१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायती राजनीतिमा ‘हम्जा युसुफ’को उदयको अर्थ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२o:oo

बेलायती राजनीतिमा पर्याप्त धार्मिक एवं सांस्कृतिक विविधता देखिए पनि वर्गीय विभाजन भने चर्को छ 

लायत (संयुक्त अधिराज्य) का चार देशमध्येको एक स्कटल्यान्डका फस्र्ट मिनिस्टर (कार्यकारी प्रमुख) मा स्कटिस नेसनल पार्टीका नेता हम्जा युसुफ नियुक्त भएका छन् । युसुफको नियुक्ति बेलायतका लागि ऐतिहासिक क्षण हो । इतिहासमा पहिलोपटक समग्र बेलायत (वेस्टमिन्स्टर) मा हिन्दू प्रधानमन्त्री (ऋषि सुनक) छन् र स्कटल्यान्डमा मुसलमान फस्र्ट मिनिस्टर बनेका छन् । ‘यो देश जसलाई हामी आफ्नो घर भन्छौँ, त्यसको नेतृत्व लिन छालाको रंग र धर्म बाधक हुँदैन भन्ने जुन स्पष्ट सन्देश हामीले प्रवाह गरेका छौँ, त्यसका लागि हामी सबै गौरवान्वित’ हुनुपर्छ भन्दै युसुफले विजयी भाषण गरेका थिए ।   

यस परिदृश्यमा दुवै कार्यकारीका परिवार बेलायतमा सुखी जीवनको खोजीमा आप्रवासी बनेर आएका थिए । यी परिवारले मिहिनेत गर्दा आप्रवासी र तिनका सन्तानले समाजको उच्चतम स्थानमा आफ्नो पहुँच बनाउन सक्छन् भन्ने सपना देखेका थिए । यस्तै सपना बेलायती राजनीतिमा थप देख्न सकिन्छ । स्कटल्यान्डको प्रमुख विपक्षी दलको नेतृत्व पाकिस्तानी मुसलमान विरासत बोकेका अनस स्वरले गरिरहेका छन् । लन्डनका मेयर सदिक खान पनि मुसलमान विरासत बोकेका व्यक्ति हुन् । वेस्टमिन्स्टरको मन्त्रिपरिषद्मा अभूतपूर्व जातीय विविधता देख्न सकिन्छ । यी अधिकांश नेता सन् १९५० देखि १९६० को दशकमा कमाइ गरौँला र सुखी जीवन जिउँला भनेर भारत, पाकिस्तान, पूर्वी अफ्रिका एवं क्यारेबियन क्षेत्रका पूर्वउपनिवेशबाट थोरबहुत पैसा र सीमित अंग्रेजी भाषाको सीप बोकेर आएका आप्रवासीका सन्तान–दरसन्तान हुन् । पहिलो लहरका उत्तरऔपनिवेशिक आप्रवासीले बेलायतका ठूला उद्योग–कलकारखानामा काम गर्थे र सहरी इलाकामा बसोवास गर्थे ।   

स्कटल्यान्ड पहिलो पश्चिमी युरोपेली राष्ट्र हो, जहाँ एक मुसलमान नेतृत्वदायी भूमिकामा पुगेका छन् र बेलायतमा आफैँले उपनिवेश बनाएको मुलुकका बासिन्दाका सन्तानले नेतृत्व लिएका छन् । यो स्मरणीय क्षण हो । बेलायत, स्कटल्यान्ड र आयरल्यान्ड सबैलाई दक्षिण एसियाली मुलुकका मानिसले नेतृत्व गरिरहेका छन् । युसुफ र सुनक दुवै आफ्नो सफलताको श्रेय आफ्ना हजुरबुबा–हजुरआमा र बुबाआमालाई दिन्छन् । यी दुवैका जीवन कथा निःसन्देह प्रेरणादायी छन्, तर यी दुवैले आफू सत्तामा कसरी पुगेँ भनेर विचार गर्नुपर्छ । अहिलेको बेलायतमा आउने आप्रवासीले यी दुईको सफलता दोहोर्‍याउन सम्भवतः गाह्रो छ ।   

उसो त युसुफले आफूलाई एक आस्तिक मुसलमान बताएका छन्, तर उनी जनप्रतिनिधिले निर्णय गर्दा आफ्नो आस्थाबाट निर्देशित हुनुहुन्न भन्छन् । उनले यसो भनिरहँदा स्कटल्यान्डको संसद्मा मुसलमान र राजनीतिक प्रक्रिया विषेयक कार्यक्रममा युसुफले पहिलोपटक स्कटिस सांसद बन्दा त्यसका पछाडि धार्मिक उत्प्रेरणाले पनि काम गरेको जनाएका थिए । सांसद हुनुभन्दा १० वर्षअगाडि जब अमेरिकामा ११ सेप्टेम्बर २००१ मा आतंककारी हमला भयो, त्यसपछि उनले राजनीतिमा चासो राख्न थाले । जब उनी सहपाठीसँग ध्वस्त ट्विन टावरका तस्बिर हेर्थे, सहपाठी उनलाई मुसलमानले अमेरिकालाई घृणा किन गर्छन् भनेर प्रश्न गर्थे । यी प्रश्नले उनलाई राजनीति आवश्यक छ भन्ने पारेको थियो । 

युसुफको आस्था र जातिलाई स्कटल्यान्डको राजनीतिमा बिरलै उल्लेख गरिन्थ्यो । उनलाई ‘मुसलमान मन्त्री’ वा ‘बेलयाती एसियाली सांसद’ भनेर बिरलै सम्बोधन गरिन्थ्यो । यही अन्य अल्पसंख्यकमा पनि लागू हुन्छ र यसले बेलायतले अल्पसंख्यकको सार्वजनिक जीवनलाई कसरी हेर्छ भन्ने देखाउँछ । तर, उनलाई स्कटिस नेसनल पार्टीको नेतृत्वमा चयन गरिँदा समलैंगिक विवाहसम्बन्धी विधेयकमा भएको मतदानमा उनको अनुपस्थितलाई लिएर प्रश्न गरिएका थिए । यसलाई उनको धार्मिक आस्थासँग जोडिएको थियो, अर्थात् आफ्ना समुदायबाट अलग भइने डरले उनलाई विधेयकको मतदानमा अनुपस्थित भएको आरोप लगाइएको थियो । जवाफमा युसुफका एक प्रवक्ताले उनले ‘स्पष्ट रूपमा समलैंगिक विवाह’लाई समर्थन गर्छन् भन्ने जनाएका थिए । 

यहाँनेर महत्वपूर्ण के छ भने युसुफ र सुनक दुवैले अहिलेसम्म वास्तविक चुनौती व्यहोरेका छैनन् । यी दुवै पार्टीको आन्तरिक छनोटबाट आएका हुन् र दुवै चुनावका माध्यमबाट सार्वजनिक नेताका रूपमा खारिन बाँकी नै छ । चुनावले नै बेलायती जनताले राष्ट्रिय राजनीतिमा भएको परिवर्तनलाई कसरी लिएका छन् भन्ने प्रश्नको जवाफ दिनेछ । यी दुवैको राजनीतिमा जातीयता सार्वजनिक बहसको विषय बन्छ वा बन्दैन भन्ने विषय सतहमा आउन बाँकी नै छ । बेलायती राजनीतिमा अपेक्षा गरिएझैँ दुवैजनाले आफ्नो धार्मिक आस्थालाई निजी जीवनभन्दा बाहिर ल्याएका छैनन् ।  

युसुफको राजनीति सुनुकको भन्दा निकै भिन्न छ । युसुफ आप्रवासन, लोककल्याण एवं करका मामिलामा वामपन्थी झुकाव राख्छन्, जबकि सुनक दक्षिणपन्थतिर ढल्केका छन् । उसो त वामपन्थी पार्टी जातीय अल्पसंख्यकको मतलाई निःसन्देह आफ्नै मतका रूपमा हेर्छन्, तर युसुफ र सुनकले जातीय अल्पसंख्यकको राजनीतिक पहिचान एउटै हुँदैन भन्ने देखाएका छन् । अहिले सबै राजनीतिक वृत्तमा धार्मिक एवं सांस्कृतिक विविधता देख्न सकिन्छ । अहिले राजनीतिक पहिचान जेसुकै भए पनि तपाईं माथिल्लो स्थानमा पुग्न सक्नुहुन्छ । 

यद्यपि राजनीतिक शक्तिका मामिलामा शैक्षिक एवं सामाजिक पृष्ठभूमिमा तात्विक परिवर्तन आएको देखिँदैन । युसुफका बुबा एक लेखापाल हुन् । सुनक एक चिकित्सक र फार्मासिस्टका छोरा हुन् । यी दुवै निजी विद्यालय पढेका हुन् । दुवै हुनेखाने बेलायती आप्रवासीका सन्तान हुन् । बेलायती राजनीतिमा निजी विद्यालय पढेकाको बोलवाला छ । उम्मेदवार जुनसुकै पार्टी वा विचारको होस्, बेलायतको राजनीतिको वास्तविक विभाजन वर्ग नै हो । 

(अख्तर एस्टन विश्वविद्यालयकी राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ अध्यापक हुन्, पिस ग्लासगो विश्वविद्यालयका राजनीतिका अध्यापक हुन्) 
द कन्भर्सेसनबाट

ad
ad