१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २८ मंगलबार १५:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गभर्नरको दाबी- सबै वित्तीय संस्थाको तथ्यांक बलियो छ, सानोतिनो धक्काले जोखिम आउँदैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार १५:४२:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन्। 

मंगलबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उनले नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे। तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताउँदै उनले सबै खालले वित्तीय संस्थाहरूको तथ्यांकहरू बलियो हरेको दाबी गरे। 

उनले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए। उनले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताए। 

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्राेत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए। बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गर्दै उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताए। उनले बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। 

उनले भने, ‘समग्रमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्थाहरू र वित्तीय क्षेत्र सुरक्षित छ । सानोतिनो धक्काले कतै अप्ठ्यारो पर्ने अवस्था देख्दैनौँ। राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलतासमेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसका लागि उद्योगी–व्यवसायी र बैंकर्सहरू उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ।’

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे। उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए। 

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो चार महिनामा निरन्तर रूपमा एक अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालू आर्थिक वर्षको औसत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता सरकारको चालू खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालू खाता ४४ अर्ब ३१ करोडले घाटामा छ। 

अघिल्लो वर्षको आठ महिनामा चार सय ६० अर्बले ऋणात्मक रहेको चालू खाता घाटामा उल्लेख्य सुधार भएको हो । त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२१५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ।

माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा पाँच खर्ब ८५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो।