
संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृंखलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
टेनेसीमा कम्तीमा नौजनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इन्डियायानाको सुलिभानमा तीन र इलिनोईमा चारजनाको मृत्यु भएको छ। अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ।
शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन्। विद्यालय र गिर्जाघर ढलेका छन्, सर्वसाधारणको घरका पर्खाल भत्किएका छन्। रुखबिरुवा जरैदेखि ढलेका छन् भने मोटरकारहरू उत्तानो परेका छन्। विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ।
अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इन्डियायाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन्। इलिनोईमा दर्शकहरूले खचाखच भएको एउटा सांगीतिक कार्यक्रम स्थलको छत भत्किँदा एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार इलिनोईको क्रफोर्ड काउन्टीमा थप तीनजनाको मृत्यु भएको छ। त्यहाँ एक सय परिवार विस्थापित भएका छन्। आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युतविहीन भएका बताइएको छ।
ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन्। शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए।
अमेरिकी सरकारको तुफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ। मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो। त्यहाँको सानो सहर रोलिङफार्क पूर्ण रूपमा तहसनहस भएको थियो।