मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साधारण सेयर भनेको के हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०९:३४:००

अर्थ ज्ञान

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालालाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ । साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरूलाई कम्पनीको स्वामी (अनर) मानिन्छ । 

कम्पनीको स्वामीको हैसियतले साधारण सेयरवालाहरूले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढअनुसार यो पनि घटिबढी हुन सक्छ । अर्कातर्फ, कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयरवालाहरूलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन, अर्थात साधारण सेयरमा लाभांश दिनैपर्ने बाध्यात्मक अवस्था हुँदैन । तर, कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ । साथै, लाभांशको रूपमा कम्पनीले साधारण सेयरवालाहरूलाई बोनस सेयर पनि वितरण गर्न सक्छ । 

सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेन्चरवाला र अग्राधिकार सेयरवालालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र साधारण सेयरवालाले दाबी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (एग्रेसिभ इन्भेस्टर)का लागि मात्र साधारण सेयरजस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ ।

हालको प्रचलित व्यवस्थाअनुसार साधारण सेयरको अंकित मूल्य साधारणतः १०० रुपैयाँको रहेको छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व व्यहोर्नुपर्ने भएमा पनि साधारण सेयरवालाहरूको दायित्व उनीहरूले लगानी गरेको रकमसम्ममै सीमित हुन्छ र आफ्नो घरघरानाबाट व्यहोर्नुपर्दैन ।

स्रोत : धितोपत्र बोर्ड