
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लवको २५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए । देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको उनको दाबी छ ।
‘हो देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ । मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु । सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ । सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको स्थितिमा पछिल्लो तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए । तीन महिनामा रेमिट्यान्स र राजश्व संकलनमा गुणात्मक सुधार भएको उनको दाबी छ ।