मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चक्रपथको विस्तार हुन लागेको दोस्रो खण्ड । फाइल तस्बिर
२०७९ चैत १९ आइतबार १०:४४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चक्रपथको दोस्रो खण्ड पहिलोभन्दा फरक डिजाइनमा बनाइने

Read Time : > 2 मिनेट
२०७९ चैत १९ आइतबार १०:४४:००

ओभर र अन्डरपास बनाउन चीनको अस्वीकार

विगत चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथको दोस्रो खण्ड (कलंकी–वसुन्धरा) विस्तारको काम सुरु गर्न चीन सहमत भएको छ । कोरोना महामारी र साइट क्लियरेन्स नभएको मुद्दा उठाउँदै चीनले लामो समयदेखि यो खण्डको काम अघि बढाएको थिएन । तर, अहिले साइट क्लियर भएसँगै चीन आयोजनाको डिजाइन बनाउन तयार भएको हो । 

अब ५–६ महिनामै डिजाइन तयार गरेर आयोजनाको निर्माण कार्य सुरु गर्ने चीनको योजना छ । तर, चक्रपथको पहिलो खण्ड (कोटेश्वर–एकान्तकुना–कलंकी)को भन्दा फरक डिजाइनमा दोस्रो खण्ड विस्तार गर्ने सहमति भएको छ । 

चक्रपथ विस्तारको पहिलो खण्डमा कुल आठ लेनको सडक छ । त्यसमा बीचमा चार लेनको मुख्य सडक र दायाँ–बायाँ दुई–दुई लेनको सर्भिस लेन थियो । साथै, मुख्य सडक र सर्भिस लेनको बीचमा फुटपाथ पनि थियो । यसबाहेक चक्रपथको पहिलो खण्डको अन्य डिजाइन थिएन । 

तर, दोस्रो खण्डको विस्तार भने फरक शैलीमा बनाउने सहमति भएको छ । विशेष गरी भविष्यमा गर्नुपर्ने विस्तारलाई समेत ध्यानमा राखेर दोस्रो खण्डको डिजाइन बनाउन चीन सहमत भएको हो । सडक विभागका अनुसार युटिलिटी करिडोर, सेन्टर मिडियन, होल्डिङ जोनसहित चक्रपथ दोस्रो खण्डको विस्तार गरिनेछ । 

यद्यपि, यसबारे अन्तिम सहमति हुन बाँकी रहेको सडक विभागका महानिर्देशक सुशील ढकालले बताए । ‘पहिलो खण्डभन्दा फरक शैलीमा दोस्रो खण्डको डिजाइन बनाउने सहमति भएको छ । ‘विशेष गरी भविष्यमा गर्नुपर्ने विस्तारलाई समेत केन्द्रमा राखेर यस खण्डको डिजाइन गर्ने सहमति भएको छ,’ उनले भने, ‘सोहीअनुसार हामीले गरेको अधिकांश प्रस्तावमा चीन सहमत पनि भएको छ । यद्यपि, केही प्रस्तावमा भने चीनले सहमति जनाइसकेको छैन । अब यसबारे थप छलफल गरेर छिट्टै टुंगोमा पुग्छौँ ।’

युटिलिटी करिडोर र सर्भिस लेन नेपालले नै बनाउनुपर्ने 
चीनले यी सबैलाई समेटेर आयोजनाको विस्तृत डिजाइन बनाउनेछ । तर, सर्भिस लेन र युटिलिटी करिडोर भने नेपाल आफैँले बनाउनुपर्नेछ । केही खण्डमा नेपालले सर्भिस लेन बनाउन सुरु पनि गरिसकेको छ । योबाहेक बीचको ६ लेन सडक, सेन्टर मिडियन र फुटपाथ भने चीनले बनाउने सहमति भएको छ । 

ओभर–अन्डरपास बनाउन मानेन चीन
यद्यपि, चीनले यस खण्डमा ओभर र अन्डर पास बनाउन भने इन्कार गरेको छ । सडक विभागले आवश्यकताका आधारमा ढुंगेधारालगायतका ठाउँमा ओभर तथा अन्डरपास बनाउन प्रस्ताव गरेको थियो । तर, चीनले सम्झौताभन्दा बाहिरको विषय भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको विभागका एक अधिकारीले बताए । 

इबिआरटीलाई समेत सहयोग गर्ने गरी डिजाइन 
लगानी बोर्डले चक्रपथमै छुट्टै डेडिकेट लेन तोकेर द्रुत गतिको विद्युतीय बस (इबिआरटी) सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । हाल त्यो टेन्डरको प्रक्रियामा छ । सोही आयोजनालाई समेत सहयोग पुग्ने गरी यस खण्डको डिजाइन गरिने सडक विभागको भनाइ छ । ‘लगानी बोर्डले चक्रपथमा द्रुतगतिको विद्युतीय बस सञ्चालन गर्ने आयोजना बनाउने प्रक्रिया अघि बढेको छ । त्योअनुसार निकट भविष्यमा चक्रपथमा डेडिकेटेड लेन छुट्याउनुपर्छ,’ उनले भने, ‘सोहीअनुसार बीचको मुख्य सडक ६ लेनको बनाउन लागेका हौँ ।’

स्वयम्भू खण्डमा छुट्टै डिजाइन 
चक्रपथ विस्तार गर्दा स्वयम्भू मन्दिरपरिसरको मूर्ति हटाउनुपर्ने देखिएपछि पनि यो काम अन्योलमा थियो । तर, अब त्यहाँको मूर्ति नहटाई आयोजना अघि बढाउन चीन तयार भएको छ । त्यस खण्डका लागि छुट्टै विशेष डिजाइन बनाउने गरी चीनले प्रतिबद्धता दिएको छ । ‘त्यस क्षेत्रमा पर्ने रूख, खम्बाहरू हटाइसकेका छौँ । तर, सांस्कृतिक हिसाबले मूर्ति भने हटाउन मिल्ने अवस्था आएन । त्यसैले त्यहाँ छुट्टै डिजाइन बनाउने सहमति भएको छ,’ महानिर्देशक ढकालले बताए । 

पहिलो खण्डको कमजोरीमा समीक्षा 
यद्यपि, पहिलो खण्डमा भएको कमजोरीलाई समीक्षा गर्दै दोस्रो खण्डको विस्तार गरिने सहमति पनि भएको छ । पहिलो खण्डको सर्भिस लेन पाँच वर्ष नहँुदै मर्मत गर्नुपर्ने अवस्था आएको छ । आगामी दिनमा त्यस्तो अवस्था आउन नदिने गरी दोस्रो खण्डमा काम गरिने विभागका महानिर्देशक ढकालले बताए ।

चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबीच सम्झौता भएको थियो । तर, विगत चार वर्षदेखि त्यो आयोजना अलपत्र अवस्थामा छ । तर, चीनले बल्ल आयोजनाको डिजाइन बनाउन तयार भएको हो । चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले यस अयाोजनाको डिजाइन बनाउनेछ । दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धरा खण्ड (८.४ किलोमिटर) मात्रै विस्तार गर्ने भएको छ ।  

यस्तो हुनेछ दोस्रो खण्ड 
प्रारम्भिक सहमतिअनुसार चक्रपथ दोस्रो खण्डमा बीचको मुख्य सडक ६ लेनको बनाइनेछ । साथै, त्यसको बीचमा तीन मिटरको सेन्टर मिडियन (बीचमा खाली ठाउँ)समेत राख्ने सहमति भएको छ । सोही तीन मिटरको सेन्टर मिडियनको दायाँ–बायाँ तीन–तीन लेनको मुख्य सडक बनाउने सहमति भएको छ । यसका अलाबा मुख्य सडकको दायाँ–बायाँ ६ मिटरदेखि साढे ६ मिटर चौडाइको सर्भिस लेन बनाइनेछ । सर्भिस लेन र मुख्य सडकको बीचमा न्यूनतम दुई–दुई मिटरको फुटपाथ निर्माण गरिनेछ । जहाँ बोटबिरुवासमेत लगाउन मिल्ने डिजाइन गरिनेछ । सोही फुटपाथमुनि युटिलिटी करिडोरसमेत बनाउने सहमति भएको छ । यस्तै, दोस्रो खण्डमा सवारीसाधन होल्डिङ जोन बनाउने सहमति भएको छ । चोकहरूमा सवारीसाधन क्रस गर्नुपूर्व सवारीसाधन होल्ड गर्न मिल्ने विशेष ठाउँ बनाइनेछ ।