
राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण प्रगति सन्तोषजनक नभएको देखिएको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको देखाएको हो ।
उच्च प्राथमिकतामा राखी स्रोत सुनिश्चितता गर्ने, कार्यान्वयनको सघन अनुगमन गर्ने उद्देश्यसहित २४ आयोजनालाई राष्ट्रिय गौरवका रूपमा अघि बढाइएको छ । तर, सोही आयोजनाहरूकै प्रगति सन्तोषजनक नभएको महालेखाको भनाइ छ ।
यस्तै, महालेखाले सम्पन्न भइसकेका राष्ट्रिय गौरवका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको विषयमा पनि उठान गरेको छ । यस्तै, कार्यान्वयनमा रहेकामध्ये आठ आयोजनाको भौतिक प्रगति ३० प्रतिशतभन्दा न्यून रहेको छ, जुन सन्तोषजनक प्रगति नभएको महालेखाको भनाइ छ ।
विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद हुनु, युटिलिटी सर्भिस स्थानान्तरणमा अन्तरनिकाय समन्वय नहुनुलगायतका समस्या राष्ट्रिय गौरवका आयोजनामा देखिएका छन् ।
यस्तै, सीमांकन–रेखांकन विवाद, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्यांकनलगायत समस्याले गर्दा आयोजना निर्माणको समय र लागत बढ्दै गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । साथै, जग्गा प्राप्तिमा समस्या, सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमनको कमी, कोभिड–१९ लगायतका कारणले आयोजनाहरूको भौतिक प्रगति न्यून भएको पनि महालेखाको भनाइ छ ।