१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०९:१८:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

०७९ मा अपराध : सामूहिक हत्यादेखि आत्मदाहसम्मका घटना

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०९:१८:००

घटना १ : सौन्दर्य प्रतियोगिताका नाममा शोषण
गत जेठको पहिलो साता सामाजिक सञ्जालमा ‘भाइरल’ एक युवतीको भिडियो सार्वजनिक भयो । जसमा युवती सौन्दर्य प्रतियोगिताका आयोजकबाट पटक–पटक बलात्कृत भएको खुलासा गरिएको थियो । उनले दोषीलाई कारबाहीको माग पनि गर्दै थिइन् । युवतीले सामाजिक सञ्जालमार्फत सहानुभूति मात्रै पाइनन्, दोषीलाई कारबाही गर्नसमेत दबाब सिर्जना भयो । प्रहरीले घटनामा संलग्न मोडेल भिषाज् कल्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ जेठमा पक्राउ गर्‍यो । त्यो आठ वर्षअघिको घटना थियो । पीडित युवतीका अनुसार मनोजले सौन्दर्य प्रतियोगिताका नाममा युवती जम्मा गर्थे । यही क्रममा पीडित युवती पनि उनको सम्पर्कमा पुगेकी थिइन् । पाण्डेले युवतीलाई जुसमा नशालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरेका थिए । जसको उनले भिडियोसमेत खिचेका थिए । सोही भिडियोको आडमा उनले युवतीलाई पटक–पटक ‘ब्ल्याकमेल’ गरी बलात्कार गरेका थिए । मानव बेचबिखन अभियोगमा उनी अहिले जेलमा छन् । यो घटनाले सौन्दर्य प्रतियोगिताको पछाडि लुकेको कालो कर्तुतलाई मात्रै फर्दाफास गरेन, यौनका लागि मानिस केसम्म गर्न पछि पर्दैन भन्ने पनि देखाएको छ ।

घटना २ : सन्दीपमाथि बलात्कार अभियोग
बलात्कारसँगै जोडिएको अर्को एउटा घटनाले मुलुककै ध्यान खिच्यो । नाबालिका बलात्कारसँग सम्बन्धित घटनामा मुछिएका थिए राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने । १७ वर्षीया बालिकाले बलात्कृत भएको भन्दै प्रहरी वृत्त गौशालामा गत २२ भदौमा जाहेरी दिइन् । त्यसवेला लामिछाने ‘क्यारेबियन प्रिमियर लिग’ खेल्न ट्रिनिडाड एन्ड टोबागोमा थिए । ‘हाई प्रोफाइल’ व्यक्ति जोडिएकाले घटना डढेलोसरी फैलियो । चौतर्फी दबाबपछि नेपाल क्रिकेट संघले सन्दीपलाई निलम्बन गर्‍यो । उनलाई क्यारेबियन प्रिमियर लिगबाट ‘आउट’ गरियो । सन्दीप केही दिन उतै भूमिगत भए । प्रहरी ‘डिफ्युजन’ नोटिस जारी गर्ने तयारीमा रहेकै वेला सन्दीप दसैँको टीका लगाउन २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परे । प्रहरीले उनलाई त्यहीँ पक्राउ गर्‍यो । हिरासतमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले पुर्र्पक्षका लागि जेल चलाउन गर्न आदेश दियो । घटना भएको करिब आठ महिना बितिसकेको छ । सन्दीप उच्च अदालतको आदेशबाट जेलमुक्त भएका छन् । उनीविरुद्धको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । 

घटना ३ : एकै परिवारका चारको सामूहिक हत्या
वैदैशिक रोजगारले रेमिट्यान्स भित्र्याएको मात्रै छैन । परिवारमा बिग्रहसमेत ल्याएको छ । गत १६ साउनमा काठमाडौंको तारकेश्वर नगरपालिका– २ मा सामूहिक हत्याको घटना भयो । हत्याको कारण पारिवारिक किचलो थियो । जसमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ र आठ वर्षको दुई छोराछोरीसहितको एकै चिहान भएको थियो । सुनिता र दिनेशबीच सम्बन्ध ठीक थिएन । यही क्रममा सुनिता सिजनल भिसामा बेलायत जाने तयारीमा थिइन् । जुन विषय दिनेशलाई मन परिरहेको थिएन । आवेगमा आएका उनले श्रीमती सुनितालाई चक्कु प्रहार गरे । चोटका कारण सुनिताको मृत्यु भयो । दिनेश यतिमै रोकिएनन् । उनले नाबालक दुई छोराछारीलाई पनि चक्कु प्रहार गरे । चोटका कारण उनीहरूको पनि मृत्यु भयो । अन्तिममा उनले आफैँलाई चक्कु प्रहार गरे । र, सोही चोटका कारण उनको पनि मृत्यु हुन पुग्यो । 

घटना ४ : श्रीमतीको टाउको काटेर पति सडकमा
गत २० मंसिरमा सामाजिक सञ्जालमा एउटा अर्को बीभत्स दृश्य ‘भाइरल’ बन्यो । जसमा एक युवा प्लास्टिकको झोलाभित्र मानिसको टाउको–हात झुन्ड्याएर सडकमा हिँडिरहेको देखिन्थ्यो । प्रहरी अनुसन्धानपछि घटनाको वास्तविकता खुल्यो । सुर्खेत पञ्चपुरी नगरपालिका– ३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेमगरको ३० वर्षीया श्रीमती मीना आलेमगरसँग सम्बन्ध राम्रो थिएन । खटपटकै बीच अम्मरबहादुरले हँसियाले मीनाको घाँटी छिनाएपछि प्लास्टिकको झोलामा हाले अनि हातमा झुन्ड्याउँदै सडकमा निस्किए । अम्मरबहादुर सुर्खेतस्थित इलाका प्रहरी कार्यालयतर्फ जाँदै थिए । प्रहरीले उनलाई पञ्चपुरी– २ पलैंटे पुग्दा नियन्त्रणमा लिएको थियो । 

लाल मोहम्मद हत्याले नेपाल प्रहरीको सुरक्षामाथि नै प्रश्न चिह्न

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पछिल्ला वर्ष ‘होमिसाइड’का घटना बढेको र यसलाई नियन्त्रण गर्न राज्य तहबाटै नयाँ योजना बनाइनुपर्ने बताउँछन् । ‘पछिल्ला वर्ष ‘होमिसाइड’का घटना बढेको देखिन्छ । यस्ता घटना नियन्त्रण गर्न नेपाल प्रहरीको मात्रै सक्रियताले हुँदैन । गृह मन्त्रालय नै यसमा सजग हुनुपर्छ । नियन्त्रणका लागि नीतिगत पहल थाल्नुपर्छ,’ उनले भने ।

अपराधीले चाहँदा राजधानी काठमाडौंमा जो–कोहीको सजिलै हत्या हुन सक्छ । र, अभियुक्त प्रहरीको नाकै सामुन्नेबाट फरार हुन्छ । यसलाई पुष्टि गरिदियो, गत ३ असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित गोठाटारमा सर्लाही सिसौटिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि गोली प्रहारको घटनाले । चोटका कारण उनी घटनास्थलमै ढले । उपचारका लागि उनलाई शिक्षण अस्पताल लगियो, तर उनको मृत्यु भयो ।

सुरक्षाका दृष्टिले अब्बल मानिएको राजधानीमै उनीमाथि गोली प्रहार भएको थियो । तर, घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेन । हत्या ‘स्पोन्सर्ड’ थियो । जसमा ‘सार्प सुटर’ प्रयोग गरिएका थिए । प्रहरीले घटनाको अनुसन्धान पहिल्याउँदै जाँदा घटनाको ‘कनेक्सन’ ‘अन्डरवर्ल्ड’सम्म जोडिएको पाइयो । प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । चाहेको वेला देशकै राजधानीमा जो–कोहीको सजिलै हत्या हुन सक्ने सन्देश यसले प्रवाह गरेको छ ।

पूर्वडिआइजी मल्ल कतिपय घटना नेपाल प्रहरीको पहुँचबाहिर भएकाले अभियुक्त पक्राउ गर्न गाह्रो हुने बताउँछन् । ‘कतिपय घटना नेपाल प्रहरीको ‘ज्यरिडिक्सन’भन्दा बाहिर हुन्छ । त्यसो हुँदा अभियुक्त पहिचान भए पनि पक्राउ गर्न सकिँदैन । लाल मोहम्मद हत्या त्यहीमध्येको एउटा घटना हो । त्यही एउटा घटनालाई लिएर सुरक्षा संयन्त्र नै असफल भएको निष्कर्ष निकाल्न अलि ठीक नहोला,’ उनले भने ।

कमोडिटी मार्केटका नाममा १२ सयभन्दा धेरै नेपाली ठगिए 
०७९ को वर्ष आर्थिक अपराधका कारण पनि चर्चामा रह्यो । जसमध्ये तीन अर्ब रुपैयाँको ठगीधन्दा चर्चाको शिखरमा रह्यो । कमोडिटी मार्केटका नाममा एक हजार दुई सयभन्दा धेरै नेपाली ठगिए । धन्दाका ‘मास्टर माइन्ड’ थिए, भारतीय नागरिक ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रन । उनीसँगै धन्दामा सुनसरी इटहरी उपमहानगरपालिका– ४ पानधारेका ४१ वर्षीय सुनील श्रेष्ठ, खोटाङ बुइपा– २ की ४५ वर्षीया कञ्चन भनिने कमला श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ३७ वर्षीय नरेन्द्रप्रसाद भट्टसहित अन्य ५१ अभियुक्त संलग्न थिए । जसमध्ये चारजनालाई मात्रै प्रहरीले गत २० पुसमा पक्राउ गरेको थियो । पुर्पक्षका लागि जेलमा रहेका उनीहरूविरुद्ध अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । 

काठमाडौंमै दुई आत्मदाह
०७९ मा काठमाडौंमै आत्मदाहको दुईवटा घटना भए । गत २० मंसिरमा धुम्बाराहीमा २७ वर्षीया पुष्पा न्यौपानेले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् । प्रेमी सुधन संग्रौलाले धोका दिएपछि उनले धुम्बराहीस्थित सुधनको घरसामुन्ने पुगेर आत्मदाह गरेकी थिइन् । गत १० माघमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि इलाम सूर्योदय नगरपालिका– ११ कोरबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले व्यवसायमा असफल भएपछि आत्दाह गरेका थिए । दुवै घटनाका सन्देश गम्भीर छन् । पुष्पाको आत्मदाहले महिलाको दृष्टिकोणबाट नेपाली समाज अझै पनि पछौटे रहेको सन्देश प्रवाह गरेको छ । प्रेमप्रसादको आत्मदाहले स्वतन्त्र ढंगले व्यवसाय गर्नेको पीडा उजागर गरेको छ । 

‘अनलाइन फ्रड’बाट ६३ करोड ठगी

‘अनलाइन फ्रड’का ‘मास्टर माइन्ड’ थिए अछामका पृथ्वीबहादुर शाह । जसले शंकास्पद ६३ करोड रुपैयाँ नेपाल भित्र्याएका थिए । जसमध्ये ३७ करोड ५७ लाख रुपैयाँ उनले बैंकबाट झिकेर अपचलन गरिसकेका थिए । 

आर्थिक अपराधसँगै जोडिएको अर्को घटना हो, ‘अनलाइन फ्रड’को । जसको ‘मास्टर माइन्ड’ थिए अछामका पृथ्वीबहादुर शाह । जसले शंकास्पद ६३ करोड रुपैयाँ नेपाल भित्र्याएका थिए । जसमध्ये ३७ करोड ५७ लाख रुपैयाँ उनले बैंकबाट झिकेर अपचलन गरिसकेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार उनले अमेरिकाबाट मात्रै ४५ लाख ४६ हजार ६ सय ३९ डलर (६० करोड एक लाख ५६ हजार तीन सय ४८ रुपैयाँ) ठगी गरी नेपाल भित्र्याएका थिए । त्यस्तै, क्यानडाबाट तीन लाख ४० हजार क्यानेडियन डलर (तीन करोड ३० लाख ३१ हजार रुपैयाँ) र बेलायतबाट पाउन्ड स्ट्रलिङ २२ हजार (३५ लाख पाँच हजार दुई सय ६० रुपैयाँ) गरी कुल ६३ करोड ६६ लाख ९२ हजार ६ सय आठ रुपैयाँ ठगी गरेका थिए । जसमध्ये उनले ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ बैंक खाताबाट झिक्ने अनुमति पाएका थिए । प्रहरीका अनुसार सोही खाताबाट उनले ३७ करोड ५७ लाख ६९ हजार ५१ रुपैयाँ झिकिसकेका थिए । उनले अमेरिका, क्यानडा र बेलायतका ५६ व्यक्तिलाई ठगेका थिए । उनीहरूमध्ये २४ पीडितले सिआइबीमा जाहेरी दिएका थिए । घटना अनुसन्धानका लागि सिआइबीले अमेरिकाको एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)को समेत सहयोग लिनुपरेको थियो । 

‘स्पट फिक्सिङ’मा क्रिकेटर नै संलग्न
आर्थिक अपराधसँगै सम्बन्धित अर्को घटना थियो, ‘स्पट फिक्सिङ’ । गत पुसमा जारी टी– २० लिगका क्रममा आर्थिक प्रलोभनमा परी क्रिकेटरले नै ‘स्पट फिक्सिङ’ गरेको घटना सार्वजनिक भयो । अनुसन्धानका क्रममा संंलग्न रहेको आशंकामा सिआइबीले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल आलम र मेहबुब आलमलाई पक्राउ गर्‍यो । घटनाको कारण टी– २० लिग मात्रै होइन, राष्ट्रिय क्रिकेट टोली नै अन्तर्राष्ट्रिय रूपमा कलंकित बन्न पुग्यो । 

गत २३ चैतमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका– ३ रन्मामा सात वर्षीया कालीमाया बुढा र आठ वर्षीया रिना बुढाको शव खोलामा फेला पर्‍यो । अनुसन्धानका क्रममा दुई दिदीबहिनीको हत्या भएको पुष्टि भयो । घटनामा संलग्न स्थानीय किशोर पक्राउ परे । बयानका क्रममा खुल्यो, कालीमाया र रिनाको हत्या एक तोला सुन प्राप्तिका लागि गरिएको रहेछ । घटनाले धन प्राप्त गर्न किशोरहरूले अपनाएको आपराधिक गतिविधि मात्रै सतहमा ल्याएन, भौतिक प्रगतिलाई प्रधान ठान्ने वर्तमान समाजको चरित्रलाई समेत उदांगो बनाइदियो । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेल ०७९ मा अपराधका ठूला घटना भए पनि नियन्त्रण गर्न प्रहरी सफल भएको दाबी गर्छन् । ‘०७९ को वर्ष अपराधमुक्त रहेन । अपराधका ठूला घटना भए । तर, ती प्रहरीको नियन्त्रणभन्दा बाहिर थिएनन् । प्रहरीले सबै घटनामा सफल अनुसन्धान गरेको छ । घटनामा संलग्न अभियुक्तविरुद्ध कारबाही भएका छन्,’ उनले भने ।