
धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ। तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।
बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए। पाँचथरको तुम्बेवा गाउँपालिका–२ सिसौबोट नजिकैबाट पौडिएर उनी नदी पारी गएका थिए। पारिबाट वारि काम गर्दै आएको स्थानमा फर्कने क्रममा उनलाई नदीले बगाएको चौबिसे गाउँपालिका–४ का वडाध्यक्ष लोकेन्द्र मगरले बताए। पौडी खेल्न उनी एक्लै गएका थिए।
मगरलाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीयवासीहरूले खोजी जारी राखेका छन्। मगरको एक छोरी र श्रीमती छन्।