१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन थालेपछि निर्माणको गुणस्तरमा आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o२:oo

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ । भासिएको क्षेत्रमा कालोपत्रे भने फुटेको छैन । 

६ लेन सडक ठाउँठाउँमा चर्किनुका साथै भत्किएको पनि छ । धनगढी विमानस्थल गेट, राजपुरलगायत केही ठाउँमा सडक भत्किरहेको हो । नेपाल सरकारको करोडौँ रुपैयाँ लगानीमा बनेको सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेपछि यसको गुणस्तरमाथि प्रश्न उठेको छ । बनेको एक–डेढ वर्ष पनि सडक नटिक्नुले गुणस्तरीय काम भएको छैन भन्ने देखिएको स्थानीय बताउँछन् । सडक गुणस्तरीय बन्न नसक्नुमा ठेकेदारसँगै निर्माणका क्रममा अनुगमनमा खटिएका ६ लेन सडक आयोजना कार्यालयका प्राविधिक पनि दोषी रहेको स्थानीयको आरोप छ ।

गेटामा सडकको दुई–तीन लेनमा पानी जम्मा हुने गरी भासिएको गोदावरी नगरपालिका– ५, गेटाका स्थानीय भक्ता रानाले बताए । भासिएको क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुने भएकाले दुर्घटना बढेका उनले बताए । ‘सडक कहीँ दबेको छ, कालोपत्रे बगेर कहीँ सतह माथि उठेको छ । यही कारण तीव्रगतिमा रहेका दुईपांग्रे सवारीसाधन अनियन्त्रित भएर दुर्घटना हुन्छन्,’ रानाले भने, ‘सडक बिग्रेका कारण हाम्रै गाउँका एकजना मोटरसाइकल दुर्घटनामा परे ।’ 

सडक भासिएका कारण मोटरसाइकल चलाउन अप्ठ्यारो हुने गरेको उनले बताए । सरकारको ठूलो लगानीमा बनेको सडक निर्माणका क्रममा लापरबाही भएको उनको दाबी छ । सडक निर्माणका क्रममा रोलरले राम्ररी नदबाइएको र गुणस्तरीय सामग्री प्रयोग नगरिएकाले सडक बिग्रन थालेको उनले बताए । ‘त्यति ठूलो लगानी गरेर बनाएको सडक एकआध वर्ष नटिक्नुले काम राम्रो नभएको पुष्टि हुन्छ,’ गोदावरी– ५, का वडाध्यक्षसमेत रहेका गेटाका स्थानीय शुद्धिराम चौधरीले भने, ‘यसमा ठेकेदार मात्र होइन, निर्माणका वेला अनुगमनमा खटिएका सरकारका प्राविधिकलाई पनि जिम्मेबार बनाइनुपर्छ ।’ सडक बनेपछि सुविधा भए पनि गुणस्तरीय सडक बन्न नसकेको रानाले बताए ।

अलकत्रालगायत निर्माण सामग्रीको गुणस्तर जाँचसँगै राम्ररी दबाइएको छ–छैन भनेर नहेरिँदा अहिले समस्या आएको अध्यक्ष चौधरीले बताए । ठेकेदार र प्राविधिकको मिलेमतोमा कमसल काम भएको भन्दै स्थानीयले सडकको गुणस्तर परीक्षण हुनुपर्ने माग गरेका छन् । केही ठाउँमा रेलिङ र पोलसमेत भाँचिएका छन् भने ब्लक बिछ्याएर बनाइएको फुटपाथ पनि भासिएको छ । 

पूर्व–पश्चिम व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत एक अर्ब ५३ करोडभन्दा बढी लागतमा धनगढीदेखि अत्तरियासम्म १४.२ किलोमिटर लामो ६ लेन सडक निर्माण गरिएको हो । सडक हस्तान्तरण हुन बाँकी छ । तीनवटा खण्डमा छुट्याएर अलग–अलग ठेक्का लगाइएको यो सडक सुरुको सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न हुनुपर्ने हो, तर ६ वर्ष बित्दासम्म काम पूरा भएको छैन । सडकछेउतिर रेलिङ राख्ने, ट्राफिक संकेत राख्ने, रङरोगन गर्ने, जेब्राक्रसिङ र किलोमिटरको पोस्ट बनाउने काम पूरा भएका छैनन् ।

मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्डको काम शर्मा–अमर–नागार्जुन जेभीले गरिरहेको छ । बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ । 

६ लेन सडक आयोजना हेरिरहेको महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरुङले ६ लेन सडक केही ठाउँमा भासिएको र फुटेको बताए । दोस्रो खण्डको धेरै ठाउँमा सडक भासिएको उनले बताए । ‘केही ठाउँमा चर्केको छ, केही ठाउँमा भत्केको छ,’ उनले भने, ‘बढी भार भएका सवारी साधन कुद्दा सडक भासिएको देखिन्छ ।’ धनगढी सहीदगेटदेखि गेटासम्म यस्तो समस्या देखिएको उनले बताए ।

ad
ad