
नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
शुक्रबार बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए ।
केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुईतर्फी मूल्य पाँच सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि तीन सय ३०, विद्यार्थीका लागि ४ चार सय १५, ज्येष्ठ नागरिकका लागि चार सय १५ र फरक क्षमता भएकाहरूका लागि दुई सय ७५ रुपैयाँको टिकटदर राखेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बच्चाबच्चीका लागि निःशुल्क सेवा दिने जनाएको छ ।