
पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाकी मारग्रेटा विकानेभाले एसियन ट्रायथलन कप २०२३ को उपाधि हात पारेका छन्। नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न ‘एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२३’ अन्र्तगत हलर र विकानेभाले एसियन कपको उपाधि हात पारेका हुन्।
प्रतिस्पर्धीहरूले फेवातालमा पौडीसँगै साइक्लिङ र गौरीघाटबाट दौड सुरु गरेर सहिदचोक–मुस्ताङचोक–विरौटाचोक–ड्यामसाइड–राष्ट्र बैंक चोक हुँदै पुनः गौरीघाटमा आएर सम्पन्न गरेका थिए।
निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको दूरी ५५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ हलर र १ घण्टा ४ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै महिलातर्फ विकानेभाले उपाधि जितेकी हुन्।
पुरुषतर्फको निर्धारित दूरी ५५ मिनेट ५७ सकेन्डमा पूरा गर्दै उज्वेकिस्तानका एलेक्जेन्डर कुरिसोभ दोस्रो, ५६ मिनेट १ सेकेन्डमा दूरी पार गरेका लक्जम्बर्गका स्टेफन जाचाउस तेस्रो, ५६ मिनेट ९ सेकेन्डमा दूरी पूरा गरेका जापानका क्योटारो योसाकाभा चौथो र ५७ मिनेट ५८ सेकेन्डमा दूरी पार गरेका न्युजिल्यान्डका ओलिभर लारकोम्बेले पाँचौँ स्थान हात पारे।
महिलातर्फको प्रतिस्पर्धामा १ घण्टा ५ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै जापानकी मिनेरी इकिनो दोस्रो, १ घण्टा ५ मिनेट ३० सेकेन्डमा दूरी पार गर्दै जापानकी चिसातो नाकाजिमा तेस्रो, रोमानियाकी एन्टोनेली मेनक १ घण्टा ६ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै चौथो र १ घण्टा ७ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गर्दै जापानकी युका साटोले पाँचौँ स्थान हात पारिन्।
महिला-पुरुषतर्फ उपाधि विजेताले ६३० डलर, दोस्रोले ५२५ डलर, तेस्रोले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौँले २१० डलरसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाए।
प्रतियोगितामा १८ देशका ४७ पुरुष र १९ महिला गरी ६६ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। नेपालसहित भारत, जापान, उज्वेकिस्तान, लक्जम्बर्ग, उरुग्वे, अस्ट्रेलिया, काजकिस्तान, अस्ट्रिया, स्लोभाकिया, युएई, प्यालेस्टाइन, न्युजिल्यान्ड, रोमानिया, अलजेरिया, मरिससलगायत देशका खेलाडीहरू सहभागी थिए। प्रतियोगिताअन्तर्गत दुवाथलनको प्रतिस्पर्धा आइतबार हुनेछ।