मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ चैत १७ शुक्रबार २१:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झन्डै चार करोड आयको स्रोत खुलाउन नसक्दा यातायातका लेखापाललाई ६ महिना कैद हुने फैसला

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ चैत १७ शुक्रबार २१:१२:००

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । 

शुक्रबार विशेष अदालतका सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख रुपैयाँभन्दा बढी जरिवानाका साथै जरिवानाबराबरको सम्पत्ति जफत हुने फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वैशाख ०७६ मा मुद्दा दायर गरेकोमा झन्डै चार वर्षपछि अभियोग ठहर हुने फैसला भएको छ । 

अख्तियारले पाँच करोड १० लाख ३३ हजार रुपैयाँभन्दा बढी गैरकानूनी आर्जन गरेको भनी मुद्दा दायर गरेकोमा झन्डै ४ करोड रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई सजाय भएको हो । 

अनुसन्धानका क्रममा अधिकारीले १६ असोज ०५९ देखि २०७४ सम्म पाँच करोड ९८ लाख रुपैयाँभन्दा बढी अवैध रुपमा आर्जन गरेको भेटिएको थियो । जबकी उनको वैध आय ८८ लाख ३४ हजार रुपैयाँ हुनुपर्ने थियो । 

चार श्रीमती र परिवारका नाममा सम्पत्ति
लेखापाल अधिकारीले चारवटी श्रीमती तथा सासू र मामाका नाममा सम्पत्ति खरिद गरी राखेको भेटिएको थियो । श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठका नाममा सम्पत्ति खरिद गरेको भेटिएको थियो । 

साथै, मामा नाताका बलराम शर्मा तथा सासू पुष्पकुमारी निरौलाका नाममा पनि सम्पत्ति खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । उनीहरू सबैलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । 

लेखापाल अधिकरी यसअघि पनि दुई वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । अख्तियारद्वारा दायर दुई वटा छुट्टाछुट्टै मुद्दालाई लगाउमा राख्दै ३० फागुनमा विशेषले फैसला सुनाएको थियो । 

यी दुवै यातायात कार्यालय कोशीकै भए पनि फरक–फरक मितिमा दायर छुट्टाछुट्टै अवधिमा भएका भ्रष्टाचारसम्बन्धित थिए । दुवै मुद्दामा अधिकारीलाई प्रतिवादी बनाइएकोमा उनी दुवै कसूरमा दोषी पाइएका थिए । 

उनीसहितका उक्त कार्यालयका कर्मचारीहरुको मिलेमतोमा सवारी दर्ता, नवीकरण, जाँचपास लगायतका शीर्षकमा नेपाल सरकारको खातामा जम्मा हुनुपर्ने रकम हिनामिना भएको भेटिएको थियो । 

कम्प्युटरमा गलत इन्ट्री गरी करोडौँ रकमको अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको थियो । लेखापाल अधिकारीले इटहरी, विराटनगर र काठमाडौंमा घर जग्गा जोडेको भेटिएको थियो भने उनले सवा करोड मूल्य पर्ने गाडी प्रयोग गर्ने गरेका थिए । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई समेत दोषी करार गर्दैै कैद र जरिवानाको फैसला सुनाएको थियो । 

यातायात कार्यालयमा आर्थिक वर्ष ०७१÷७२ देखिको अढाइ वर्षमा ६१ करोड २१ लाख रुपैयाँ भ्रष्टाचार भएको भेटिएपछि लेखापाल सुरेश अधिकारीमाथि पनि मुद्दा दायर भएको हो । 

जसमा उनलाई ९ वर्ष कैद तथा १५ करोड ३ लाख रुपैयाँ बिगो असुलउपर हुने फैसला भएको थियो । फैसलाअनुसार अधिकारीले उल्लिखित रकमको दोब्बर जरिवाना तिर्नुपर्नेछ ।

सोही कार्यालयमा आर्थिक वर्ष २०६९÷७० तथा ०७०÷७१ मा पनि अनियमितता भएको मुद्दामा छानबिन भएको थियो । जसमा फैसला गर्दै लेखापाल अधिकारीलाई २ करोड २० लाख रुपैयाँभन्दा बढी बिगो असूलउपर तथा यसको दोब्बर रकम जरिवाना भराउने फैसला भएको थियो । यस मुद्दामा उनलाई ८ वर्ष कैद सजाय सुनाइएको थियो ।