३८ डिग्री पुगेको छ । जनकपुुरमा अधिकतम तापक्रम ४० पुग्दा विषम लु मानिन्छ । त्यस्तै, दिपायलको अधिकतम तापक्रम ३८.२, वीरेन्द्रनगरको ३८.१, घोराहीको ३७.६, पोखराको ३३.४ र ओखलढुंगाको २७.२ डिग्री तापक्रम पुगेको छ । इलामको कन्याम चिया बगानमा रहेको मापन केन्द्रमा मंगलबार २७.५ डिग्री तापक्रम मापन भएको छ । यो अवधिमा कन्याममा २७ डिग्री नाघ्दा लु चलेको भनिन्छ ।