१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:११:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सांसदको अडियो सार्वजनिक भएपछि रास्वपाले सदनमै माग्यो माफी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:११:oo

सांसदहरू आक्रोशित, छानबिन समिति गठन गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको अडियो डिलको विषयबारे संसद्मै माफी मागेको छ । सोमबारको संसद् बैठकमा विभिन्न दलका सांसदहरूले रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न व्यापारीसँग दुई करोड रुपैयाँ मागेको अडियो डिलबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेपछि सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सदनमै माफी मागेका थिए । 

अडियोबारे पार्टीको अनुशासन तथा आचरण समितिले सत्य तथ्य छानबिन गरिरहेको र छानबिन नसकिएसम्म सांसद र साधारण सदस्यका हैसियतले कुनै काम गर्न नपाउने गरी निलम्बन गरिएको उनले जानकारी गराए । ‘सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख अभियान ठानेको रास्वपा र हामी यो घटनाबाट सदनको सम्मानमा परेको चोट र गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमायाचना गर्दछौँ,’ उनले भने, ‘संसद्को गरिमा बढाउने अभियानमा अक्षुण्ण रहनेछौँ । यो घटनाले कतै पनि विचलित गर्नैछैन । भविष्यमा यस्ता घटना हुन नदिने गरी लोकतन्त्रलाई अझै सुदृढ र समृद्ध बनाउन कटिबद्ध छौँ ।’ 

सन्तोष परियार, प्रमुख सचेतक, रास्वपा
सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख अभियान ठानेको रास्वपा र हामी यो घटनाबाट सदनको सम्मानमा परेको चोट र गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमायाचना गर्दछौँ । संसद्को गरिमा बढाउने अभियानमा अक्षुण्ण रहनेछौँ । यो घटनाले कतै पनि विचलित गर्नैछैन । भविष्यमा यस्ता घटना हुन नदिने गरी लोकतन्त्रलाई अझै सुदृढ र समृद्ध बनाउन कटिबद्ध छौँ ।

सांसदहरूले भ्रष्टाचार काण्डमा संलग्न जतिसुकै पहुँचवाला व्यक्ति भए पनि कानुनको कठघरामा ल्याउन माग गरेका छन् । सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको मन्त्री बन्न व्यापारीसँग दुई करोड रुपैयाँ मागेको अडियो, सत्तारूढ दलकै सांसद विनोद चौधरी जोडिएको ललितपुरको बखुन्डोलस्थित समिट अपार्टमेन्ट निर्माणमा भएको अनियमितता र पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थी अमेरिका पठाउने भन्दै करोडौँ उठाउने काण्डका सम्बन्धमा निष्पक्ष छानबिन गरी खुट्टा नकमाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

कांग्रेस उपसभापति धनराज गुरुङले प्रतिनिधिसभा सदस्यले मन्त्री बन्न कुनै व्यवसायीसँग करोडौँको वार्तालाप गर्नु लज्जास्पद भएको बताए । ‘वार्तामा कोर टिम सुनिन्छ । कोर टिम भनेको के हो ? छानबिन गर्नुपर्दैन ? वार्तालाप, भ्रष्टाचार कमिसनको सन्दर्भमा संसद् चुप लागेर बस्नुहुँदैन । एउटा संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु,’ उनले भने । गुरुङले भ्रष्टाचारजन्य गतिविधि गरेर पारदर्शिताको कुरा गर्नु दूधको साक्षी बिरालो बसेजस्तै भएको भन्दै रास्वपालाई व्यंग्यसमेत गरे । 

गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर सयौँ जनाबाट करोडौँ असुलउपर गर्ने गिरोहमा ठूला नेता पनि जोडिएको भन्दै प्रश्न गरे, ‘ठूलोलाई चैन सानोलाई ऐन हुन्छ कि हुँदैन ? होइन भने जति ठूलै नेताको नाम जोडिए पनि गृह प्रशासन काँप्नुहुँदैन । दह्रो खुट्टा टेकेर संलग्न जतिसुकै ठूलो भए पनि कानुनको कठघरामा ल्याएर कारबाही गर्नैपर्छ ।’ 

एमाले सांसद ऋषिकेश पोखरेलले स्वास्थ्यमन्त्री बन्न दुई करोड आवश्यक पर्नुले चरम भ्रष्टाचार देखाएको र नेताहरू सामाजिक बहिष्करणमा पर्ने चेतावनी दिए । उनले यसमा संलग्नलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

राप्रपा सांसद धवलशमशेर जबराले देशमा काण्डैकाण्ड भइरहेको बताए । ‘एनसेल काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, दुईवटा धितोपत्र बोर्ड काण्ड, दुई करोड अडियो काण्ड राप्रपाले हेरिरहेको छ,’ उनले भने, ‘हामी भ्रष्टाचार हुन दिनेछैनौँ । तपाईंहरू सचेत रहनुस् । सरकारमा बसेका ठूला मन्त्रीका छोराछोरी ठुल्ठूला घटनामा संलग्न भइरहेका छन् । सरकारले यिनीहरूलाई कठघरामा उभ्याउनुपर्छ ।’ राप्रपाकै रोशन कार्कीले समिट अपार्टमेन्टमा सरकार र मन्त्रीकै मिलेमतोमा अनियमितता भएको भन्दै कारबाहीको माग गरिन् । निर्माणकर्ता ठूलाबडा पहुँचकर्ता र सरकारलाई दबाब दिएर निर्णय फेर्ने खालका रहेको भन्दै उपमेयरको छानबिन समिति प्रभावकारी हुन नसक्ने जिकिर गरिन् । 

नेमकिपाका सांसद प्रेम सुवालले सत्तापक्षकै सांसदले मन्त्री हुन दुई करोड माग्नुले गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए । यसबारेमा गठबन्धनका नेताले सदनमा जवाफ दिनुपर्ने उनको भनाइ थियो । सत्तागठबन्धनकै एक सांसदको लगानी भएको ललितपुरको समिट अपार्टमेन्टमा बनाउन उपकरण चलाइँदा घर भासिएर ज्यान जोगाउन रातारात अन्त सर्नुपरेको भन्दै सुवालले सोधे, ‘जुन सांसदको एक वर्षमा ४० अर्ब सम्पत्ति बढेको छ, तर राजस्व कति तिरेको छ, यो जानकारी किन सार्वजनिक हुँदैन ?’ मन्त्री भइसकेका व्यक्तिका छोराले भुटानी शरणार्थीलाई अमेरिका पठाउन करोडौँ ठगी गरेको भन्दै सुवालले अख्तियारको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बागदरबार र सिंहदरबारबीच देखिएको टकराव समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेर मेयरले अत्यावश्यक सेवा अवरुद्ध गरेर माग सुनुवाइ गराउने शैली, प्रयोग गरेको भाषा लवज ठीक वा बेठीक बहस गर्दै गरौँला । तर, अहिलेलाई कुनै विलम्ब नगरी संवाद गरियोस् । जुन–जुन विषय अहिले सल्टाउन सकिन्छ सल्टाइयोस्, समझदारी हुने विषयमा गरियोस्, जायज माग पूरा गरियोस् र हामी काठमाडौंका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा सम्मिलित गराइयोस्,’ थापाले भने । 

एमाले सांसद रघुजी पन्तले भारतीय सुरक्षाकर्मी अवैध रूपमा नेपाल प्रवेश गर्नु आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । भारतका खालीस्तानी आन्दोलनकारी अमृतपाल सिंह नेपाल प्रवेश गरेको आशंकामा उनलाई खोज्ने नाममा भारतीय सुरक्षाकर्मी पस्नुले नेपालको सुरक्षा संयन्त्रको क्षमतामाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो । ‘नेपाली सुरक्षाकर्मीले खोजतलास गर्दा पत्ता लागेको छैन । तर, वीरगन्ज र बाँकेको जमुनाह नाकाबाट भारतीय सुरक्षाकर्मीहरू नेपाल प्रवेश गरेर अमृतपाल खोजिरहेका छन्,’ उनले भने । 

सांसदले सोधेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सांसदबाट उठेका विषय तथा जिज्ञासामा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । ‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरूको जवाफ दिन निर्देशित गर्दछु,’ उनले रुलिङ गरे । 

 

ad
ad