
अर्थ ज्ञान
कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा स्रोतमा करकट्टी र अग्रिम करकट्टीसम्बन्धी प्रावधान छ । कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दाकै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालाई भुक्तानीमा करकट्टी भनिन्छ ।
अग्रिम करकट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा करकट्टी गर्नुपर्ने र लाभ तथा कारोबारमा अग्रिम कर असुली गर्नुपर्छ । यसरी भुक्तानीकै समयमा अर्थात् स्रोतमा नै करकट्टी हुने भएकाले यसलाई भुक्तानी (स्रोत)मा करकट्टी भनिन्छ ।
भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई ‘विथ होल्डिङ ट्याक्स’ पनि भनिन्छ । आय गर्दा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई ‘पे एज यु अर्न’समेत भनिन्छ ।
यस प्रणालीले गर्दा सरकारलाई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्क्रिय आय हुने प्राकृतिका व्यक्तिको आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो । – आन्तरिक राजस्व विभाग