१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अनिल यादव काठमाडाैं
Invalid date format o५:५७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ढाकाकुमारलाई सांसदबाट हटाइने, पार्टीबाट निष्कासन

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५७:oo

उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

दुई करोड मागेको अडियो बाहिरिएपछि निलम्बनमा परेका सांसद ढाकाकुमार श्रेष्ठलाई  राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई कारबाही गर्दै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक बन्दसूचीको क्रमअनुसार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

अनुशासन तथा आचरण समितिको छानबिन प्रतिवेदन र केन्द्रीय समितिको बैठकमा श्रेष्ठले दिएको स्पष्टीकरणका आधारमा कारबाही गर्नुपर्ने प्रशस्त प्रमाण भेटिएपछि पार्टी विधानको धारा ५६ उपधारा ४ बमोजिम यस्तो निर्णय गरिएको रास्वपाका सभापति रवि लामिछानेले बताए । २६ चैतमा सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले तत्काल छानबिन गरी प्रतिवेदन पेस गर्न पार्टीको अनुशासन समितिलाई तीन दिनको समय दिएको थियो । समितिले श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । 

‘प्राप्त प्रमाणका आधारमा अमुक व्यक्ति र उहाँ(ढाकाकुमार)बीच कुराकानी भएको देखियो,’ केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, ‘यद्यपि लेनदेन भएको देखिएको छैन, तर पार्टीलाई लेनदेनसँग सरोकार भएन । उहाँकै आवाज भएको पहिचान भएपछि कडाभन्दा कडा कारबाही गर्नै पथ्र्यो । हाम्रो पार्टीको विधान जिरो टोलरेन्स हो । जसअनुसार त्यसरी पैसा माग्नु कारबाही गर्न यथेष्ट कारण हो ।’ 

पार्टीले स्वास्थ्यमन्त्री पाउने अवस्था नै नरहेको र श्रेष्ठ मन्त्री बन्ने लिस्टमै नभएको अवस्थामा यस्तो डिल गरेको पाइएको लामिछानेले बताए । ‘न उहाँ मन्त्री बन्ने लिस्टमा हुनुहुन्थ्यो, न मन्त्री नै बन्नुभयो, न हाम्रो पार्टीले स्वास्थ्यमन्त्री नै पाउँदै थियो,’ उनले भने ।

ढाकाको धम्की–म डुबे पार्टी डुबाइदिन्छु
रास्वपाका सभापति रवि लामिछानेका अनुसार श्रेष्ठले आफू डुबे पार्टी डुबाइदिन्छु भन्दै धम्की दिएका छन् । ‘उहाँ एक लेभलले बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ,’ उनले भने, ‘म सकिएँ भने छोड्दिनँ, जसको पनि नाम लिन सक्छु भन्ने हिसाबले आउनुभएको छ । यदि मलाई फसायो भने म नाम लिइदिन्छु भनेको देखियो । पार्टीले मलाई बचाएन भने म जसको पनि नाम लिन सक्छु भन्ने कुरा हामीले रेकर्ड राखेका छौँ ।’ 

पुनरावेदनको सुविधा
साधारण सदस्यबाट निष्कासन गरिएका श्रेष्ठलाई सफाइका लागि पुनरावेदन सुविधा भने रहेको सभापति लामिछानेले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनमा सघाउन पनि पार्टी तयार रहेको उनको भनाइ छ । ‘हाम्रो पार्टीभित्र पुनरावेदनको सुविधा छ, पुनरावेदन समिति छ,’ उनले भने, ‘उहाँले कारबाहीबारे त्यहाँ पुनरावेदन गर्न सक्नुहुन्छ । अदालतबाट क्लिन चिट भयो भने पुनर्बहाली हुने सम्भावना छ । न्यायालय गएर त्यहाँबाट नै क्लिन चिट पाउनुभयो भने भोलि निर्णयमा पुनरावलोकन पनि हुन सक्छ ।’