१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:o२:oo
Read Time : > 7 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिष्ठाको प्रतिस्पर्धा

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:o२:oo

चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनका लागि दलका ३३ र ३६ स्वतन्त्रसहित ६९ जनाको उम्मेदवारी दर्ता

प्रमुख दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठा बनाउँदै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार १० वैशाखको उपनिर्वाचनका लागि चितवन २, तनहुँ १ र बारा २ मा गरी ६९ जनाको उम्मेदवारी परेको छ, जसमा ३६ स्वतन्त्र उम्मेदवार छन् । 

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन २ मा २४ जना, तनहुँ १ मा नौ र बारा २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

चितवन २ : दुई महिलासहित २४ उम्मेदवार
उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । २४ मध्ये १२ दलका र १२ स्वतन्त्र उम्मेदवार हुन् । 

चितवनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिरमा भएको चुनावमा लामिछाने एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी अर्थात् ३४ हजार तीन सय १२ मतान्तरले निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा सर्वाेच्चले उनको सांसद पद नरहने फैसला गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

राप्रपाका जीवलाल पुरी, नेमकिपाका ज्ञानेन्द्र प्रजा, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, राष्ट्रिय जनमोर्चाका जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलनका छत्रकुमार पाख्रिन, जय जन्मभूमिका प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्तिका महानन्द जैसी, राष्ट्रिय नागरिकका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्तिका राजेश अधिकारी उम्मेदवार छन् । 

स्वतन्त्रबाट अम्बिका भट्ट, चक्रपानी न्यौपाने, ताराप्रसाद पौडेल, भास्करचन्द्र न्यौपाने, मोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियार उम्मेदवार छन् ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेको यसअघि फराकिलो मतान्तरले चुनाव जितेको यस क्षेत्रमा अहिले तीन पक्ष भिडन्त हुने देखिन्छ । लामिछानेसँग गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस चितवनका निवर्तमान सभापति श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी हुन् । 

लामिछानेका लागि यो निर्वाचन जनलहर घटे–नघटेको परीक्षा बन्नेछ भने अन्य पार्टीलाई संगठन कस्तो छ भन्ने परीक्षा हुनेछ । मंसिरमा लामिछानेसँग प्रतिस्पर्धा गरेका एमाले र कांग्रेसका उम्मेदवार यसपटक मैदानमा छैनन् । न्यौपाने गत मंसिरको निर्वाचनमा चितवन ३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो । चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उक्त क्षेत्रमा एमालेको उम्मेदवार थिएन । 

उम्मेदवारी दर्तापछि रास्वपा सभापति लामिछानेले पहिलाभन्दा राम्रो मत ल्याएर चुनाव जित्ने दाबी गरे । उनले निर्वाचन प्रक्रियामा आफ्नो सहभागिता विधिवत् रहेको बताए । ‘पहिलाभन्दा राम्रो हुन्छ भन्ने आशावादी छु । उत्साहित छु । पहिलाभन्दा राम्रो आउँछ भन्ने प्रतिक्रिया आएको छ,’ उनले भने, ‘आफूलाई मन नपरेको विषयमा सबैले उजुरी हाल्न पाउँछन् । मलाई न्याय प्रक्रियामा विश्वास छ । कानुनको छिद्र खोजेर सक्नैपर्ने पात्र म होइन । मसँग जनताको शक्ति छ । अहिलेको निर्वाचन प्रक्रियामा मेरो सहभागिता विधिवत् छ ।’

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले हिजोको हावा–हुण्डरीले अहिले काम नगर्ने दाबी गरे । ‘जितनारायण श्रेष्ठ संसद्मा पुगेन, संसद्मा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदै छ भन्ने लाग्छ । गठबन्धनका शक्ति एकढिक्का भएर लाग्नुभएको छ । केहीले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहे । तर, चितवनका जनताले राम्रोसँग बुझेका छन् । चितवन प्रयोगशाला होइन, चितवन पर्यटकीय नगरी हो,’ उनले भने, ‘यहाँ एकपटक आउनेलाई स्वागत गर्ने हाम्रो बानी छ । तर, स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटेलमा बस्यो, त्यही होटेल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् । चितवनमा सचेत समुदाय बस्छन्, सबैमा अनुभूति भएको छ । हिजोको हावा–हुण्डरीले अहिले काम गर्दैन ।’

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो जितको बलियो आधार रहेको बताए । ‘यो उपनिर्वाचन हाम्रो र यस क्षेत्रको जनताको चाहना होइन । तर, उपनिर्वाचन हुने अवस्था सिर्जना भयो, यो कसले गर्‍यो, तपाईंलाई थाहा नै छ । जनताको मतमा विश्वास गर्दै जनताको मायाबाट विजयी भएर जनताको असल प्रतिनिधिको रूपमा काम गर्नेछु,’ उनले भने, ‘जनताको हरविश्वासलाई प्रमाणित गरेर खुसी राख्नेछु । कहिलेकाहीँ निर्वाचनमा हार–जित हुन्छ । जनता भ्रमबाट मुक्त भएका छन् । त्यसकारणले विगतको चर्चा गर्न आवश्यक छैन । जनताको विश्वासले म निर्वाचन जित्छु । सचेत जनता हुनुहुन्छ अब भुलभुलैयामा पर्नुहुन्न ।’ 

चितवन २ मा एक लाख २४ हजार ६ सय ९५ मतदाता छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि यो क्षेत्रमा चार सय ८० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए । चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । 
भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । पालिकाअनुसार हेर्दा कालिकामा ३२ हजार दुई सय ४१, इच्छाकामनामा १५ हजार ६ सय २० र भरतपुरका १० वटा वडामा ७६ हजार आठ सय ३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यसअन्तर्गत एक सय ३८ वटा मतदान केन्द्र बनाइएको छ । 

कोइरालाले कांग्रेसलाई सघाउने
कांग्रेस केन्द्रीय सदस्य त्यागेर गत निर्वाचनमा चितवन ३ बाट एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालाले कांग्रेसका उम्मेदवारलाई मत माग्न जाने बताएका छन् । मंसिरको चुनावमा दिनेश कोइराला कांग्रेसबाट उम्मेदवार बन्न चाहेका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि कांग्रेसमा विद्रोह गरे उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । गठबन्धनका उम्मेदवारविरुद्ध उठेपछि उनलाई कांग्रेसले कारबाही गरेको थियो । कोइरालाले तनहुँ १ र चितवन २ का कांग्रेस उम्मेदवारलाई मत माग्न पनि जाने बताएका छन् । 

त्यस्तै, १० वर्षपछि कारबाही फुकुवा भएका नेपाली कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले उचित जिम्मेवारी चाहेको बताएका छन् । ०७० मा भएको संविधानसभाको दोस्रो चुनावमा तत्कालीन पार्टी केन्द्रीय सभापति सुशील कोइरालासँग जिल्ला सभापतिका रूपमा रहेका विकास चुनाव लडेका थिए । 

रविको साथमा छैनन् रास्वपाका चितवन सभापति, जगन्नाथ रास्वपातिर
मंसिरको चुनावमा लामिछानेलाई चुनाव जिताउन भूमिका खेल्ने रास्वपा चितवनका सभापति अहिले पार्टीमा छैनन् । पार्टीभित्र व्यक्तिवाद चरम रूपमा हाबी भएको भन्दै जिल्ला सभापति धर्मेन्द्र सापकोटाले माघ पहिलो साता पार्टीबाट राजीनामा दिएका थिए ।

अघिल्लो चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले रास्वपा उम्मेदवार लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् । ‘परिवर्तित सन्दर्भमा एउटा उदाउँदो पार्टी हो । देशमा रूपान्तरणको आवश्यकता छ । म आफ्नो सक्रियता राजनीतिमा देखाउन चाहन्छु,’ उनले भने, ‘अहिले जहाँ छु त्यहाँ मेरो मुख बन्द छ, मेरा हात बाँधिएका छन् । म एउटा स्वतन्त्रताप्रेमी मान्छे हुँ ।’ उनी ४ मंसिरको चुनावमा चितवन ३ बाट उम्मेदवार बनेका थिए ।

तनहुँ १ : नौ उम्मेदवार, तीन उम्मेदवारमाथि मतदाताको नजर 
आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्तागठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार बनेका छन् भने एमालेले सर्वेन्द्र खनाललाई अघि सारेको छ । 

संसद्मा चौथो दलका रूपमा उदाएको रास्वपाले स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतारेको छ । उपनिर्वाचनका लागि कांग्रेस, एमाले, रास्वपासहित नौ राजनीतिक दलका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् । 

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराई उम्मेदवारी दर्ता गर्न कांग्रेस महामन्त्री गगन थापासहित पुगेका थिए भने चौथो शक्तिका रूपमा उदाएको रास्वपाका सभापति रवि लामिछाने वाग्लेको उम्मेदवारीका लागि आफैँ पुगेका थिए । 

मनोनयन दर्तापछि कांग्रेसका उम्मेदवार भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको बताए । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुन लागेको हो । ‘म यहीँको धर्तीपुत्र हुँ । म राजनीतिमा रामचन्द्र दाइको उत्तराधिकारी हुँ । उहाँ राष्ट्रपतिमा निर्वाचित भइसकेपछि अब उहाँका वाचा पूरा गर्ने जिम्मेजवारी मेरो काँधमा आएको छ,’ भट्टराईले भने । तनहुँमा जति पनि विकासका खाका बनेका छन् ती सबै कांग्रेसको पालामा भएको बताउँदै उनले भने, ‘गाउँमा बिजुली, खानेपानी पुगेको छ, अझै भन्नुपर्दा टुकी बालेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यो कांग्रेसले नै गरेको हो ।’ आफूले अहिलेसम्म अवसर नपाएको बताएका उनले एकपटक सबैले भोट दिएर संसद्मा प्रतिनिधित्व हुने अवसर मिलाइदिन आग्रह गरे ।

एमालेका उम्मेदवार बनेका पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरीमा हुँदा पनि तनहुँको विकासमा सहयोग गरेको बताए । ‘यहाँ एकथरी चलन पनि चलेको छ, सेलिब्रेटी बन्ने, जे मन लाग्यो त्यही बोल्ने । धनाढ््य आफू बन्ने, कमाउने । त्यसपछि आएर देशका लागि म गर्छु भन्ने भ्रम छर्ने पनि छन्,’ उनले भने, ‘म त्यस्तो होइन, म यही ठाउँ (तनहुँ)मा हुर्केको मान्छे हुँ । म कसैलाई पक्षपात नगरी काम गर्छु । युवापिँढीलाई रोजगारीको अवसर दिलाउन पहल गर्छु ।’

रास्वपाका उम्मेदवार वाग्लेले संसद्मा गएर पाँच वर्ष काम गर्ने हुटहुटी बढेकाले उम्मेदवारी दिएको बताए । ‘अहिलेका राष्ट्रिय मुद्दा अर्थतन्त्र, सुशासनसँग सम्बन्धित छ, त्यसले नेपाललाई अल्झाइरहेको छ । यसमा केही सार्थक हस्तक्षेप गर्न सकिन्छ कि भन्ने विश्वासका साथ उम्मेदवार बनेको हुँ । स्थानीय मुद्दामा सहकार्य गर्ने र राष्ट्रिय विधायकका रूपमा मुलुककै भविष्य कोर्ने स्थानमा पुगेर अर्थपूर्ण काम गर्नेछु,’ उनले भने । 

नेमकिपाका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेकपा समाजवादीका गणेश श्रेष्ठ, राप्रपाका शोभा गुरुङ र नागरिक उन्मुक्तिका भीमबहादुर सुनार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

आचारसंहिता उल्लंघन गर्दै मुख्य दल
निर्वाचन आयोगले २५ जनाभन्दा बढीको समूह लिएर नहिँड्न भनेको थियो । तर, कांग्रेस, एमाले र रास्वपा ठूलो संख्यामा कार्यकर्ताको र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । निर्वाचन कार्यालयको गेटबाट भने २५ जनाभन्दा बढीलाई प्रवेश गर्न रोक लगाइएको थियो ।

बारा २ स्वतन्त्रसहित ३६ प्रतिस्पर्धी 
बारा २ मा स्वतन्त्रसहित ३६ जनाको उम्मेदवारी परेको छ । जसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी २४ जना स्वतन्त्रको उम्मेदवारी परेको छ । यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुसवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेल मुख्य प्रतिस्पर्धी हुन् । ४ मंसिरमा भएको निर्वाचनमा बारा २ बाट जसपाका रामसहायप्रसाद यादव विजयी भएका थिए । 

तर, उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । सोही निर्वाचनमा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका उपेन्द्र गठबन्धनको बलमा संसद् प्रवेश गर्न चाहन्छन् । तर, यहाँ गठबन्धन दलकै जनमतका कुसवाह र नागरिक उन्मुक्तिका कमरुल्लाह अन्सारीको पनि उम्मेदवारी छ । गत चुनावमा रामसहायसँग प्रतिस्पर्धा गरेका कुसवाह माओवादी छाडेर जनमततिर लागेका हुन् । 

गत चुनावमा काठमाडौं १ बाट पराजित भएका सुशासन पार्टी सभापति रमेश खरेल रास्वपाबाट उम्मेदवार बनेर मधेस झरेका छन् । एमालेले पुरुषोत्तम पौडेललाई अगाडि सारेको छ भने आम जनता पार्टीका अरुण ज्ञवाली उम्मेदवार छन् । उनी गत मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट बागी बनेका थिए ।

बारा २ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ र करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिकाको क्षेत्र पर्छ । यहाँ एक लाख पाँच हजार दुई सय ९८ मतदाता छन् । 

जसपा अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘बारालाई आर्थिक रूपमा चम्काउन मेरो उम्मेदवारी हो, यस क्षेत्रको आधारभूत विकासका लागि सधैँ साथ रहनेछ,’ उनले भने, ‘गठबन्धनको निर्णयअनुसार चुनाव लड्न आएको हुँ ।’

जनमतका उम्मेदवार कुसवाहले बाहिरबाट आएका उम्मेदवारलाई भोट नदिन अपिल गरे । ‘जे–जस्तो भए पनि स्थानीयले नै स्थानीय समस्या बुझेका हुन्छन्, म स्थानीय हुँ, मलाई भोट दिनुहोस्, यहाँका समस्या मैले बुझेको छु, समाधान पनि म गर्छु,’ उनले भने ।

एमालेका उम्मेदवार पौडेलले आफू स्थानीय पनि भएकाले जनताले विजयी गराउने बताए । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा आफूलाई मन पराएकाले निर्वाचित हुनेमा ढुक्क रहेको उनको भनाइ छ । रास्वपाका उम्मेदवार खरेलले आफूले नेपाल प्रहरीमा सुशासन कायम गरेकाले चुनावी एजेन्डा पनि सुशासन नै रहेको बताए । ‘कहीँकतै अझै मधेसमा सुशासन छैन, सुशासनका खातिर चुनाव लड्न बारा आएको हुँ,’ उनले भने । 

पाँच वर्ष नै सरकार चलाउनुपर्ने चुनौती छ : महामन्त्री थापा
कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच वर्ष नै सरकार चलाउनुपर्ने चुनौती आपूmहरूमाझ आएको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनलाई ध्यानमा राखी कांग्रेसले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धन दलहरूलाई पाँच वर्ष नै सरकार चलाउनुपर्ने चुनौती रहेकाले सरकारमा सहभागी भएका दलहरूले जनचाहनाअनुरूपको काम गर्नुपर्ने बताए । उनले नेताहरू मतदाता र नागरिकसँग डराउनुपर्ने भन्दै देशको विकासका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेे बताए । अहिले सरकारमा सामेल भएका दलहरूलाई गल्ती गर्ने छुट नभएको भन्दै थापाले राम्रो काम गरेर जनताको मन जित्नुपर्ने बताए । देशको अर्थतन्त्रमा सुधार ल्याउन र विकास निर्माणका कार्यलाई अगाडि बढाउन सरकारमा सामेल भएका गठबन्धन दलका व्यक्तिहरू एकैठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । यहाँका मतदाताले यसअघि जिताएका रामचन्द्र पौडेल देशकै सर्वोच्च निकाय राष्ट्रपति भइसकेकाले यसपटकको निर्वाचनमा पनि युवा र जुझारु व्यक्तित्व कांग्रेसका गोविन्द भट्टराईलाई सहयोग पुर्‍याउन उनले तमाम मतदातासमक्ष आग्रह गरे ।

ad
ad