
नेपाली सेनाले मंगलबार सैनिक आचासंहिता २०८० कार्यक्रम सुरु गरेको छ। दुईदिने कार्यक्रममा सेनाले सकल दर्जालाई पदमा बहाल रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचरणबारे प्रशिक्षण दिनेछ।
सैनिक आचारसंहिता संग्रह २०७६ मा उल्लेखित विषयमा प्रशिक्षित गर्न थालिएको सेनाले जनाएको छ । सैनिक आचारसंहिता कार्यक्रम २०८० मंगलबार सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले शुभारम्भ गरे । उनले कार्यक्रममार्फत नेपाली सेनाको सबै तहका कमान्डरलगायत तल्लो तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि हुने र एक–आपसमा विश्वासको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
सेनाका सकल दर्जालाई अझै अनुशासित, नैतिकवान र व्यावसायिक फौजको रूपमा स्थापित गर्न मद्दत पुग्ने उनले बताए। सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेसेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको पनि खड्काको भनाइ थियो।
सेनाका सकल दर्जाले आफ्नो आचरण मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउँदै उनले सबै सैनिक सदस्यले स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।