
‘एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३’अन्तर्गत दक्षिण एसियाली ट्रायथलन पुरुषतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र महिलातर्फ भारतकै प्रग्न्या मोहनले उपाधि हात पारेका छन्। सिनिमोल र मोहनले गत वर्ष सम्पन्न प्रतियोगिताको उपाधिसमेत जितेका थिए।
सिनिमोलले निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको दूरी १ घण्टा ४ मिनेट १६ सेकेन्ड तथा मोहनले १ घण्टा १२ मिनेटमा पार गरे। गत वर्ष सिनिमोलले ५९ मिनेट १० सेकेन्ड र मोहनले १ घण्टा ६ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए।
सोही विधामा पुरुषतर्फ भारतकै विश्वनाथ यादवले १ घण्टा ६ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, नेपालका वसन्त थारूले १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो र नेपालकै दीपेश चौधरीले १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हात पारे।
महिलातर्फ भारतकै मानषी मोइतेले १ घण्टा १३ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो, नेपालकी श्रेबी महर्जनले १ घण्टा १८ मिनेटमा दूरी पार गरी तेस्रो र १ घण्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै नेपालकै केशरी थापामगर चौथो भइन्।
राष्ट्रियमा पुरुषतर्फ सेनाका थारू र महिलातर्फ महर्जनलाई उपाधि
यसैगरी, राष्ट्रियतर्फ पुरुषमा नेपाली सेनाका वसन्त थारूले १ घण्टा ६ मिनेट ५२ सेकेन्ड र महिलामा श्रेबी महर्जनले १ घन्टा १८ मिनेटमा दूरी पूरा गर्दै उपाधि हात पारे।
पुरुषतर्फ १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरेका दीपेश चौधरी दोस्रो र १ घण्टा ११ मिनेट ३ सेकेन्डमा दूरी पूरा गर्दै मौलिक महर्जन तेस्रो भए। महिलातर्फ केशरी थापामगर १ घण्टा ३२ मिनेट ३१ सेकेन्ड दूरी पूरा गर्दै दोस्रो भइन्।
८ देशका ६६ खेलाडीहरूले फेवातालमा पौडीसँगै साइक्लिङ र गौरीघाटबाट दौड सुरु गरेर सहिदचोक–मुस्ताङचोक–विरौटाचोक–ड्यामसाइड–राष्ट्र बैंक चोक हुँदै पुनः गौरीघाटमा आएर दाैड सम्पन्न गरेका थिए। प्रतियोगिताअन्तर्गत दुवाथलनको प्रतिस्पर्धा आइतबार हुनेछ।